
रामबहादुर थापा ‘अविरल’
बागलुङ, १५ साउन । युद्धपछि उठेको थलो हो, ताराखोला । यससँग संघर्षको आफ्नै कथा छ। प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले मात्र अब पुग्दैन । अविकसित, गरिबी र पछौटेपनबाट मुक्त हुन ताराखोला सङ्घर्ष गरिरहेको छ । आफ्नै बलबुतोमा समृद्धितिर यात्रारत छ ।
तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धको रापताप सबभन्दा बढी यसैले नै झेल्यो । मानव मुक्ति र व्यवस्था परिवर्तनका खातिर यहाँका कैयन व्यक्तिले प्राणको उत्सर्ग गरे । कोही बेपत्ता छन् । कुनैताका युद्धले थिलोथिलो भएको ताराखोला अहिले जुर्मुराएको छ ।
परिवर्तित व्यवस्थाको जगलाई बलियो पार्दै जनतालाई विकास र सुशासनको अनुभूति दिलाउन तल्लीन छ ।
मुलुकमा तीन तहको शासकीय प्रणाली लागू भएसँगै ताराखोला स्थानीय सरकारका रूपमा गाउँपालिकामा बदलियो ।
यसलाई त्यसबेला ‘गाउँको सिंहदरबार’समेत भनेर नारा दिइयो। त्यो भनेको सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुग्ने भन्ने नै थियो ।
‘गाउँको सिंहदरबार’का रूपमा ताराखोलाले निर्वाह गरेको भूमिकाको समयक्रममा लेखाजोखा त हुँदै जाला तर पनि स्रोतको सीमितता, दक्ष मानव संशाधनको अभाव, भौगोलिक कठिनाइ र नागरिक सशक्तीकरणको कमीका बाबजुद पनि पूर्वाधार विकास तथा नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोलाई स्वीकार्न कठिन छैन ।
स्थानीय तह बनेर जनप्रतिनिधि आएको भर्खर चार वर्ष बितेको छ ।
सुरूका दुई वर्ष त स्थानीय तहले प्रभावकारी ढङ्गले कामै गर्न सकेनन् । नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनु चुनौतीपूर्ण त छँदै थियो त्यहीँमाथि लामो समयसम्म कमर्चारी नपाउने, अधिकारको प्रत्यायोजन नहुने समस्या स्थानीय तहले व्यहोरे ।
ऐन, कानूनहरूको प्रबन्ध पनि ढिलो गरी भयो । त्यस किसिमको स्थितिबीच पनि स्थानीय तहले जनताको विकासप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न पछि परेनन् । आ–आफ्नो विशिष्ट परिस्थिति, विशेषता र शैलीअनुरूप जनताको सेवामा लागिरहे । ताराखोला पनि तिनैमध्येको एक हो जसले जनतालाई प्रत्यक्ष अनुभूति हुने तहमा ओर्लेर कर्तव्य निर्वाह गरिरहेको छ ।
पूर्वाधारमा फड्को
‘समृद्ध ताराखोला’को लक्ष्यसहित गाउँपालिकाले दुई वर्षअघि प्रथम पञ्चवर्षीय योजना तयार पार्यो । विज्ञ, परामर्शदाता लगायतको सहयोगमा बनेको उक्त आवधिक योजनाअनुसार विकास गतिविधि सञ्चालित छन् ।
पाँच वर्षका लागि योजनावद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ताराखोलाको सपना र भविष्यसँग जोडिएको पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ ।
आवधिक योजनाले तोकेबमोजिम नै विकास योजनाले गति लिएका छन् । समृद्धि हासिल गर्ने पहिलो खुड्किलोका रूपमा पूर्वाधार र संरचना निर्माणलाई ताराखोलाले पनि ग्रहण गरेको छ । सोहीअनुरूप पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित छ । सडक, विद्युत्, खानेपानी, सिँचाइसहित शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने गरी बजेट र कार्यक्रममा प्राथमिकता दिइएको छ । मानव विकास, सामाजिक उत्थान, सशक्तीकरण र संस्कृति संरक्षणका क्षेत्रमा पनि गाउँपालिका उत्तिकै अग्रसर छ ।
सडकतर्फ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्र, अन्य मुख्य सडकको स्तरोन्नति र कालोपत्र योजना अघि बढेको छ ।
यस्तै गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई पनि विशेष जोड दिइएको अध्यक्ष घर्तीले बताए ।
सडक बोर्डले रणनीतिक सडकका रूपमा लिएको रिजालचोक–अमरभूमि–तारा–म्याग्दी शहीद मार्गलाई गाउँपालिकाले पनि रणनीतिक सडकमार्गका रूपमा स्वीकार गरेको छ । ३५ किमी दूरीको उक्त सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । गलकोट नगरपालिका, ताराखोला हुँदै म्याग्दीको रुम जोडिने सडक पनि अहिले धमाधम स्तरोन्नति भइरहेको छ ।
यी दुई रणनीतिक सडकलाई ताराखोलाको ‘लाइफ लाइन’मा रूपमा हेरिएको छ ।
गाउँपालिकाको आफ्नै लगानीमा पनि सडक विस्तारको काम भइरहेको छ । गाउँपालिकाले वडा नं १ को भुस्कात र अमरभूमि जोड्ने सडक बनाएपछि गाउँपालिका केन्द्र भातखाने डाँडा आउने दूरी छोटिएको छ। बस्ती जोड्ने र गाउँका भित्री सडकमा पनि गाउँपालिकाले काम गरिरहेको छ ।
