बागलुङमा लकडाउन खुकुलोः पसलहरु विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला हुने

बागलुङ, १० भदौ । बागलुङमा लामो समयदेखि जारी लकडाउन (बन्दाबन्दी)मा खुकुलो नीति अपनाइने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसि)को बिहिवार बसेको बैठकले शुक्रबारदेखि लागुहुने गरी लकडाउन खुकुलो गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले पेशा, व्यवसाय तथा पसलहरु विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने निर्णय गरेको बताउनुभयो ।

समितिले सार्वजनिक तथा नीजि यातायातका सवारी साधनहरु जिल्ला भित्र र जिल्ला बाहिर समेत सञ्चालन गर्ने र मध्यम तथा लामो दुरीका यात्रुवहाक सवारी साधनले यात्रुहरुको सम्पर्क नम्बर सहितको चलानी तयार गरी प्रस्थान गन्तव्य स्थानको प्रवेश विन्दुमा अनिवार्य रुपमा ट्राफिक पोष्टमा बुझाउनुपर्ने निर्णय गरेको छ ।

जिल्लाका तीन सरकारी कार्यालयले बार छुटाएर सेवा दिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोट कार्यालय र नापी कार्यालयले स्थानीय तह अनुसार छुटाछुट्टै बारमा सेवा प्रवाह गर्नुपर्ने छ । समितिले आईतबार र बुधबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, सोमबार र बिहिबार गल्कोट नगरपालिका र ताराखोला गाउँपालिका र मंगलबार र शुक्रबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सेवाग्राहीलाई कार्यालयबाट प्रवाह हुने सवै सेवा दिनुपर्नेछ । यस्तै बुर्तिबाङस्थित इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयले आईतबार र बुधबार ढोरपाटन नगरपालिका, सोमबार र बिहिबार निसीखोला गाउँपालिका र मंगलबार र शुक्रबार बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गर्ने निर्णय गरेको प्रजिअ कार्कीले बताउनुभयो ।

यस्तै जनस्वास्थ्यको मापदण्ड पालना गरेर आवासिय होटल, रेष्टुरेष्ट, चिया, तथा खाजा पसलहरु संचालन गर्ने, बैक तथा वित्तिय संस्थाहरु, सहकारी संस्थाहरु, बीमा कम्पनी र मनि ट्रान्सफर नियमित संचालन गर्ने र सहकारीहरुले घरदैलो मार्फत बचत संकलन गर्ने कार्य नगर्ने निर्णय गरिएको छ ।

समितिले सिनेमा हल, पार्टी प्यालेस, पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, ब्यूट्रीपार्लर, सैलुन, फुटपाथ पसलहरु, टे«निङ सेन्टरहरु खोल्न नपाइने र मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गरी अन्य कार्य नगर्ने निर्णय गरेको छ ।

गत वैशाख २१ गतेदेखि लकडाउन गरिदै आएकोमा असार मध्य तिर केही खुकुलो बनाइएको थियो । तर, पछिल्लो केही साता यता कोरोना संक्रमण दर तीब्र बढ्न थाले पछि लकडाउनमा थप कडाई गरिएको थियो । बिहीबार सम्म जिल्लामा ३ सय ४८ सक्रिय संक्रमित छन् । कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here