नेकपाद्वारा निसीखोला–७ राजकुतको वडा कार्यालयमा तालाबन्दी

बागलुङ, २१ साउन ।
निसीखोला गाउँपालिका–७ राजकुतको वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिले तालाबन्दी गरेको छ ।

नेकपाले वडाअध्यक्षले बर्खाको समयमा २ दिनको समय दिई बुद्धबुद्धा, अपाङ्गलाई ढोरपाटन नगरपालिकामा रहेको प्रभु बैंक र आफ्नो घरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै वडा कार्यालयबाटै वितरण गर्नुपर्ने भन्दै तालाबन्दी गरेको छ ।

नेकपा वडा कमिटि अध्यक्ष खुमानसिंह थापाले पहिले वडाबाटै वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि बैंकबाटै बुझ्नुपर्ने भन्दै वडाले विज्ञप्ती निकालेकोले बर्खाको समयमा बृद्धबृद्धा, अपाङ्गहरुलाई समस्या सिर्जना गरेकोले तालाबन्दी गरेको बताउनुभयो । ‘पहिले सवारी साधनमा बुर्तिबाङ पुग्न चार, पाँच घण्टा लाग्थ्यो’ नेकपा वडा कमिति अध्यक्ष थापाले भन्नुभयो–‘अहिले धेरै ठाउँमा बाढिपहिरो गएकोले सवारी साधनहरु नचलेको र बृद्ध र अपाङ्गहरुलाई हिडेर जान धेरै समस्या छ । यस्तो बेला वडाबाटै सेवा दिनुपर्नेमा वडाले सामाजिक सुरक्षा निकाल्न २ दिनको समय तोकेको छ त्यसैले ताला लगाएको हौं ।’

अध्यक्ष थापाले पहिले वडाबाटै भत्ता वितरण हुँदा समेत फोटो कपि गरेको समेत रकम संकलन गर्ने गरेको र वडाअध्यक्षको बुर्तिबाङमा घर भएकोले वडामा कहिलेकाहि आउने गरेको आरोप लगाउनुभयो । ‘अध्यक्षको काम परेमा चार, पाँच महिनामा गाउँ आउनुहुन्छ नत्र सधै बुर्तिबाङमै बस्नुहुन्छ,’ खबरवेसँग टेलिफोनमा कुरा गर्दै वडा कमिटि अध्यक्ष थापाले भन्नुभयो–‘वडा सचिव नभएको र वडा अध्यक्ष पनि गाउँमा नआउने गरेकोले कार्यालय सहयोगीले दैनिक रुपमा कार्यालय नखोल्दा सेवाप्रवाहमा समस्या भएको छ ।’ नेकपाले गाउँपालिकालाई वडाअध्यक्ष गाउँमा नबस्दा सेवा लिनको लागि समस्या भएको गुनासो गरेपनि पालिकाबाट कुनै सुनवाई नभएको बताएको छ ।

यता, वडाअध्यक्ष तेजेन्द्र विक्रम कुँवरले नेकपाले लगाएको सवै आरोप भ्रामक र निन्दनीय भएको बताउनुभयो । खबरवे अनलाईनसँग टेलिफोन सम्पर्कमा कुरा गर्दै वडाअध्यक्ष कुँवरले वडा कार्यालयले २ दिनको समय तोकेर सामाजिक सुरक्षाभत्ता निकाल्न नभएको र आफ्नो घरबाट पनि नबाढेको बताउनुभयो ।

उहाँले आफु वडाअध्यक्षमा निर्वाचित भएपछि व्यक्तगत खर्चमा चौमासिक रुपमा बैंकका कर्मचारीलाई गाउँमै लगेर भत्ता वितरण गर्दै आएपनि अहिले बर्खाको समय भएकोले गाडी जान नसक्ने र सुरक्षाको प्रत्याभुति नभएकोले बैंकका कर्मचारी जान नमानेपछि बैंकबाटै वितरण गरिएको बताउनुभयो । ‘सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत बाँड्ने निर्णय गरेको छ,’वडाअध्यक्ष कुँवरले भन्नुभयो–‘पहिले एक महिना गाउँपालिकाले सवारी साधन उपलब्ध गराएको थियो त्यसबाहेक सवै चौमासिकमा आफ्नै व्यक्तिगत खर्चमा सवारी साधन, खाजा र खाना खर्च व्यहोरेर बैंकका कर्मचारीलाई वडामै लगेर भत्ता वितरण गर्ने गरेको थिए । तर यस अहिले बर्खाको समयमा बैंकका कर्मचारी जान नमानेपछि बैंकबाटै लैजान भनिएको हो २ दिनको समय तोकिएको छैन ।’ उहाँले अहिले भत्ता निकाल्न नसके पनि बैंकमा रहेको आफ्नो खातामा हुने भएकाले जहिले निकाल्न पनि सकिने बताउनुभयो ।

वडाअध्यक्षको घरबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेको भन्ने आरोपमा कुँवरले बैंकले कसैको घरबाट बाड्न नदिने र त्यो सवै आरोप मात्र भएको बताउनुभयो । ‘बैंकले कुनै व्यक्तिलाई वितरण गर्नको लागि रकम उपलब्ध गराउँदै मेरो मानहानी गर्नको लागि त्यस्तो आरोप लगाइएको हो’ वडाअध्यक्ष कुँवरले भन्नुभयो । उहाँले वडामा सचिव नभएको कारण सिफारिसहरु पनि वडाअध्यक्षले बनाइदिनुपर्ने र कार्यक्रम, बैठकहरुमा पनि जानुपर्ने भएकाले दैनिक वडाकार्यालयमा उपलब्ध हुन नसकेको बताउनुभयो ।

वडाअध्यक्ष कुँवरले आफ्नो घर बुर्तिबाङमा भएपनि धेरै जसो वडामै जाने गरेको बताउनुभयो । ‘बुर्तिबाङमा मालपोत, नापी, इलाका प्रहरी, इलाका प्रशासन लगायतका सरकारी कार्यालयहरु रहेकोले जनताहरुले सवै काम गर्न गाउँपालिका भन्दा बुर्तिबाङ आउनुपर्ने हुन्छ,’ वडाअध्यक्ष कुँवरले भन्नुभयो–‘म बुर्तिबाङमा हुँदा पनि वडाबासीहरुलाई नै सहज रुपमा सेवा दिइरहेको हुन्छु । केहि सिफारिस विग्रिएमा वडा पुग्न समय लाग्नेमा म बुर्तिबाङ हुँदा तत्कालन हुने गरेको छ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here