बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी

काठमाडौं । २१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन् ।

‘यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन् । अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष म, मेरो परिवार यहाँ निरन्तरता दिन चाहन्थ्यौं,’ मेस्सीले भने,’आज मैले गुडबाइ भन्नै पर्छ । म धेरै युवा हुँदा १३ वर्षको उमेरमा यहाँ आइपुगेको थिएँ । र, २१ वर्षपछि म मेरो श्रीमती र तीन बच्चाहरुसँग यहाँबाट बिदा हुँदै छु ।’

त्यस्तै उनले फर्किएर आउने आफ्ना सन्तानलाई बाचा गरेको समेत बताए ।

अर्जेन्टिनी स्टार फुटबलर मेस्सी यतिबेला आफ्नो आगामी क्लब छनोट गर्न स्वतन्त्र छन् । धेरै हप्ता भइसकेको छ उनी ‘फ्री एजेन्ट’ भएको ।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबिच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नयाँ नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको थियो ।

बार्सिलोनामा उनी नरहने भएसँगै उनी इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी या फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जान चर्चा चलेको थियो । यद्यपि उनी पीएसजीसँग अनुबन्धनको नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बार्सिलोनामा ४ वटा युरोपियन च्याम्पियन्स लिग जिताएका मेस्सीले १० वटा ला लिगा, ७ वटा कोपा डेलरे, तीनवटा क्लब विश्वकप, तीनवटा युरोपियन सुपर कप र ८ वटा सुपरकोपाको उपाधि जिताएका थिए । उनले त्यसबिचमा ६ पटक बालोन डि ओरको उपाधि जित्न सफल भए ।

मेस्सीले बार्सिलोनाबाट १७ सिजन खेल्दै ७७८ खेलमा ६७२ गोल गरेका छन् ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here