
काठमाडाैं, २७ माघ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परि मृत्यु हुनेको संख्या २६ पुगेको छ भने अझै १७१ जना बेपत्ता छन्।
उत्तराखण्डको चमोलीमा आइतबार हिमपहिरो गएको थियो। हिमपहिराेका कारणा ऋषिगंगा र धौलीगंगामा आएकाे बाढीले जलविद्युत आयोजना बगाएको थियाे । त्यहाँ काम गर्ने मजदुर वेपत्ता भएका हुन्।
सोमबारदेखि नै त्यसक्षेत्रमा भारतीय सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन्। मंगलबार बिहानसम्म २६ जनाको शव र पाँच जनाका शरीरका अंग भेटिएका छन्। अझै १७१ जना वेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बेपत्ता हुनेमा भारतकै विभिन्न गाउँका बासिन्दा छन्। जसमा दुई जना सुरक्षाकर्मी पनि रहेको जनाएको छ।
जलविद्युत आयोजनाको सुरुङमा पनि कामदार फसेका छन्। साढे दुई किलोमिटर लामो सुरुङको १३० मिटरसम्म बालुवा सफा गरिएको छ। सुरुङभित्र अझै पनि ३७ जना मजदुर रहेको उत्तराखण्ड सरकारले जनाएको छ।
उत्तराखण्डमा मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उद्धार जारी रहेको बताएका छन्। उद्धारमा भारतीय सेना पनि परिचालन गरिएको छ। अहिलेसम्म ६०० सुरक्षाकर्मी उद्धारमा खटिएको मुख्यमन्त्री रावतले बताए।
यस क्षेत्रमा पश्चिम नेपालबाट पनि मजदुरीका लागि जाने गरेका छन्। अहिलेसम्म भने नेपाली नागरिक हिमपहिरो तथा बाढीमा परेको भेटिएको छैन।
हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा क्षति पुगेको थियो। एउटा सुरुङबाट १२ जनाको उद्धार गरिएको थियो। दोस्रो सुरुङभित्र थुनिएकोहरुको उद्धार जारी रहेको उत्तराखण्डको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए।
भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन्। तर, यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ।
विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् ।
सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो। त्यसपछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो।
वातावरणसम्बन्धी कार्य गर्ने गैसस स्वेच्छाका संस्थापक विमलेन्द्र झाले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभावी भइरहेका सडक, रेलवे र विद्युतगृह निर्माणले झन समस्या निम्त्याएको बताए।








