पुस १ गतेदेखि खोल्दै घोरेपानीका होटल

म्याग्दी, २९ मंसिर । म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन् ।

घरायसी रुपमा चलाइएका बाहेक अन्य होटलका मजदुर समेत होटलमा फर्किन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गर्ने निर्णय भएको पर्यटन ब्यवसायी टेकसर बुदुजा पुनले बताउनुभयो । नेपाल सरकारले तोकेको नियम अनुसार सबै मापदण्डको पालना गरिने बताउनुभयो ।

कोरोनाको महामारी नसकिएको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले पर्यटकमार्फत कोरोना भित्रन सक्ने कारण देखाउँदै गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा आवतजावतमा रोक लगाएको थियो । यसअगाडी घोरेपानीमा भित्रिएका दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको थियो ।

लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसायपनि चलायमान हुन अपेक्षा गरिएको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पती यहाँको प्रमुख आर्कषण मानिन्छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here