काठमाडौं, १६ असोज । बेलायतस्थित हडर्सफिल्ड विश्वविद्यालयमा चार वर्षको भिसा लाग्ने लोभमा चितवनकी एलिना (नाम परिवर्तन) ले फाउन्डेसन इन बिजनेस म्यानेजमेन्ट एन्ड ल कोर्समा आवेदन दिइन् । राइट पाथ करिअर काउन्सिलिङको चाँजोपाँजोमा विश्वविद्यालयकै मानिस काठमाडौं गएर अफर लेटर थमाएपछि उनी थप विश्वस्त भएकी थिइन् ।

पहिलो पटकको विदेश यात्राको प्रक्रिया । भिसा कति समयमा आउँछ, त्यसमा समेत अनभिज्ञ थिइन् उनी । आवेदन दिएको केही समयपछि भिसा त आयो तर सात महिनाको मात्र । तर, विश्वविद्यालयको शुल्क १३ हजार ५ सय पाउन्ड (करिब २० लाख रुपैयाँ) र अन्य ५ लाखभन्दा बढी खर्च भइसकेको थियो ।

कन्सल्टेन्सीले फाउन्डेसन कोर्स सजिलो छ, सकेपछि बेलायतमै तीन वर्षको भिसा बढ्छ भनेपछि उनले विश्वास गरिन् । गत जनवरीमा बेलायत आएकी उनी हडर्सफिल्ड पुगेपछि मात्र थाहा भयो त्यो लन्डनबाट करिब १९० माइल टाढा रहेको । ‘सुरुमा कन्सल्टेन्सीले विश्वविद्यालयबाट लन्डन, म्यानचेस्टर र लिड्स नजिक छ । कामको चिन्ता लिनु पर्दैन भनेर झुक्यायो,’ उनले गुनासो गरिन्, ‘यहाँ आएपछि त काम पनि पाइएन । लकडाउनले पढाइ पनि अनलाइन मात्र सीमित भयो ।’

तर हाल भने उनको प्रमुख समस्या बेरोजगारी मात्र होइन । विश्वविद्यालयले परीक्षामा अनुत्तीर्ण भएको भन्दै घर फर्कन ताकेता गरेपछि उनी घर न घाट भएकी छन् । केही मोडुलमा दोस्रोपटक फेल भएपछि विश्वविद्यालयले घर फर्कन भनेको उनले बताइन् ।

उनको भिसा आउँदो अक्टोबर ७ मा सकिने भएकाले अब नयाँ विश्वविद्यालयले भर्ना लिने सम्भावना ज्यादै न्यून छ । यदि कुनै विश्वविद्यालयले भर्ना लिइहाले पनि थप २० लाख रुपैयाँ जुटाउन ठूलो सकस छ ।

‘महामारीले पढ्ने वातावरण पनि भएन । अहिले न पैसा, न पढाइ भयो । यत्तिकै कुन मुख लिएर नेपाल फर्कनु ?’ उनले दुःखेसो पोखिन्, ‘अनलाइन पढाइयो भनेर विश्वविद्यालयले पैसा ‘रिफन्ड’ पनि गरेन । भिसा बढाउन ‘कन्फरमेसन अफ एसेप्टेन्स फर स्टडिज’ (कास) लेटर पनि दिएन ।’

११ हजार ८ सय पाउन्ड तिरेर फाउन्डेसन इन बिजनेस म्यानेजमेन्ट एन्ड ल कोर्समै आठ महिनाको भिजासहित फेब्रुअरीमा बेलायत आएका काठमाडौंका अनिल (नाम परिवर्तन) को पीडा पनि समान छ । एउटा मात्र ‘मोडुल’ फेल भए पनि विश्वविद्यालयले आफ्नो घर फर्कनुको विकल्प नभएको बताएको उनले गुनासो गरे । विश्वविद्यालयका हरेक निकायमा आफूहरूले अन्तिम मौका दिन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

राइट पाथ कन्सल्टेन्सीले पहिलो वर्षको कोर्स सजिलो हुन्छ, त्यसपछि बेलायतमै तीन वर्ष भिसा थप्ने भनेपछि ढुक्क भएका उनले यस्तो स्थिति आउला भन्ने कल्पना नै गरेका थिएनन् । तर कोभिड–१९ का कारण अनलाइन पढाइमा फोकस हुन नसक्दा उनी फेल भए । विश्वविद्यालयले फेरि लिन अस्वीकार गरेको छ । अक्टोबर ७ मा उनको भिसा सकिँदै छ, थपिने सम्भावना भने नभएको उनले बताए ।

‘अर्को विश्वविद्यालय पाए पनि घरबाट पैसा झिकाउन सक्ने स्थिति छैन । नेपाल नै फर्कौं भने पनि हवाई भाडा करिब ३ लाख रुपैयाँ रहेछ,’ उनको दुःखेसो छ ।

