
बागलुङ, २९ बैशाख । बागलुङका एक कोरोना संक्रमितलाई पोखरा लगिएको छ । धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत रहेका बडिगाड गाउँपालिका–६ का ४० बर्षिय कोरोना संक्रमित पुरुषलाई बुधबार दिउँसो हेलिकोप्टरमार्फत् थप उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको हो ।
अस्पतालको आइसोलेसनमा उपचाररत रहेका उनलाई स्वासप्रस्वासमा समस्या देखिएको र थप उपचारको लागि पोखरा पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले खबरवे अनलाईनलाई जानकारी दिनुभयो । उच्च अक्सिजन दिएपनि समस्या बढ्दै गएले आइसियुको आवश्यकता पर्ने देखिएपछि अस्पतालको आइसियु (सघन कक्ष) भरिएकोले पोखरा पठाइएको डा. पोखरेललेब ताउनुभयो ।
संक्रमित पुरुषलाई परिवारले व्यवस्थापन गरि पोखरा लगेको हो । समस्या बढ्दै जाँदा आइसियु बेडको आवश्यकता पर्ने डाक्टरहरुको सल्लाह बमोजिम मणिपाल अस्पतालमा लगिएको परिवारले जनाएको छ ।
धौलागिरी अस्पतालमा तीन बेडको आइसियु कक्ष रहे पनि सवै भरिएको डा. पोखरेलले बताउनुभयो । उहाँले कोरोना संक्रमित र शंकास्पद गरि ३२ जना अस्पतालको आइसोलेसन र आइसियुमा उपचाररत रहेको जानकारी दिनुभयो ।










