ओमानलाई नेपालको मध्यम लक्ष्य

काठमाडौं, २९ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले आयोजक ओमानलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अल आउट हुँदै १९६ रन बनाएको हो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा १ छक्का र ७ चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन् ।

यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका खानले १ मेडनसहित ४७ रन खर्चिएका हुन् ।

यस्तै, नेष्टोर धम्बाले २ विकेट लिए । ५ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए भने मोहम्मद नदिम र जिशान माक्सुदले समान १ विकेट लिए ।

सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here