
बागलुङ, १२ साउन । गलकोट नगरपालिकाको गौरवको योजना अन्तरगत निर्माणाधीन घुम्टे बहुउद्देशीय सभा हलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले स्थलगत अनुगमन गर्नुभएको छ ।
अनुगमन पश्चात गलकोट नगरपालिका वडा नं ७ मल्ममा निर्माण भईरहेको सभाहलको कामको प्रगति बारे नगरप्रमुख गैरेले जानकारी लिनुभएको छ ।
स्थलगत अवलोकन पछि नगर प्रमुख गैरेले गलकोट नगरपालिकामा निर्माणाधीन बहुउद्देशीय सभा हल निर्माण भएपछि तालिम, गोष्ठी, सभा, सम्मेलन, भेला लगायतका कार्य गर्न सहज हुने बताउनुभयो । नगरप्रमुख गैरेले भन्नुभयो–‘अहिले विभिन्न कार्यक्रम गर्न समस्या हुने गरेकोमा सभा हल निर्माण कार्य सम्पन्न भएपछि समस्याको समाधान हुनेछ ।’
त्यस्तै गलकोट नगरपालिकाका नगर उप्रमुख रेणुका काउचा मगरले स्थानिय तह निर्माण भएसँगै पालिकामा विकास निर्माणले तिव्रता पाएको बताउनुभयो । नगरपालिकाले नगर भित्रको आवश्यकता पहिचान गरेर सोही बमोजिम नीति तथा कार्यक्रम ल्याईरहेको जानकारी दिनुभयो ।
उक्त सभा हल निर्माणको लागि आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारले रु १५ लाख बजेट विनियोजन गरेको थियो त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा गलकोट नगरपालिकाले नगर गौरव योजना अन्तर्गत रु १५ लाख बजेट विनियोजन गरेको थियो चालु आर्थिक वर्षमा गलकोट नगरपालिकाले सभा हल निर्माणको बाँकी काम सम्पन्न गर्न रु २० लाख बजेट विनियोजन गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनुभयो ।
गत वर्ष ग्राउण्ड बेस र पिलर तयार गरिएको सभा हलको यस वर्ष वाल निर्माण सँगै पहिलो तला ढलान गरि शौचालय समेत निर्माण गरिएको छ ।
१६ मिटर लम्बाई र ५ मिटर चौडाई रहेको सभा हल यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको घुम्टे बहुउद्देशीय सभा हल निर्माण उपभोक्ता समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । २ तलाको सभाहलमा ग्राउण्ड फ्लोरमा स्टोर रुम, कार्यालय रहने छ भनें उपल्लो तलामा झण्डै ३ सय मानिसहरु अटने आधुनिक सुविधा सम्पन्न सभा हल निर्माण हुनेछ ।
सभाहलको घडेरी व्यवस्थापन र सडक ट्रयाक निर्माण गर्न सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको थियो । आजै नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले प्रगति आधारभुत विद्यालय मल्मको नवनिर्मित २ कोठे भवनको समेत स्थलगत अवलोकन गर्नुभएको छ १८ लाख रुपैयाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न गरिएको प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताउनुभयो ।









