टिका बहादुर कार्की
बिद्युत, बिद्युतीय संचार, प्रबिधि, सडक, यातायात र सहकार्य लगायतबाट ग्लोबल भिलेजको अबधारणामा गैरहेको बिश्व मानब बिकास र संस्कारलाई एकाएक कोभिड–१९ ले ब्रेक लगाई दियो । जुटेर होईन फुटेर संघर्ष गर्दै आफु बांचेर अरुलाई पनि बचाउदै मानवीय अस्तीत्व रक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौ हामी । जब आफु देखि अरु मानव टाढा हुन्छ, बिरामी हुँदा साथ चाहिनेले आईसोलेसनमा लगेर छोडिदिन्छ भने बांचेपछी उ र उसका आफन्तजनले बांकी रहेकालाई कस्तो ब्यबहार गर्लान ? यहाँ बाँच्ने र बाँच्न नसक्ने आत्माहरु कसरी जलिरहेका छन् ? त्यो संवेदनाहिन अबस्थाले मानवीय संवेदना हराउंदै गएको त होइन भन्ने तर्फ सशंकित बनाएको छ ।

कोभिड–१९ को सुरुआत देखि होम क्वारेन्टिन, सार्वजनिक क्वारेन्टिन, होम आइसोलेसन, होटल आईसोलेसन देखि हस्पिटल आईसियु, आईसोलेसन तथा भेन्टीलेटरसम्म रहेर स्वास्थलाभको व्यग्र प्रतिक्षामा रहेका बिरामीलाई होम देखि हस्पिटलसम्मको उपचार यात्रामा परामर्श, समन्वय र सहयोगका लागी प्रयासरत सहयोगी आत्माहरुका साथै वेवारिस शब व्यवस्थापन तथा दाहसंस्कार गर्दै गर्दा बिश्वका १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल म्याग्दीकी सपनालाई हार्दिक सम्मान गर्दै सहयोग र उपचारको महत्वपुर्ण भुमिकामा रहेका व्यक्तिको गैर जिम्मेवारीपन व्यवहारको कारण पिसिआर पोजिटिभ वा नेगेटिभ भएर पनि समयमा उपचार नपाई मृत्युवरन गर्नुपर्ने अभागी तथा असहाय आत्माहरु प्रति हार्दिक श्रद्धा सुमन प्रकट गर्न चाहें । यहां अरु सबै मरेर फगत आफु मात्र बाँच्नुको अर्थ छैन । कोभिड–१९ को कारण वा बिना कारण कसैको साना सुन्दर संसारमा पर्न गएको बिपत्तीलाई आफैले मात्र भोग्नु पर्ने अवस्थामा हामी कसरी पुग्यौं त ? ग्लोबलाईजेसनको अबधारणा तथा सहकार्यका दस्तावेजहरु कालान्तरमा ईतिहासका बिद्यार्थीका लागी राखिने हो, जसरी हामीले पढ्दै आएका छौ ?

