
काठमाडौं, १३ भदौ ।
६ वर्षीय बिरामी छाेरालाई विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निकाे नभएपछि बाँकेकी एक महिलाले धामीझाँक्री कहाँ लैजाने विचार गरिन् ।
राति भएकाले छोरासँगै २८ वर्षीया महिलालाई उनले साथी लगिन् । लगेको साथी पनि बिरामी थिइन् । उनीहरू बुधबार रातको १२ बजेतिर पुजारीकहाँ पुगेका थिए ।
पुजारी हुन्, बाबाकुटी मन्दिरका नाजिर मोहम्मद । उक्त मन्दिर जिल्लाकै डुडुवा गाउँपालिका वडा नम्बर-५ मा पर्दछ।
४० वर्षीय मोहम्मदले ३० वर्षीया ती महिलालाई मन्दिर छेउको कुटीमा लगे । त्यहाँ बिरामी बच्चा महिलाको साथमै थिए ।
एकछिन झारफुक गरेजस्ताे गरेर बच्चालाई बाहिर निकाले । महिलालाई पनि झारफुक गर्नुपर्ने पुजारीले भने । त्यसपछि झारफुक गर्ने बहानामा पुजारीबाट महिला बलात्कृत भइन् ।
उनी बाहिरिएपछि अर्को महिलाको झारफुकको पालो आयो । ती महिलालाई पनि झारफुकको बहानामा पुजारीले बलात्कार गरे । देउताले अह्राएको र शारीरिक सम्बन्ध राखे निको हुने भन्दै महिलाहरूलाई बलात्कार गरेर फर्काए ।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले झारफुकको बहानामा बलात्कृत भएको भन्दै महिलाहरूले बिहीबार प्रहरीलाई खबर गरेको बताए ।
खबरलगत्तै इलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट गएको प्रहरी टोलीले बलात्कार आरोप लागेका नाजिरलाई पक्राउ गरेको हो ।
“खबर पाएपछि गएको प्रहरी टोलीले पुजारीलाई पक्रियो र अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्,” डीएसपी खड्काले देखापढीसँग भने । खड्काका अनुसार नाजिरले यसअघिदेखि नै मन्दिरमा आएका बिरामीहरूलाई झारफुक गर्ने गरेको खुलेको छ ।
बलात्कृत भएको भनिएकी महिलाहरूको स्वास्थ्य परीक्षण शुक्रबार भेरी अञ्चल अस्पतालमा गरिएको छ ।
स्वास्थ्य परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेका नाजिरविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।
प्रहरीले बाँके जिल्ला अदालतबाट शुक्रबार अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिएको छ ।