संघ र प्रदेश सरकारसँगको लागत साझेदारीमा वडा नं १ भुस्कातमा ‘औद्योगिक ग्राम’ निर्माणाधीन अवस्थामा छ ।
‘ग्राम सञ्चालनमा आउँदा स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग हुनुका साथै गाउँमै उद्यमशीलता विकास र रोजगारी सिर्जना हुनेछ’, उनले भने ।
यही वर्षको अन्त्यसम्ममा ग्राम सञ्चालनमा ल्याइने भएको छ। ताराखोलाको पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
जिल्लामै पहिलो र सबभन्दा ठूलो सभागृह बनाएर ताराखोलाले अरू स्थानीय तहलाई उछिनेको छ। जबकि सदरमुकाम रहेको बागलुङ नगरपालिकामासमेत व्यवस्थित सभाकक्ष छैन । नगरसभासमेत ‘पार्टी प्यालेस’मा गर्नुपर्ने बाध्यता छ । ताराखोलाले वडा नं २ अर्गलमा ५०० जना क्षमताको सभागृह बनाएको छ ।
रु दुई करोड ६७ लाखमा बनेको सभागृहमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको ६०/४० को लागत साझेदारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।
मगर बाहुल्य रहेको ताराखोलाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणलाई पनि तीव्रता दिएको छ। परापूर्वकालीन समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी बन्न लागेको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ ।
रु दुई करोड १६ लाख बजेटमा निर्माण भइरहेको सङ्ग्रहालयमा पर्यटन मन्त्रालय, सांसद विकास कोष र गाउँपालिकाको संयुक्त लगानी परेको छ ।
ताराखोला जोड्ने मुख्य सडकको तरिम र साँघुबोटमा दुई पक्की पुल यही अवधिमा बनेका छन् । बाँकी पुल बन्ने चरणमा छन् । जिल्लाका अधिकांश स्थानीय तह भाडाका घरबाट चलिरहेका बेला ताराखोला भने आफ्नै भवनबाट सञ्चालित छ ।
रु पाँच करोड ६० लाखको लागतमा नयाँ प्रशासनिक भवन बनिरहेको छ । प्रदेश सरकारसँगको साझेदारीमा निर्माणाधीन उक्त भवन आउँदो वैशाखसम्ममा सक्ने योजना छ ।
यही वर्ष वडा नं ४ को भवन पनि बनेको छ । सोही वडाको दोगाडीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माणाधीन छ । वडा नं ५ को ठूलो हिलेमा पनि नयाँ खेलमैदान बनेको छ ।
‘पूर्वाधातर्फका योजना केही सम्पन्न भए, केही डिपिआर बनेर निर्माणको चरणमा छन्’, अध्यक्ष घर्तीले भने, ‘शहीद उद्यानसहित पर्यटकीय पूर्वाधारका काम पनि अघि बढाइएको छ ।’
जनयुद्धताका तत्कालीन सरकारी सुरक्षा फौजले चार माओवादी कार्यकर्तालाई हत्या गरेको वडा नं. २ अर्गलको गयार भन्ने स्थानमा शहीद उद्यान बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
पर्यटन मन्त्रालयबाट बजेट ल्याएर उद्यान बनाउने तयारीमा गाउँपालिका छ। माओवादी आन्दोलनमा ताराखोलाका २१ शहीद बनेका थिए भने दुई अझै बेपत्ता छन् ।
वडा नं. ५ को करिमेलालाई पनि ‘ढुङ्गेनी गाउँ’का रुपमा विकास गरी पर्यटक भित्राउने लक्ष्यअनुरुप पूर्वाधार निर्माणलाई अघि बढाइने भएको छ ।
वडा नं. १ मा अवस्थित पर्यटकीय गाईघाट क्षेत्रमा पनि पर्यटकीय पूर्वाधार थपिने गाउँपालिकाले जनाएको छ । सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार झरनाछेउ ‘रिसोर्ट’ पनि बन्दैछ । सय रोपनी जग्गामा आउँदो असोजदेखि ‘रिसोर्ट’को काम सुरू हुने जनाइएको छ । त्यसमा गाउँपालिकाको पनि लागत साझेदारी रहनेछ ।
वडा नं. ५ हिले, वडा नं. १ को अमरभूमिलगायतका पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडा गरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ । पर्यटकीय गतिविधि बढाउनकै लागि गाउँपालिको आर्थिक सहयोगमा वडा नं. २ मा ‘किकल्टा घरवास’ र ५ मा ‘हिले घरवास’ सञ्चालनमा ल्याइएको छ ।
घरवास सञ्चालनका लागि पहिलो वर्ष रु. पाँच लाखका दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
यीबाहेक प्रदेश सरकारको अनुदान लिएका दुई घरवास पनि ताराखोलामा सञ्चालित छन् । पर्यटक भित्राउन यसअघि घोषित ‘ताराखोला भ्रमण वर्ष’ भने कोभिड–१९ ले बिथोलिएको थियो ।
व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्त्व्यस्थल पहिचान गर्न सके पर्यटनमा पनि ताराखोलाको प्रचुर सम्भावना छ । शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा क्षेत्रमा पनि ताराखोला क्रमिक सुधारतर्फ अग्रसर छ । रासस










