बागलुङ, २० भदौ । धौलागिरि अस्पताल बागलुङमा अक्सिजन प्लान्ट निर्माण गर्न थालिएको छ । कोरोना संक्रमितका जटिल बिरामी धेरै हुँदा अक्जिसन अभाव भए पछि अस्पताल परिषरमा आफ्नै अक्जिसन प्लान्ट निर्माण गर्न थालिएको हो ।
गत बैशाखदेखि असार अन्तिम सातासम्म कोरोनाका जटिल बिरामीको संख्या बढी हुँदा पोखरादेखि दैनिक एक सय २० सिलिन्डर अक्सिजन आयत गर्नुपर्ने अवस्था थियो ।
संघीय सरकारले असार अगाडी नै अक्सिजन प्लान्ट निर्माण गर्ने घोषण गरे पनि बजेट निकासा नहुँदा दुई महिना ढिलाई भएको थियो ।
सरकारले प्लान्ट निर्माण गर्न तीन करोड रुपियाँ विनियोजन गरे पनि निर्माण कम्पनी एग्रो मेडिटेकले दुई करोड ४० लाख रुपियाँमा सम्झौता गरेर काम सुरु गरेको धौलागिरि अस्पतालका प्रमुख डाक्टर सैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । यस अघि गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ९४ लाख ४० हजार रुपियाँले २५ सैय्याको बेडामा पुग्ने गरी अक्सिजन प्लान्ट तयार गरिएको थियो । अस्पतालका प्रमुख डाक्टर पोखरेलको अनुसार पुरानो प्लान्टको अक्सिजन आइसोलेसनका २५ वटा बेडसहित ७५ वटा बेडमा जडान गरिएको छ । हाईफ्लो अक्सिजन दिनुपर्ने बिरामीलाई उक्त प्लान्टले धान्न सक्दैन ।
नयाँ बन्ने प्लान्टले चौविस घण्टामा १५० देखि १७० सिलिन्डर अक्सिजन उत्पादन गर्नेछ । अहिले २३ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्टको पूर्वाधार तयारीको काम भैरहेको अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो । धौलागिरि अस्प्तालमा स्तरवृद्धि गरी दुई सय सैय्याको गण्डकी प्रदेश स्तरीय उपप्रदेशिक अस्पताल बताउने तयारी छ ।
नयाँ अक्सिजन प्लान्ट तयार पछि बागलुङका सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी अक्सिजन उत्पादन गर्ने अध्यक्ष रानाले बताउनुभयो । कोरोना संकटको बेला विभिन्न दाताले प्रदान गरेको सिलिन्डर संकलन गरेर अस्पतालमा अक्सिजन बैंक स्थापना गर्ने उहाँले बताउनुभयो ।