
टिकाबहादुर कार्की
रंगीबिरंगी कपडाले झकिझकाउ, ठाउँ–ठाउँमा तीजे गीत लगायतका बिबिध कार्यक्रम, गाउँघरका पधेरा, कुवा, तलाउ, नदी किनार, दोभान, त्रवेणी तथा देवालयहरुमा लाग्ने पञ्चमी मेला तथा पुजाआराधना गरेर मानिने हिन्दु धर्मावलम्बी नारीहरुका बेदना र हर्षले मिश्रीत पर्व हरितालिका तीज यसपाली साह्रै खल्लो हुने भो ।
बिशेष गरी महिलाले बिवाहित घरमा भोगेका पिडादायी अनुभवलाई तीजका बेला माईतीमा आउँदा महिलाहरुकै बीचमा गीतको माध्यमबाट बीरह पोखेको देख्दा र सुन्दा बाल्यकालमा म पनि धेरै रोएको थिए । हाम्रा चेलीहरुले यसै गरि बिरह गाथा गाउँदै आएको यो तीजे परम्पराको अहिलेसम्म गुनासो सुनुवाई भएको जस्तो लाग्दैन । औपचारिक रुपमा नारी अधिकारको रक्षार्थ खुलेका एनजीओ, आईएनजीओ लगायतका संघसंस्थाको ध्यानाकर्षण र सरकारी कानुनी कार्वाही नाराबाजी र राजनीतिकरणसंगै अगाडी बढेका छन् । लामो समय पछि दर खुवाउन घरमा लिएर आएकी चेलीले बिबाहित घरमा सासुससुरा, श्रीमान, नन्द, अमाजु, देवर, जेठाजु लगायत सदस्यहरुबाट पाएको दुःखलाई गीत गाएर बिरहको रुपमा पोखेर दुःख बिसाउँथे, अहिले पनि तीजे गीतको परम्परा त्यही हो । तर, पार्टी प्यालेस, नाँचघर, डिस्को लगायतका सुबिधाको कारण खिर, अचार लगायतका मिष्ठान्न भोजनको स्थानमा माछा मासु र मदिराको साथमा सुटिङ भएका भडकिला तीजे गीत तथा नाँच देख्न थालिएको छ ।
द्धितियाको साँझ देखि राती अबेरसम्म टन्न दर (खीर) खाएकी चेलीले तृतीया देखि पञ्चमी सम्म भोकै रहेर ब्रत बस्दै उनै दुःख दिने श्रीमानको सुस्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै पञ्चमीका दिन पुजा आराधना गरेपछी तीज पर्व सकिएको मानिन्छ । यस अबसरमा स्थानीय क्लब लगायतका संघ संस्थाहरुले तीजे गीत तथा बिविध खेलकुद प्रतियोगिता गरेर यो पर्वलाई भव्य रुपमा मान्ने वातावरण बनाउँछन् भने काठमाडौं स्थित हिन्दुहरुका महान देवता आराध्यदेवता पशुपतीनाथ मन्दिर तथा देशभरी रहेका शिवालय मन्दिरहरुमा ब्रतालु नारी तथा दर्शनार्थी पुरुषहरुको भिड सुरक्षाकर्मीका लागि थामी नसक्नु हुन्थ्यो ।
गत डिसेम्बर अन्तिमदेखि देखा परेको कोरोना भाईरस महामारीको कारण अत्यावश्यक काममा पिपिई, सेनिटाइजर, पन्जा लगाएर मात्र मानिसहरु एक अर्कादेखि कम्तीमा २ मिटरको दुरी कायम राखेर बस्न तथा हिड्नु पर्ने, भेला जम्मा तथा कुनै कार्यक्रम संचालन गर्न नपाईने बाध्यात्मक अवस्थाले गर्दा दर खुवाउन चेलीलाई घरमा बोलाउन सकिने अवस्था छैन । बर्ष भरीका बिरहका अनुभवहरु आशुसंगै पिउन बाध्य हुने भए हाम्रा चेलीहरु । बुहारी माथी शासन गर्न बानी परेका सासुससुरा लगायत घरवालाका बुहार्तन व्यहोर्न बाध्य चेलीहरुमा हाम्रा छोरी पनि पर्छन भन्ने कुरामा अझै सचेत छैनन् घरवालाहरु । २५ साउन २०७७ का दिन जननिगरानी साप्ताहिक पत्रिकामा प्रकाशित मेरो लेख– ‘जेनेरेसन ग्याप र कोरोना पछिको ग्याप जेनेरेसन’ यस्तै संस्कारका कारण सृजित सामाग्री हो ।
ग्लोबलाईजेसनको फेजमा रहेको मानव समाजमा एक अर्कालाई नबुझ्ने, असहयोगी तथा व्यक्तिगत स्वार्थ केन्द्रीत सोचमा आधारीत संकीर्ण सोंचले प्रभावित जेनेरेसन ग्यापलाई नहटाएसम्म नारीलाई बीरह गाथा गाउन बाध्य पारिएको तीजको रहर कालान्तरमा परम्परा धान्नकै लागि बिभेदको रुपमा हाम्रा चेलीहरुले भोग्नु र सुन्नु परिरहने छ । बुहार्तन व्यहोरेका वा सुने जानेका सासु तथा नन्द अमाजुहरु प्रतिशोधको रुपमा बुहारीलाई बदला लिने माध्यम बनाउँछन् भन्ने हालसम्मको बुझाइ रहेको छ । भोली तीनै बुहारी, निजले संरक्षण गरेको न्यानो पारिवारिक वातावरण आफैलाई पानी पिलाउने, सेवा गर्ने तथा बैतरणी गर्ने आधिकारीक सदस्य हनेछीन कुरा जानी जानी गल्ती गरिरहेका छन् । कोरोनाले दुनियाँमा लाखौ मानिसको ज्यान लियो, करोडौ संक्रमित भैरहेका छन् । भोली कसको के ठेगान छ र ? दुनियाँ सहयोगी हात लिएर हिडिरहेको छ, हाम्रो घर तथा समाजमा सहयोगी हात कसरी भांच्ने भन्ने अपराधिक मनसाय त्यागेर आफ्नो परिवार तथा समाज भित्रै सुन्दर तथा सौहार्दपुर्ण वातावरण सृजना गर्न प्रेरित गरौं । अब कोरोना उन्मुलन पछिको तीज बीरहका गाथा गाउने शोकसभा नभएर सौहार्दपुर्ण वातावरणमा हर्षोल्लासका साथ मनाउने वातावरण सृजना गरौं ।










