सुन्तला बेचेर साढे दुई करोड आम्दानी

बागलुङ, १७ माघ । बागलुङ नगरापालिका–८ सिगानाका सुन्तला उत्पादक कृषकले यस बर्ष सुन्तला विक्रीबाट करिव साढे दुई करोड रुपियाँ गाउँ भित्र्याएका छन् ।

सुन्तला उत्पादनको लागि मौषम प्रतिकुल तथा विक्री गर्ने बेला औसा किराको प्रकोप भए पनि राम्रा राम्रा छनोट गरेर विक्री गर्दा उक्त रकम गाउँ भित्रिएको हो । यस बर्ष सिगानाको केही कृषकले आफै पोखरा लगेर विक्री गरेका थिए । कसैको सुन्तला बगैचामा व्यापारीले खरिद गरेर लगेका थिए ।

व्यापारिले सुन्तला बगैचामै गएर खरिद गर्दा प्रतिकिलो ५०/६० रुपियाँ दिए पछि आफै पोखरा लगेर विक्री गर्दा प्रतिकिलो १२० रुपियाँसम्ममा विक्री गर्न सकिएको सुन्तला उत्पादक कृषक अनन्त खडकाले बताउनुभयो । उहाँले यो बर्ष सुन्तला विक्रीबाट साढे चार लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।

सुन्तला टिप्ने ज्याला र यातायात खर्च घटाउँदा चार लाख रुपिययाँ खुद आम्दानी भएको खडकको भनाई छ । खडकाको सुन्तला बगैचामा दुई सय विरुवाले उत्पादन दिएका छन् । खडकाले सुन्तला पोखरा लगेर विक्री गर्नुभएको थियो । सो स्थानका कृषक रामबहादुर खडकाले पनि यो बर्ष दुई लाख रुपियाँका सुन्तला विक्री गर्नुभयो । बर्षात र औसा किराको प्रकोपले उत्पादन र विक्रीमा समस्या भएको खडकाको भनाई छ ।

सिगाना सुन्तला उत्पादनको पकेट क्षेत्र र व्यवसायिक उत्पादन तथा छिटफुल सुन्तला उत्पादक कृषकले यो बर्ष साढे दुई करोड रुपियाँमा सुन्तला बेचेको वडाध्यक्ष जितबहादुर जिसीको भनाई छ । वडा कार्यालयले यस बर्ष पाँच करोडको सुन्तला विक्री हुने अनुमान गरेको थियो । मौसम प्रतिकुल हुँदा लक्ष्य अनुसारको सुन्तला उत्पादन हुन कठिन भएको अध्यक्ष जिसीको भनाई छ ।

सिगानामा पछिल्लो पाँच बर्षमा तीस हजार सुन्तलाका विरुवा रोपण गरिएको छ । नयाँ विरुवा हुर्केर फल दिन पाँच बर्ष लाग्ने हुँदा बागलुङ नगरपालिकाले कृषकलाई सुन्तला विरुवा रोपेको जग्गाको क्षेत्रफल अनुसार अनुदान रकम दिएको छ । अन्न उत्पादनका हिसाब गरेर अनुदान दिएको नगर प्रमुख जनकराज पौडेलको भनाई छ । सो क्षेत्रका करिव एक सय जना कृषक सुन्तला खेतीमा आबद्ध छन् । उनीहरुको बगैचामा घतीमा दश देखि बढीमा दुई सय सुन्तलाका विरुवा छन् । नगरपालिकाले यो बर्ष दुई हजार सुन्तला र दुई हजार कागतीका विरुवा अनुदानमा वितरण गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here