गण्डकी प्रदेशको बजेट पारित, एमालेले गर्यो सदन बहिस्कार

पोखरा, ३० असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।

वेल घेराउ गरेका प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएका थिए । मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो । आफूहरुको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।

प्रतिपक्ष बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न दिई रीत पुर्‍याउँदै बजेट पारितको प्रस्ताव राख्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मौका दिएका थिए ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए । पोखरेलले १ असारमा ३० अर्बको बजेट ल्याएका थिए ।

प्रतिपक्षबिना संसद चलाइएको गण्डकीमा यो पहिलोपटक हो । संसदीय पद्दतिमा प्रतिपक्षबिना सदन चलाउने परम्परा छैन । माओवादी केन्द्रबाट निर्वाचित सभामुखले भने त्यसको ख्यालै नगरी सदन अगाडि बढाएर कांग्रेस र माओवादी लगायतको साझेदारी सत्ताका लागि उनले सजिलो बनाइदिएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here