एनआरएनएको अध्यक्षमा पर्वतका आचार्यको उम्मेदवारी घोषणा

बागलुङ, ४ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित हुनुभएका आचार्यले आइतवार गृहजिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । असोज २८ देखि ३० गते काठमाडौँमा हुने दसौँ अन्तरराष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि आचार्यले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले अघिल्लो पटक भन्दा थप तयारी र शसक्त रुपमा उम्मेदवारी दिन लागेको जानकारी समेत दिनुभएको छ । ‘औपचारिक उम्मेदवारी घोषणा भने राजधानीमा विशेष समारोहका विच गर्नेछु’– आचार्यले भन्नुभयो ।

गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफु अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उहाँको भनाई छ । आचार्यले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताउनुभयो ।

नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा नेपलको सातै प्रदेशमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिने, कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआरएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना रहेको आचार्यले बताउनुभयो ।

गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका बलबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोवाई एप निर्माण गरी अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने आचार्य प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उम्मेदवारी घोषणाको क्रममा आचार्यले आफ्नो जन्मभूमि धाईरिङमा यस वर्षको बाढिपहिरोले विस्थापित बनेका परिवारहरुको पुर्नस्थापनाका लागि रु १० लाख रुपैयाँ व्यक्तिगत रुपमा दिने घोषणा गर्नुभयो भने सदरमुकाम कुश्माबजारको गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनका लागि रु १ लाख ५५ हजार रुपैया सहयोग गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here