
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ। मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।
देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।
उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् । त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, दाँङका हिराचन्द्र केसी, मुगुका गाेपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।
सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।