२२ वर्षीय विशाल श्रेष्ठ (नाम परिवर्तन) ले पनि करिब १२ हजार पाउन्ड विश्वविद्यालयलाई तिरेका थिए । तर, आठ महिनाको भिसा पाए । कन्सल्टेन्सीले फाउन्डेसन कोर्स पास भएपछि चारवर्षे भिसा आउने प्रतिबद्धता जनाएको उनको भनाइ छ । फेब्रुअरी १० मा आएका उनी सातमध्ये एउटा मोडुलमा मात्र फेल भए । ‘पहिलो सेमेस्टरमा क्लास लिन पाएर सबै पास भएको थिएँ । तर, दोस्रो सेमेस्टर अनलाइन मात्र भएकाले केही बुझिन अनि फेल भएँ,’ उनले भने, ‘विश्वविद्यालयको इन्टरनेसनल स्टडी सेन्टरमा आफ्नो समस्या सुनाउँदा हामी लिन सक्दैनौं भन्छ । अक्टोबर ७ मा भिसा सकिँदै छ ।’

उनले नेपाल फर्कन हवाई भाडासमेत नभएको बताए । ‘१० घण्टामात्र काम गर्न पाउने अधिकार थियो तर कामै पाइनँ । खानबस्न धौधौ छ । ऋण गरेर आएको कसरी तिर्ने ?’ उनको गुनासो छ ।

राइट पाथमार्फत आएका उक्त विश्वविद्यालयमा अध्ययनरत करिब एक सय विद्यार्थीमध्ये झन्डै तीन दर्जन विद्यार्थी अनुत्तीर्ण भएका कारण नेपाल फर्कनुपर्ने बाध्यतामा छन् । तीन वर्षको भिसा हुने पनि फेल भएर फर्कनुपर्ने अवस्थामा रहेको विद्यार्थीको गुनासो छ ।

हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएसट डिन प्राध्यापक डा. पदम सिंखडा नेपाली विद्यार्थीका समस्या फाट्टफुट्ट सुनेको तर आधिकारिक खबर नआएको बताउँछन् । अन्तर्राष्ट्रिय विद्यार्थीका समस्या र व्यवस्थापनसमेत हेर्ने उनले कति नेपाली विद्यार्थी समस्यामा परेका हुन्, कुन कुन विषयमा कहिले फेल भएका हुन् सबै विवरण थाहा भए उपकुलपतिसँग कुरा गरेर समाधानको पहल गर्न सकिने बताउँछन् ।

धेरै विश्वविद्यालयले कोभिड–१९ का कारण अनलाइन कक्षा सञ्चालन गरेकाले प्रणाली नबुझ्ने विद्यार्थी अनुत्तीर्ण भएको उनले बताए । ‘जनवरी, फेब्रुअरीमा विद्यार्थी विश्वविद्यालय आए तर मार्चबाट लकडाउन भयो,’ उनले भने, ‘कोभिड त्रास, जागिर नहुनुको पीडा अनि पर्याप्त अध्ययन नहुँदा विद्यार्थी फेल भएका पाइएको छ ।’

विश्वविद्यालयसँग विद्यार्थी फेल भएपछि निष्कासनको अधिकार रहने बताउँदै डा. सिंखडाले ती विद्यार्थीबारे गृह मन्त्रालयलाई भने अवगत गराउनुपर्ने बताउँछन् । विश्वविद्यालयकी भिसा सपोर्ट एड्भाइजर लुना हसनले फेल भएका विद्यार्थीलाई आफूले केही गर्न नसक्ने बताएकी छन् ।

लन्डनस्थित सोलिसिटर राजु थापा अध्ययन भनेर बेलायत आउने तर पढाइभन्दा काममा बढी केन्द्रित हुने विद्यार्थीको भविष्य यहाँ नभएको बताउँछन् । ‘बेलायतको गृह मन्त्रालय (होम अफिस) पनि त्यस्ता विद्यार्थीप्रति अनुदार छ,’ उनले भने ।

बेलायती विश्वविद्यालय पढ्ने विद्यार्थीको एक शैक्षिक परामर्शदाता एम्पल इन्टरनेसनल एजुकेसनका सञ्चालक प्रमोद अधिकारीले आफूकहाँ करिब ७ जना विद्यार्थी आइपुगेको बताए । ‘विद्यार्थीको हाजिरी, शैक्षिक प्रगति, अंग्रेजी परीक्षाको सर्टिफिकेट र शुल्क भुक्तानी विश्वविद्यालयका आवश्यकता हुन् । त्यो नहुँदा उनीहरूले विद्यार्थीलाई हटाउन सक्छन्,’ अधिकारीले भने, ‘म सकेसम्म विद्यार्थीको उद्धारमा लागेको छु ।’

राइट पाथ करिअर काउन्सिलिङका सञ्चालक फिलिप डीसी विद्यार्थीले भोगेको समस्यालाई आफ्लूे गम्भीर रूपमा लिइएको बताउँछन् । ‘हामीले तीन वर्षभन्दा बढी समयदेखि विद्यार्थीलाई सही सल्लाह दिँदै आएका छौं र भिसा प्रक्रिया सुरु गर्नुअघि उनीहरूलाई राम्ररी परामर्श दिनु हाम्रो प्राथमिकता छ,’ उनले कान्तिपुरसँग भने । विदेशमा नेपाली विद्यार्थीले पाएको समस्या अन्त्यका लागि आफू सधैं तत्पर रहेको डीसीको भनाइ छ । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here