चोरीमा बालबालिकालाई संलग्न गराउने समूह सक्रिय

बाँके, २७ भदौ  । भारतबाट आएको एउटा समूहले बालबालिकालाई चोरीमा संलग्न गराएको आशङ्का प्रहरीले गरेको छ । कोहलपुरका विभिन्न ठाउँमा पाल टाँगेर बसेको भारतीय समूहमा रहेका बालबालिकाले सार्वजनिक  बसलगायत विभिन्न ठाउँमा चोरी गरेको फेला परेपछि यस्तो आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बालबालिकाबाट एक लाख रुपियाँभन्दा बढी रकम र सुनका गरगहनासमेत  बरामद गरेकाले ती बालबालिकालाई चोरीमा प्रयोग गर्ने गरिएको आशङ्का गरिएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण लामिछानेले बताए । उनले मजदुरी गर्ने, विभिन्न खालका सामान बेच्ने तथा मागेर खाने मानिसको समूहले नै त्यस्तो गर्ने गरेको हुनसक्ने बताए ।

इलाका प्रहरी कार्यालय  कोहलपुरका अनुसार कोहलपुरमा एउटा समूह पाल नै टाँगेर बसेको छ । उनीहरूको समूहमा रहेका बालबालिकाले बसमा यात्रा गर्ने र यात्रुहरूको पैसा तथा गरगहना चोरी गर्ने गरेको प्रहरीले फेला पारेको थियोे। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले बाल बिज्याइँ भएकाले सोही कानुनी व्यवस्थाअनुसार अनुसन्धान भइरहेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here