काठमाडौं, १६ भदौ ।
पाँच वर्ष भयो, ओलम्पिक लियोन आफ्नो स्थितिमा सुदृढ रहेको छ । प्रतिद्वन्द्वीहरू उसको छेउ पनि पुग्न सकेका छैनन् । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन, दोस्रो हाफमा चलाखीपूर्ण खेल मदतमा लियोन फेरि एकपल्ट महिला फुटबलको युरोपेली च्याम्पियन भएको छ ।

कप्तान वेन्डी रेनार्डले ट्रफी उचालिन् । यो यही ट्रफी थियो, जसलाई रेनार्ड र उनका केही साथीले सातपल्ट उचालिसके । यो आफैंमा कीर्तिमानी प्रदर्शन थियो । रेनार्ड र गोलकिपर सारा बोहड्डीले ११ सिजनमा नवौंपल्ट च्याम्पियन्स लिग फाइनल खेलेका थिए । उल्भसबर्गमाथिको ३–१ फाइनल जितले प्रस्ट पारेको छ, लियोन महिला फुटबलको युरोपेली बादशाह हो । लियोनले उल्भसबर्गलाई नै हराएर २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

लियोन र उल्भसबर्ग पुराना प्रतिद्वन्द्वी हुन् । पछिल्लो पाँच वर्षमा यी दुईले तेस्रो फाइनल खेलेका हुन् । तेस्रो उपाधिको लक्ष्यमा रहेको उल्भसबर्गले २०१३ र २०१४ मा लगातार च्याम्पियन्स लिग जितेको थियो । समग्रमा यी दुईबीच चौथो फाइनल हो ।

लियोनका लागि एगेनी ले सोमर, सकी कुमागाइ र सारा जोर्कले गोल गरे । स्पेनको बिल्बाओस्थित सान सवास्टिनमा भएको खेलपछि यो सिद्ध भएको छ, युरोपेली महिला फुटबलमा यो फ्रान्सेली टिमको एकछत्र राज छ । आइसल्यान्डकी जोर्क गत महिनाबाट उल्भसबर्ग छाडेर लियोन आएकी थिइन् । आफ्नो गोलपछि उनले खुसियाली पनि मनाइनन् ।

तर उनका लागि मज्जाको स्थिति के थियो, जसले उपाधि जितेपछि हुने थियो, च्याम्पियनको पदक । उनका साथीले भने पटक्कै त्यस्तो गरेन, खेल सकिएको ह्वीसल बजेलगत्तै चर्को स्वरमा खुसियाली मनाए । त्यसो त लियोनका लागि उपाधि जित्ने बानी नै परिसकेको छ । योसमेत उपाधि जितेको लगातार पाँच पुगेको छ ।

यस्तो सफलताले दिने खुसी र उमंग उनीहरूका लागि पहिला जस्तो थियो, आइतबार फाइनलको दिन पनि उस्तै रह्यो ।

पहिलो हाफमा लियोन दुई गोलले अगाडि थियो । लगत्तै उल्भसबर्गका लागि एलेक्जान्ड्रा पोपले एक गोल फर्काइन् । यस्तोमा लागिरहेको थियो, जर्मन टिमले फाइनल खेल लम्ब्याउन सक्छ, सम्भवतः टाइब्रेकरसम्म नै । ठीक यही स्थितिमा जोर्कले गोल गरिन् र लियोनको नाममा जित निश्चित गरिन् ।

युरोपेली महिला फुटबलमा लियोनको यस्तो लगातार सफलता दुर्लभ छ । पुरुषतर्फ पनि यस्तो एकछत्र सफलताको प्रदर्शन बिरलै मात्र छ । सन् १९५० तिर रियल म्याड्रिडले यस्तै सफलता चुमेको थियो । त्यतिबेला स्पेनी टिममा अल्फ्रेडो डी स्टेफानो जस्ता खेलाडी थिए । त्यसयता लियोनले रियलको सफलतासँग तुलना गर्न मिल्ने खेल प्रदर्शन गरेको छ ।

खेलपछि लियोनकी कप्तान रेनार्डले भनिन्, ‘लामो समयदेखि हामीसँग एउटै खालको बलियो टिम छ । फेरि हाम्रो क्लबका अध्यक्ष त्यस्ता छन्, जसलाई महिला फुटबल र हामी खेलाडीमा विश्वास छ । उनकै सक्रियतामा यो बलियो टिम बनेको हो ।’

उनले थपिन्, ‘हाम्रो टिममा केही खेलाडी आए र गए पनि । जसले यो क्लबका लागि खेल्ने अवसर पाए, ती सबैमा जित र सफलताको भोक छ । सबैलाई थाहा छ, एक्लै खेलाडीले उपाधि जित्न सक्दैन, यो टिमको मिहिनेत हो । अहिले पनि लियोनमा त्यस्ता खेलाडीको लामो सूची छ, जसले उत्तिकै लामो समयदेखि अब्बल दर्जाको फुटबल खेलिरहेको छ । म १६ वर्षको उमेरमा लियोन आएको थिएँ र अहिलेसम्म लगातार खेलिरहेको छु ।’

लियोन सर्वाधिक सफल
युरोपेली वुमेन्स च्याम्पियन्स लिगको पुरानो नाम हो, यूईएफए वुमेन्स कप । यसमा युरोपेली फुटबल महासंघसँग आबद्ध एफएका शीर्ष महिला टिमले भाग लिने गर्छन् । प्रतियोगिता पहिलोपल्ट सन् २००१–०२ खेलाउन सुरु भएको हो र सन् २००९–१० मा आएर प्रतियोगिताको नाम फेरिएको हो ।

त्यस संस्करणदेखि आएको सबैभन्दा ठूलो परिवर्तन के पनि रह्यो भने युरोपेली महिला फुटबलका शीर्ष आठ देशमा दोस्रो स्थानमा रहेको टिमले खेल्न पाउने भयो । सन् २०१८ देखि महिला च्याम्पियन्स लिगको फाइनल पनि त्यही सहरमा हुने गरेको छ, जसमा पुरुषको फाइनल हुने गर्छ । यो वर्ष भने अपवाद रह्यो, कोरोना भाइरस संक्रमणका महामारीका कारण । पुरुषको फाइनल लिस्बनमा भएको थियो । अनि यो प्रतियोगिताको सबैभन्दा सफल टिम हो, लियोन । कान्तिपुर दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here