बागलुङ, २९ असार । बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ८ काँडेवासमा मानिसलाई आक्रमण गरेको चतुवालाई ढुंगाले हानेर मारिएको छ ।
मंगलबार विहान १० बजेर ४० मिनेटमा गल्कोट नगरपालिका–८ काडेबासकाका ३७ बर्षिय रविन दर्लामीलाई चितुवाले आक्रमण गरी घाईते बनाएको चितुवाले अरुलाई पनि आक्रमण गर्दा प्रतिरक्षामा स्थानीयहरुले ढुंगाले हानेर मारेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
स्थानिय छिमेकी ओमदत्तको खाली घरमा राखेको हलो लिन जाने क्रममा घरबाट चितुवा निस्की आक्रमण गरी दर्लामीलाई घाईते गराएको सूचना पछि नेपाल प्रहरी, वन कार्यालयका कर्मचारी, जनप्रनिधि र स्थानियहरुको टोली उक्त स्थानमा पुगेको थियो । आक्रमण गरेको स्थान वरीपरी हेर्ने क्रममा घटनास्थलदेखि ३ सय मिटर पूर्व तर्फ रहेको अलैचि खोलाको जंगलमा पुनः मानिसहरुलाई आक्रमण गरेपछि प्रतिरक्षाको लागि स्थानीयहरुले ढुंगामुढा गर्ने क्रममा बुढो भाले जातिको चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
चितुवाको दिउँसो ४ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो ।








