बाँझो जमिन एकीकृत गरी खेती गर्दै ताराखोला

बागलुङ, २६ माघ । बाँझो जमिन हराभर, आफ्नै उत्पादनमा बाच्ने र युवाहरुलाई उत्पादनमा जोड्ने योजना संघ, प्रदेश र स्थानीय तहका सरकार, सरकार सञ्चालक, राजनीतिक दलका नेता र सामाजिक अगुवाहरुले गर्दै आएका छन् ।

धेरैले कुरा गर्ने तर काम नगर्ने क्षेत्र हो कृषी उत्पादन । उत्पादनमा जोडिनु पर्छ भन्ने तर एक क्वाप जमिन नखन्नेको भिडमा उदाहरणीय काम गर्दै छ ताराखोला गाउँपालिका । बागलुङको ताराखोला गाउँपालिकाले खेती योग्य बाँझो जमिन एकीकृत गरी कृषी उत्पादन गर्न थालेको छ ।

गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानी खर्चमा बाँधिने गरी जग्गा भाडामा लिएर फलफूल अन्तर्गत किवी खेती र तरकारी अन्तर्गत आलु खेती गर्न सुरु गरेको हो । ताराखोला गाउँपालिका–३ इदीमा २० रोपनी जग्गा भाडामा लिएर गाउँपालिकाले किवी खेती सुरु गरेको गाउँपालिका कृषी शाखा प्रमुख कर्णखर भट्टराईले जानकारी दिनुभयो ।

जैविक कृषी बगैचा स्थापना कार्यक्रम अन्तर्गत किवी खेतीको लागि गाउँपालिकाले पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । पहिलो बर्ष ३०९ वटा कलमी गरेका किवीको विरुवा रोप्न थालेको छ । विरुवा रोप्नको बगैचा रेखाङ्कन, सरफाई तथा खाडल खन्ने काम सकिएको छ । अहिले रोपेको विरुवाले पाँच बर्ष पछि व्यवसायिक उत्पादन दिनेछ ।

गाउँपालिकाले ताराखोला वडा–४ को नागबेली र वडा–५ को अर्गलथुममा करिव ६० रोपनी जग्गा भाडामा लिएर जैविक कृषी बगैचा क्षेत्रमा आलु खेती सुरु गरेको छ । आलुसँगै सिमि, भाँगो तथा अन्य तरकारीजन्य उत्पादनको खेती गर्ने योजना छ । ताराखोला जैविक तथा स्वादीलो आलु उत्पादनको लागि प्रख्यात क्षेत्र हो । त्यहाँ उत्पादन हुने आलुको स्वदेश तथा विदेशमा माग बढ्दो छ ।

जैविक कृषी बगैचा स्थापनाको लागि दश लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाले कृषी उत्पादन तथा प्रवद्र्धन केन्द्र सञ्चालन नियमावली–२०७८ निर्माण गरी उत्पादनमा जोडिएको शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । कृषी बगैचाको काम व्यवस्थापन गाउँपालिकाले एक जना कर्मचारी नियुक्त गरेको छ । खेती लगाउने र भित्र्याउन समयमा स्थानीय शक्ति प्रयोग गर्ने योजना गाउँपालिकाको छ ।

उत्पादन भएको कृषी उपजको भण्डार र बजारीकरण गाउँपालिकाले नै गर्नेछ । स्थानीय तहमा कार्यरत कृषी प्राविधिक जनशक्तिको प्रत्येक्ष निगरानीमा कृषी खेती गर्ने हुँदा त्यसको सिको गर्दै गाउँका अन्य कृषक पनि व्यवसायिक खेतीमा जोडिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाई छ ।

‘गाउँपालिकाले उत्पादनको नमुना योजना सुरु गरेको हो’ घर्तीले भन्नभयो–‘भाषणबाट होईन कामबाट जनतालाई प्रभावित गर्नुपर्छ ।’ कृषी उत्पादनबाट आम्दानीको स्रोत बढाउन सकिन्छ भन्ने उदाहरण दिने गरी नमुना योजना थालेको अध्यक्ष घर्तीको भनाई छ । केही बाँझो र केही खेती हुँदै गरेको जमिन बार्षिक प्रति रोपनी दुई हजार रुपियाँ भाडा दिने गरी जग्गा एकीकृत गरिएको छ ।

ताराखोलामा रसायनिक विषादी र रसायनिक मलको प्रयोगमा प्रतिबन्ध छ । त्यहाँको उत्पादनलाई पूर्ण जैविक बनाउन गाउँपालिकाले कृषकलाई जैविक मल र जैविक विषादीको प्रयोग र निर्माणको बारेमा सचेत गराउँदै आएको छ । किवी र आलु खेती लगाए पछि पालिकाले १० बर्षे व्यवसायिक योजना निर्माण गर्नेछ । यस बर्ष कृषी शाखाले ओखर, किवी र मकै पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्दैछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here