मछिन्द्र एएफसी कपमा छनाेट

काठमाडौं, १८ पौष ।  गत सिजन लिग जितेर पनि एएफसी कप छनाेट खेल्न नपाएकाे मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे छ । जित्दै पर्ने दबाबका साथ कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरण आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मछिन्द्रले एएफसी कप छनोटको यात्रा पक्का गरेको हो ।

साताैं चरणपछि शीर्ष स्थानमा रहने क्लबले एएफसी खेल्न पाउने प्रावधान अनुसार मछिन्द्र ७ खेलबाट १७ अंक जाेडेर शीर्ष स्थानमा रह्याे । मछिन्द्रले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावलाई एसियाली फुटबल महासंघ (एएफसी) ले स्वीकार गरेको थियो । त्यसैले लिगको १३ मध्ये सातौं चरणको माथिल्लो टोलीले एएफसी कप छनोट खेल्नेछ ।

अर्को दाबेदार मनाङ मस्र्याङ्दी क्लबले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो । बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।

छैटौं चरणमा मनाङलाई १–० ले हराएपछि मछिन्द्रको एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता पहिलो पटक खेल्ने सम्भावना बलियो भएको थियो । यद्दपी मछिन्द्र यसअघि २०७६ को लिग च्याम्पियन बन्दै एएफसी कपको लागि छनोट भएको थियो । तर, एएफसी क्लब लाइसेन्स प्राप्त नगरेका कारण टोलीले त्यति बेला देशको प्रतिनिधित्व गर्ने अवसर गुमाएको थियो । मछिन्द्रको सट्टा त्यति बेला दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप छनोट खेल्ने मौका पाएको थियो ।

आर्मी एएफसी लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब बनेको थियो । गत वर्ष भने मछिन्द्र, मनाङ र एपिएफ फुटबल क्लबले लाइसेन्स प्राप्त गरेका छन् । त्यसअर्थ यसपटक ४ टोलीबीच मात्र एएफसी कप छनोट खेल्ने प्रतिस्पर्धा थियो । आर्मी र एपिएफ भने पहिला नै छनोटको दौडबाट बाहिरिसकेपछि मनाङ र मछिन्द्रबीच मात्र प्रतिस्पर्धा थियो ।

पहिलो चरणमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले हराउँदै जारी लिगमा विजयी सुरुवात गरेको मछिन्द्र दोस्रो खेलमा आर्मीसँग बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा जावलाखेल युथ क्लबलाई २–०, चौथोमा हिमालयन शेर्पा क्लबलाई ३–० ले हराउँदै बलियो बनेको मछिन्द्र पाँचौँ चरणमा संकटा क्लबसँग गोलरहित बराबरी रोकिएको थियो ।

सबैभन्दा महत्वका साथ हेरिएको खेलमा भने मनाङलाई १–० ले हराउँदै मछिन्द्रले एएफसी कप छनोटको सम्भावना बलियो बनाएको थियो। जारी लिगमा अपराजित ३ टोलीमध्ये मछिन्द्र एक हो । आर्मी र संकटा पनि सातौं चरणको समाप्ती सम्म आइपुग्दा अपराजित छन् । १८ वर्षअघि ए डिभिजन लिगमा बढुवा भएको मछिन्द्रले पहिलो पटक एएफसीको आधिकारिक प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने पक्का भएको छ ।

सुनिलको निर्णायक गोल

एएफसी कपको छनोटमा स्थान बनाउन जित निकाल्नै पर्ने खेलमा पुलिसलाई पराजित गरेपछि मछिन्द्रले एएफसी कपको छनोट खेल्ने पक्का भएको हो ।

पुलिसविरुद्ध मछिन्द्रको जितमा पहिलो हाफमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । हेमन्त श्रेष्ठले नुर्लान नोभ्रुजोभलाई फउल गरेपछि विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिकलाई अनमार्क रहेका सुनिल बलले २१औं मिनेटमा हेडमार्फत जाली चुमाएका थिए । जारी लिगमा उनको यो पाँचौ गोल हो ।

४३औं मिनेटमा विशाल राईले पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दा सन्तोष हेमरुनले क्लियर गर्दै पुलिसको संकटा टारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुनिल बलको झन्डै ३० यार्ड टाढाको प्रहार गोलरक्षक शत्रुघनले पञ्च गर्दै बाहिर फाल्दा मछिन्द अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६८औं मिनेटमा मनिष डाँगीले गोरलक्षक शत्रुघनलाई बिट गर्दै गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मछिन्द्रले अग्रता दोब्बर बनाउन सकेन लगत्तै काउन्टर अट्याका कप्तान रामचन्द्र वाजीको पेनाल्टी बक्सभित्रको प्रहार आकासिदा पुलिस बराबरीबाट चुक्यो । ७६औं मिनेटमा सुमन लामाको फ्रिकिक पोलमा लागेर फर्कदा पुलिस बराबरीबाट चुक्यो । ७८औं मिनेटमा कप्तान सुजल श्रेठको प्रहार गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here