
बागलुङ, १० जेठ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले धौलागिरी अस्पतालाई ३० थान अक्सिजन सिलिण्डर र पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
नगरप्रमुख नेपालीले आईतबार अस्पतालमा कोरोना महामारीको समयमा अस्पतालमा भएको अक्स्जिन तथा औषधिको अभावलाई मध्यनजर गर्दै ३० थान अक्सिजन सिलिडर र पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताउनुभयो ।
उहाँले धौलागिरी अस्पताल गण्डकी प्रदेशको अस्पताल भएकोले यहाँ सवै स्थानका नागरिकहरुले सेवा लिने हुँदा कोरोना महामारीको समयमा अक्सिजनको अभाव व्यहोर्न नपरोस् भनेर आफुले सहयोग गरेको बताउनुभयो । ‘ढोरपाटन नगरपालिकाका जटिल विरामीहरु पनि धौलागिरी अस्पतालमा ल्याउनुपर्छ,’ नगरप्रमुख नेपालीले भन्नुभयो–‘आफ्ना नागरिक सहित जिल्ला र छिमेकी जिल्लाका विरामीहरु पनि अस्पतालमा उपचाररत रहेकाले अक्सिजन र औषधिको अभावमा कसैले पनि अकालमै ज्यान गुमान नपरोस् भनेर आफ्नो क्षमता अनुसार सहयोग गरेको बताउनुभयो ।’
नगरप्रमुख नेपालीले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि ३० थान अक्सिजन उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
अक्सिजन सिलिण्डर र नगद बुझेपछि धौलागिरी अस्पतालका अध्यक्ष केपि राना मगरले कोरोना महामारी विरुद्ध सवै एक जुट भइ लड्नुपर्ने बताउनुभयो । उहाँले अहिले अस्पतालमा सानो अक्सिजन प्लान्ट भएकोले अक्सिजनको अभाव भइरहेको र नेपाल सरकारले पुनः अक्सिजन प्लान्टको लागि सहयोग उपलब्ध गराएकोले काम अगाडी बढाइएको बताउनुभयो ।
अध्यक्ष रानाले कोरोना महामारीको बेलामा व्यक्तिगत र संघसंस्था मार्फत अक्सिजन लगायतका अत्यावश्यक सामाग्रीहरु अस्पताललाई सहयोग उपलब्ध भइरहेको भन्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।











