
बागलुङ, ८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीनजना मन्त्रीको नाम टुंगो लागेपछि आजै सपथग्रहण हुने भएको छ । कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाइने भएको छ ।
शर्मा बागलुङबाट निर्वाचित पूर्वसंघीय सांसद पनि हुन् । श्रेष्ठ भने कांग्रेस नेता गोपालमान श्रेष्ठका स्वकीय सचिव थिए । श्रेष्ठ मन्त्री बनेका बेला मेखलालले नै सबै काम हेर्थे । गोपालमानले नै उनलाई प्रदेशसभामा समानुपातिबाट सांसद बनाएका हुन् ।
शर्मा बागलुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद हुन् । काँग्रेसले मन्त्रालयको भने टुंगो लगाएको छैन ।
यस्तै माओवादीले तीन मन्त्रीमा चन्द्र बहादुर बुढा, रामजी बराल र दीपक घर्ती मगरलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई नाम दिइसकेको छ ।
माओवादीबाट मन्त्रीको लागि सिफारिस भएका चन्द्र बहादुर बुढा बागलुङ क्षेत्र नम्बर २ प्रदेश (क)बाट निर्वाचित सांसद हुन् ।
नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।
गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् ।








