
काठमाडौं, १ असार – आगमी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु भएको छ ।
टोलीले मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा स्वास्थ्य सावधानी अपनाएर प्रशिक्षण थालेको हो । प्रशिक्षणको पहिलो दिन प्रारम्भिक चरणमा डाकिएको ३० मध्ये २५ जना खेलाडीको उपस्थिति रहेको थियो । उनीहरु सबैको सोमबार सम्ममा पीसीआर परिक्षण गरिएको र मंगलबार बिहानसम्म सबैको नतिजा नेगेटिभ आएपछि उनीहरु प्रशिक्षणमा सामेल भएका हुन् ।
प्रशिक्षणमा बागलुङको गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीकी साफिया पुन पनि सहभागि छिन् ।
नेपाल पुलिस क्लबका तीन खेलाडी पुनम चन्द, शान्तिकला तामाङ र कामना विष्ट पुलिसकै आन्तरिक तालिममा रहेका कारण प्रशिक्षणमा सामेल भएका छैनन् । उनीहरुलाई पनि प्रशिक्षणमा बोलाउनको पहल भइरहेको नेपाल भलिबल संघले जनाएको छ ।
यस्तै नेपाल एपिएफ क्लबकी हीरा केसी र भरतपुरकी सरस्वती कट्टेल जिल्ला बाहिर रहेका कारण प्रशिक्षणमा उपस्थित नरहेको र आउने बित्तिकै पीसीआर परिक्षण गरी प्रशिक्षणमा सामेल गराइने नेपाल भलिबल संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक निरोज मास्केले जानकारी गराइन् । टोलीको फिजियोको रुपमा अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरका उज्वल डोटेल रहेका छन् । उनले यसअघि न्यु डायमन्डमा पनि फिजियोको रुपमा काम गरेका थिए ।
प्रशिक्षणको पहिलो दिन सहायक प्रशिक्षक कुमार राई र ट्रेनी अन्जु श्रेष्ठले खेलाडीहरुलाई सामान्य प्रशिक्षण गराए । मुख्य प्रशिक्षक जगदीश भट्ट हाल महेन्द्रनगरमा रहेको र उनलाई बोलाउने प्रक्रिया अघि बढेको संघले जनाएको छ । पहिलो दिन संघबाट प्रतिनिधिका रुपमा उपाध्यक्ष निरोज मास्के, सचिव मनविर छन्त्याल, सदस्य रीता कोइराला, टेक कुमार राजभण्डारी र राखेप सदस्य नन्दा बस्याल उपस्थित रहेकी थिइन् ।
बन्द प्रशिक्षणमा उपस्थित खेलाडी : प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, सुनिता खड्का, उषा विष्ट, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, रेश्मा भण्डारी, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वती जैशी, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य
बन्द प्रशिक्षणमा अनुपस्थित खेलाडी : कामना विष्ट, पुनम चन्द, शान्तिकला तामाङ, हिरा केसी र सरस्वती कट्टेल
तस्विर सौजन्यः (हाम्रो खेलकुद डटकम)
यो पनि पढ्नुहोस्: बागलुङकी साफियालाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल










