
बागलुङ, ९ असोज । काठेखोला गाउपालिकाका अध्यक्ष अमर बहादुर थापाले सहकारीहरुले आर्थिक कारोबार मात्र नगरी शेयर सदस्यहरुको आर्थिक वृद्धिको लागि उत्पादनमुलक कार्यमा जोडनको लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं बार्षिक साधारणसभाचमा बोल्दै गाउँपालिका अध्यक्ष थापाले सहकारीको मुख्य उद्देश्य शेयर सदस्यहरुलाई सबल गराउने भएकोले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने र व्यवसायिक सिप मुलक तालिमहरु संचालन गरि शेयर सदस्यहरुलाई आत्मनिर्भर गराउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

सहकारी र शेयर सदस्यहरुले उत्पादनमा जोड दिनुपर्ने र विक्री वितरणको लागि बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्षले थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थापाले सहकारीहरु धेरै संचालन भएपनि उद्देश्य अनुरुप काम नगरेको बताउँदै जुन उद्देश्यले संचालन गरिएको हो सोहि अनुसार संचालन गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा, मालपोत कार्यालय बुर्तिबाङका प्रमुख दिल बहादुर केसी, काठेखोला गाउँपालिका कार्यपालिका सदस्य टिका संगम विक, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा, सहकारीका सल्लाहकार चन्द्रमणि उपाध्याय, बागलुङ नगरपालिका–६ लहरेपिपल स्वास्थ्य चौकीका प्रमुख विष्णुनाथ सापकोटा, काठेखोला गाउँपालिका–१ धिमी स्वास्थ्य चौकीका प्रमुख ध्रुव केसी र शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव प्रेम केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा सहकारीका कोषाध्यक्ष गिता हमाल शाहीले सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ८१ लाख ५८ हजार २ सय ५४ रुपैयाँ कारोबार गरेको बताउनुभयो । कार्यक्रममा सचिव सुर्य बहादुर थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गिता हमाल शाहीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सिता शर्माले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत रुपमा पास गरेको सहकारीका सचिव थापाले बताउनुभयो ।
कार्यक्रममा सहकारीको कार्यक्षेत्र काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा जन्मेर निजामतीको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, मालपोत कार्यालय बुर्तिबाङका प्रमुख दिल बहादुर केसी, सहकारी र सामािजक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै काठेखोला गाउँपालिका कार्यपालिका सदस्य टिका संगम विक, कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर कार्य गरेको भन्दै सहकारीका शेयर सदस्य लहरेपिपल स्वास्थ्य चौकीका प्रमुख विष्णुनाथ सापकोटा र पाला स्वास्थ्य चौकीका प्रमुख ध्रुव केसीलाई सम्मान गरिएको थियो ।
यस्तै सहकारीका उपाध्यक्ष टिकाराम उपाध्यायको परिवारले स्वर्गिय बावा कलाधर उपाध्याय र आमा गौरी उपाध्यायको स्मृतिमा सञ्चारको क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले सहकारीमा स्थापना गरेको ‘कलागौरी स्मृति अक्षयकोष–२०७५’ बाट यस वर्ष सञ्चार क्षेत्र तर्फ पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा र ज्येष्ठ नागरिक तर्फ संस्थाका शेयर सदस्य ७२ बर्षिय सन्तुराम उपाध्यायलाई सम्मान गरिएको थियो । यस्तै संस्थामा उत्कृष्ट कार्य गर्ने संचालक सुर्य बहादुर थापा र गिता हमाल शाही र उत्कृष्ट बालबचत कर्ता क्षितिज थापालाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष टिकाराम उपाध्याय र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।
२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको सहकारीले हाल दुई स्थानमा कार्यालय संचालन गरि सेवा प्रवाह गरिरहेको छ । सहकारीमा हाल ८ सय ११ जना शेयर सदस्य रहेका छन्भने ८३ लाख ७० हजार १ सय शेयर रकम रहेको सहकारीका प्रबन्धक प्रसाद थापाले बताउनुभयो । उहाँले सहकारीले भीमापोखरामा मासिक कारोबार गर्ने गरेको छभने सेवा कार्यालय बागलुङ बजारबाट दैनिक कारोबार गर्दै आएको बताउनुभयो ।
सहकारीको हाल काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा कार्यक्षेत्र रहेको छ । सहकारीले जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गरिरहेको छ । संचार तथा अन्य सामाजिक एवम् बिपतको क्षेत्रमा समेत काम र सहयोग गर्दै आएको सहकारीले यो आर्थिक बर्षमा बहुुउद्देश्यीय भवन निर्माण र कृषि उपज संकलन केन्द्र स्थापनाको तयारीमा गरेको अध्यक्ष खिम बहादुर कार्कीले बताउनुभयो ।