काठमाडौं, २८ कार्तिक । साउदी अरबको कुरैयात जेलमा रहेका सन्तबहादुर पुन पछिल्लो पाँच महिनादेखि दूतावासको सम्पर्कमा आएनन् । नियमित सम्पर्कमा आइराख्ने उनी बेखबर बनेपछि दूतावास झस्कियो, कतै उनीमाथि २० वर्षअघि सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन त भएन ?

उनको अवस्था बुझ्न गत बुधबार राजधानी रियादबाट दूतावासका कन्सुलर भरत खनाल कुरैयात जेलमा पुगे । यो जेल रियादबाट १२ सय किमि टाढा पर्छ । जेल प्रशासनसँग भेट भएपछि बल्ल ढुक्क भए उनी, सन्तबहादुरको अवस्था ठीक छ । यही खुसीको खबर उनले राजदूत महेन्द्रसिंह राजपुतलाई सुनाए । राजपुत यतिबेला स्थानीय गभर्नरसँग भेटका लागि पुनः समय मिलाउने तरखरमा लागेका छन् । ‘उनी पहिला जस्तो खुसी देखिँदैनन् । पहिला बिन्दास थिए,’ कन्सुलर खनालले भने, ‘मलाई पनि चिनेनन् ।’ खनालसँग उनको यो तेस्रो भेट थियो । जेलमा इन्टरनेट हटाइदिएपछि सन्तबहादुरको परिवारसँग पनि सम्पर्क टुटेको रहेछ । पहिले इमोमार्फत उनले घण्टौंसम्म परिवारसँग संवाद गर्थे ।

म्याग्दीका सन्तबहादुर २४ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । मजरामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक हज गर्न मक्का गए । उनी हजबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो । भेडा चराउने पहाड मजराबाट टाढै थियो ।

ओदह अइद हमोउद अल सरारी नाम गरेको एउटा साउदी बारम्बार भेडा माग्न आउन थाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर जबर्जस्ती गर्न खोज्यो । उनले एउटा बिरामी भेडा दिएर पठाए ।

त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो । ‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मार्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । हप्कीदप्की गरेर उनले सन्तबहादुरलाई पिट्नै खोजे । ‘ऊ मलाई मार्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको चक्कु चलाएँ, उसको पेटभित्र छिरेछ,’ सन्तबहादुरले घटना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मलाई पनि फाँसी हुन्छ भनेर त्यतिखेरै आफूलाई पनि चक्कु हानें । मलाई घाइते अवस्थामा प्रहरीले फेला पारेर अस्पताल पुर्‍यायो ।’

उनले प्रहरीसमक्ष नढाँटी घटना विवरण सबै बताइदिए । सन्तबहादुरले सप्रमाण आफू दोषी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजरबन्दमा राखियो । कसैसँग बोल्न र भेट्न दिइएन । कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनायो ।

मृतकका तीन छोरा थिए । त्यतिखेर कान्छा छोरा ५ वर्षका थिए । उनी १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्ड कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जेलमै बस्नुपर्ने भयो । मृत्युदण्डको फैसला पाएपछि उनलाई कुरैयात जेलमा सारियो । ‘यो अपराधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जेलभित्रैबाट गत फागुनमा कान्तिपुरसँग भनेका थिए, ‘यही घरभित्र बाँच्न सिकें ।’

जेल निकै ठूलो छ । उनी ३ नम्बर भवनमा बस्थे । त्यो भवनमा झन्डै २ सय कैदी कहिल्यै घट्दैनन् । ‘हत्यामा मृत्युदण्ड पाएकालाई फाँसी दिन समय लाग्दो रहेछ,’ उनले भने, ‘लागूऔषध मुद्दाकालाई त तुरुन्तै फाँसी दिन्छ । यस्तो सजाय हरेक मंगलबार कार्यान्वयन हुन्छ ।’ सन्तबहादुरको जीवनमा मंगलबारे खड्गो भने टरिरहेको छ । मृतकका माइलो छोरा फाहदले जेलमै भेटेर माफी दिने वचन दिए । फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) हुन् । जेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए ।

जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए । पीडितले मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत पनि माफीको प्रयास गरे तर सम्भव भएन ।

केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई माफी दिन राजी छन् । तर, मृत्युदण्ड वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएको छैन ।

साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । कमिटीले ७ अक्टोबर २०१८ मा कुरैयातको जेलबाट फैसलाको प्रति मगायो । कमिटीले बोलाएर छलफल गर्दा पनि पीडित पक्ष सहमत भएनन् । परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए माफी दिन मिल्दैन । फैसलालाई कार्यान्वयन गराउनका लागि परिवारले दबाब दिएपछि जेठो छोरा फाहदले अदालतलाई पत्र लेख्दै फैसलालाई कार्यान्वयन गराउन पत्र दिइसकेका छन् । अदालतले फैसला कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ । दूतावासले गरेका सबै प्रयास सफल भएका छैनन् ।

सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप राष्ट्रपति विद्यादेवी भण्डारीले डेढ वर्षअघि नै साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी थिइन् । राजदूत राजपुतले खासगरी पीडित परिवारको कान्छो छोरा सहमतिमा आउनेबित्तिकै समस्याको समाधान हुने बताए । ‘२० वर्षभन्दा बढी जेल बसिसकेको छ । अब यसलाई मानवीय हिसाबले पनि हेरिदिनुपर्छ भनेर त्यस क्षेत्रको गभर्नरलाई भनेको छु,’ राजदूत राजपुतले भने, ‘यो कानुनी हिसाबले सल्टिँदैन । गभर्नरलाई आफ्नो पद र व्यक्तित्वबाट परिवारलाई प्रभावित बनाउन सके भने मात्रै फाँसी रोकिन सक्छ ।’ फाँसीबाट जोगाउन दूतावासबाट भने अनेक सूत्रहरू प्रयोग भइरहेको उनले बताए ।

पीडित परिवारले माफी नदिएसम्म अन्य कुनै उपायबाट बच्न सम्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहलकदमी नलिन भनेका थिए । सानोमै छाडेर हिँडेकाले छोराहरूलाई सन्तबहादुरको अनुहारको खास याद छैन । उनका शिव, खड्ग र मीनबहादुर गरी तीन छोरा छन् । शिव शारीरिक रूपमा अशक्त छन् ।

सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै सलाह (प्रार्थना) गर्छन् । कुरानको पाठ पढ्छन् । जेल छिरेलगत्तै उनलाई इस्लाम धर्म कबुल गराइएको थियो । ‘इस्लाम धर्म कबुल गरेमा मलाई माफी मिल्छ भनेर ओदहकै जेठो छोराले भन्यो । उसले इस्लाम धर्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले माफी दिन्छु भनेको थियो । तर लिखित दिएको थिएन ।’ सलाहपछि दिउँसो १२ बजेसम्म सरसफाइ गर्छन् । जेलमा बस्ने साउदीको लुगा धोइदिन्छन् । त्यसबाट आउने पैसा घरमा पठाउँछन् । अहिले भने पहिलाजसरी जेलभित्र काम गर्न सकेका छैनन् ।

‘उमेर पनि बूढो हुँदै गएको देखें । परिवार नै पाल्नका लागि मरिमेटे जस्तो लागेन,’ कन्सुलर खनालले भने । लामो समय जेल बसिसकेपछि माफी पाएर छुट्ने हुन् कि भन्ने आशा पत्नी मायालाई पनि छ । ‘परदेशी श्रीमान् तपाईं जेलबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निकाल्छ कि ? कसो हो ? कति सालको जेल दिएको हो ? हामीलाई थाहा नै दिएन,’ मायाले पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ?’

सन्तबहादुरलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुने थिएँ,’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ ।’ कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here