बागलुङका २८ वडा पहिरोको उच्च जोखिममा

पारस के.सी. इन्द्र
बागलुङ, १४ असार । बागलुङको दश स्थानीय तहका २८ वटा वडालाई बाढी पहिरोको उच्च जोखिममा सुचिकृत गरिएको छ ।

जिल्लाका ८५ वडा मध्ये २८ वडा पहिरोको उच्च, २४ वटा मध्यम र ८ वटा वडा न्युन जोखिममा सुचीकरण गरिएको हो । यस बर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसंख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

यस बर्षको मनसुन सुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भ–ुभाग पहिरोबाट प्रभावित हुने तथ्यांक तयार छ ।

जोखिममा सामुदायीक विद्यालयसमेत समावेश छन । यस बर्ष २० सामुदायीक विद्यालय भवनमा पहिरोले प्रभाव पार्नसक्ने जिल्ला बिपद व्यवस्थापन समितिको अनुमान छ । सबै स्थानीय तहमा व्यवस्थापनको काम भैरहेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो ।

‘हामीले स्थानीय तहसँग जोखिमबारे छलफल गरेर तथ्यांक तयार गरेका छौँ, सोही अनुसार जोखिमसँग जुध्न सबै सरोकारवालालाई तयार रहन निर्देशन दिएका छौं’ कार्कीले भन्नुभयो ।

विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको हो ।

कार्ययोजनाका अनुसार ३ हजार ४ सय ४३ पाँच वर्ष मुनिका बालबालिका बाढीपहिरोबाट प्रभावित हुनेछन् । त्यस्तै ६० वर्ष माथीका जेष्ठ नागरिकको तथ्यांक समेत धेरै छ । ३ हजार ६ सय ९९ जना जेष्ठ नागरिक प्रभावित हुने पूर्वानुभान छ । गर्भवती ७ सय ६५ र सुत्केरी १ हजार ४ सय ४ जना प्रभावित हुने अनुमानित तथ्यांक रहेको कार्कीले जानकारी दिनुभयो ।

कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौंदीखोला, उत्तरगंगा लगायतका खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् ।

‘यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन्’ विपत व्यवस्थापन समितिले भनेको छ ‘पूर्व तयारीमा खोला किनारका बस्तीहरु रहन आवश्यक छ ।’ कार्ययोजनाले उद्धार राहत तथा पुनस्थापना र सचेतनाका लागि उपलव्ध साधन स्रोतको समेत तथ्यांक तयार गरेको छ । ‘उद्धार सामग्रीदेखि पुनस्थापनाका लागि आवश्यक योजना समेतमा छलफल भयो’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतमले भन्नुभयो ‘सबै सरोकारवाला सतर्क रहने र तत्काल उद्धारमा लाग्ने भन्ने छ ।’

जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरुले पूर्वानुमान गरेका छन् । स्थानीय तहले गतवर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्यांक र यो वर्षको सम्भावित जोखिमको अबस्था हेरेर तथ्यांक तयार भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here