
बागलुङ, ८ साउन । गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक कार्यक्रम गरी बाढी पहिरोबाट बढी प्रभावित जिल्लाहरुमध्येको बाग्लुङ्गका गायक सपुत र सिन्धुपाल्चोककी गायिका दुलाललाई सद्भावना दूत घोषणा गरेको हो । कार्यक्रममा गायक सपुत र गायिका दुलालद्वारा गाइएको ‘बाढी पहिरो हामीलाई चिन्ता गहिरो’ बोलको गीतको म्यूजिक भिडियो पनिसार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्ला वर्षहरुमा विपद्का घटनाबाट मानवीय र भौतिक क्षति बढी हुदै गएको भन्दै यसको न्यूनीकरणका लागि समुदायमा सचेतना फैलाउनु प्रमुख कार्य भएको उल्लेख गर्नुभयो । यसका लागि प्राधिकरणले कलाकारहरुलाई पनि सँगै जोडेर अघि बढाउन खोजेको बताउनुभयो ।गीत संगीतले समुदायमा सचेतना जागृत गराउने काममा प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।
यसैगरी प्राधिकरणकी सहसचिव अनिता निरौलाले विपदको जोखिम घटाउनमा कलाकारहरुको भूमिका उल्लेख्य हुने हुनाले गायक सपुत र गायिका दुलाललाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको बताउनुभयो । उहाँले विपद् प्रभावित गाउँवस्तीका समुदायमा सद्भाव र सचेतना जागृत गराउन उहाँहरुको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राधिकरणका सहसचिब तथा प्रवक्ता विश्वप्रकाश अर्यालले विपदको जोखिम घटाउने तर्फ प्राधिकरणबाट गरिएका प्रयासहरुबारे जानकारी गराउनुभयो । यसैगरी हालसम्म विपदबाट भएका क्षति र सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माण, पुनर्स्थापनाबारे प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उहाँले गत वर्षको बाढी पहिरोबाट क्षति पुगेका घरहरु पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि २२ वटा जिल्लालाई २९ करोड ९९ लाख रुपैंया जिल्ला विपद् व्यवस्थापन समिति मार्फत लाभग्राहीको बैक खातामा सिधै रकम पठाइएको जानकारी दिनुभयो । यस वर्षकै बाढी पहिरोबाट घरबास गुमाएका नागरिकको अस्थायी आवास निर्माणका लागि ८ जिल्लाका ५७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रकम पठाइसकिएको जानकारी दिनुभयो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुका खोला किनारका १९६ घरमा ड्रोन(Drone) तथा स्थलगत निरीक्षणबाट क्षति र नोक्सानीको मुल्याङ्कनको कार्य भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गायक प्रकाश सपुतलेविपद जोखिम न्यूनीकरण सद्भावना दुत घोषणा भएसँगै आउने जिम्मेवारीलाई रचनात्मक ढङ्गले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।त्यस्तैगायिका सुनिता दुलालले आफै जन्मेको जिल्ला सिन्धुपाल्चोकमा विपद्का कारण ठुलो जनधनको क्षति भईरहेको समयमाविपद न्यूनीकरणमा गीतसंगीत मार्फत जोडिन पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर रहेको धारणा राख्नुभयो ।