डाक्टरले जाँच्दैन वा जान्दैन, बिरामीले सकेसम्म अस्पताल जान मान्दैन किन ? जब बिरामी बेहोस हुन्छ, तब हामीले हतार हतार अस्पतालहरुमा डुलाउदै कतिपयको उपचार सफल हुन्छ त अधिकांश बैकुण्ठ तर्फ लाग्छन् । रुघा, खोकी, ज्वरो, निमोनिया वा स्वास प्रस्वासको समस्या लिएर आउने बिरामी यस कोरोना कालमा वास्तबिक उपचार पाउनबाट बन्चित भएकै हुन कि भन्नु पर्ने अवस्था देखिएको छ । यस्ता कोभिड–१९ को लक्षणसंग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई तत्काल पिसिआर टेष्ट गराएर रिपोर्ट देखाउन सम्भव छैन । पिसिआर रिपोर्ट बिना बिरामी भर्ना नलिने, जाडो मौसममा बढी देखिने उल्लेखित स्वास्थ समस्याको समाधान सावधानी पुर्वक उपचारका साथै पिसिआर टेष्ट हुन सक्छ । तर, निमोनियाका बिरामीलाई रगत जांच, एक्सरे, भिडियो एक्सरे वा सिटि स्क्यान केहि नगराई दुखाई कम गर्ने औषधी दिएर पठाउने डाक्टर साबले संबेदनशील भएर नजांचेको वा नजानेको महशुस गरी बिरामीका आफन्तले सुबिधा सम्पन्न अस्पतालमा लागी पिसिआर टेष्ट समेत गराउदै उपचार गराउँदा निको हँुदै पुनर्जीवन पाउन सफल भएका छन् । तर, कतिपय स्थानीय प्राईभेट तथा सरकारी अस्पतालमा पिसिआर रिपोर्ट नआउन्जेल उपचार नगरीदिंदा बिरामीको ज्यान गयो भन्ने बिरामीका आफन्तको गुनासो आईरहेको अवस्थामा समसामयिक परिस्थिति बुझिरहेको बिरामीले आफुमा कोभिड–१९ को लक्षण छैन तर, उपचार बिना आईसोलेसनमा रहँदा संक्रमितबाट आफुमा संक्रमण हुनसक्ने शंकाको कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अनुमान गर्दै उपचार गराउन नचाहदा उ सिकिस्त भैसक्छ । सिकिस्त अवस्थाको बिरामी बचाउन सकिन्छ कि भन्ने आशाले आफन्तबाट हतार हतार गाडिमा राखेर अस्पतालहरुमा पुयाईन्छ । तर, कोभिड–१९ को पिसिआर रिपोर्ट बिना सिकिस्त बिरामी उपचार नगर्ने स्वास्थ संस्थाबाट जानकारी लिंदै डुलाउदै गर्दा बिरामी परलोक पुगि सक्छ ।

पिसिआर रिपोर्ट बिना उपचार नगर्ने अस्पतालका आफ्नै कारण हुन सक्छन्, तर गरिब वा बिकट स्थानबाट तत्काल पिसिआर टेष्ट गराएर रिपोर्ट लिने सम्भावना पनि छैन । आर्थिक रुपले सम्पन्न तथा पदीय हैसियत वा सम्पर्कमा रहेका व्यक्ति बाहेक निरिह सर्वसाधारण आफै छटपटिनु पर्ने दयनिय अवस्था प्रति संबेदनशिल हुनुपर्ने देखिन्छ । लक्षण सहित वा लक्षण बिना उपचारमा आउने, होमक्वारेन्टिन, आइसोलेसनदेखि हस्पिटलका आइसोलेसनसम्म रहेका बिरामीलाई आवश्यक परामर्शका साथ सावधानी पुर्वक उपचार गर्दै पिसिआर टेष्ट गर्नुका साथै बिरामीका आफन्तसंग समन्वय गर्न सकेमा बिरामीमा आत्मबल बढ्नुका साथै स्वास्थ संस्था र स्वास्थकर्मी उपर भरोसा गर्न सक्छन् भने नियमित उपचारमा रहने जिम्मेवार चिकित्सक वा स्वास्थकर्मीले बिरामीका आफन्तलाई आस्वस्थ पार्न सकेमा शंकाको स्थिति रहंदैन । त्यसै गरी स्वास्थकर्मीलाई उपचारको क्रममा आवश्यक पिपिई, प्रोत्सहान तथा थप सुबिधाको प्रत्याभुतीले सकारात्मक प्रभाव पार्छ । तर, कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिए वापत प्रोत्साहन रकमका लागि आन्दोलन गर्दै, जिम्मेवारीबाट पन्छिंदै गरेका घटनाले कहिकतै कसैको गैर जिम्मेवारीपन मुख्य कारक हुन सक्छ ।

यसर्थ, मानबीय संबेदनाको आवश्यकता पर्ने बिपत्तीका बेला संबेदना हराउदै जान दिनु हुदैन र गैर जिम्मेवारीपना बढ्न पनि दिन नहुनुमा सर्व साधारण, सरोकारवाला तथा जनप्रतिनिधी लगायत सबै सचेत हुनु जरुरी छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here