सम्पादकीय
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा अवस्थित ऐतिहासिक भीमादरबार हरेक वर्ष पहिरोको चपेटामा पर्ने गरेको छ । बाईसे चौविसे राज्यकालिन समयमा निर्माण भएको ऐतिहासिक दरबारको कहिले पूर्वपट्टी, कहिले दक्षिण भाग पहिरोको शिकार बन्ने गरेको छ । ऐतिहासिक महत्वको दरबारको उचित संरक्षण र रेखदेर अभावमा भत्कने, पुराना खजना तथा ऐतिहासिक कलाकृति लोप हुँदै जानु दुःखद पक्ष हो । छानो विहिन दरबारमा यस वर्ष पनि निरन्तरको बर्षाको कारण पूर्व पट्टीको करिव ८ मिटर भित्रि भागमा पहिरो छ । तत्कालिन राजा परिवारले पूजा अर्जना तथा बलिदिने ठाउँ पहिराले भत्काएको छ ।

नेपाल एकीकरण हुनुपूर्व बाइसे चोविसे राज्य मध्ये भीमापोखरा राज्य पनि एक थियो । भीमापोखरा राज्यका राजा बस्ने दरबारको भग्नाबसेषको संरक्षण र प्रवद्र्धन नहुँदा कयौँ संरचना हराएर गएका छन् । दरबारमा राजाकालिन ऐतिहासिक हतियार, मूर्ति लोप भएका छन् । खुला रुपमा रहेको दरबारबाट ऐतहासिक सामग्री हराउनु स्वभाविक भए पनि दरबारकै संरचना समेत संकटमा पर्नु दुःखद हो । पर्यटकीय र ऐतिहासिक अध्ययन गर्नका लागि महत्वपूर्ण बन्न सक्छ । भीमापोखराको भीमारानी दरबारको संरक्षण र प्रचारप्रसार गर्ने सकेमा यो दरबारको संरक्षण र यसको इतिहास खोजी गर्न सकेमा धेरै आकर्षणको केन्द्र बन्न छ ।

विस १८१५ मा तत्कालिन प्रतापी मल्ले बमका छोरा चौविसे राजामध्येका रद्युनारायण मल्ल र उहाँकी रानी भीमाले राज्य गरेको इतिहास छ । भीमा रानीकै सम्झानामा अहिले पनि यो ठाउँ भीमापाखोराको नामले परिचित छ । हाल पूर्णदरबार नभए पनि पर्खालसहितका भग्नावशेष बाँकी रहेको दरबारमा भएका इट्टा झिकी इशान्य दिशाको भवानी थान, र कचहरी घर बनाईएको थियो । हाल भगवती थान साविकको स्थानबाट ५० मिटरमाथि निर्माण गरिएको छ भने कचहरी घर भत्काएर स्वास्थ्य चौकी भवन निर्माण गरियो । यसको अर्थ सामाजिक कामै लागि भए पनि दरबारको अस्तित्व संकटमा पर्दै गएको छ । दरबारलाई उचित संरक्षण गरी अध्ययन तथा अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न आवश्यक छ । ऐतिहासिक अध्ययन र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्ने अवस्थालाई स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिन सके सो क्षेत्रको पर्यटकीय विकास हुने थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here