
दिल शिरीष
कोरोना संकट सकस कहाली लाग्दो बन्दैछ । ७० दिन भन्दा बढिको लकडाउन खुकुलो त हुँदैछ । तर, मानिसका दुःख, पीडा र बेदनाको लहर लम्बिदो क्रममा छ । बिभिन्न व्यक्ति, पेशा, व्यवसायमा लागेकाहरुलाई वर्तमान संकटले कति बर्ष पछाडी धकेलिसक्यो ? र अझै कति बर्ष पछि पु¥याउने हो ? त्यो अनिश्चयको भुमरीमा छ । हामी अहिले कामना गरेर सुरक्षा र सचेतता अपनाएर बस्नुको बिकल्पहिन अवस्थामा छौँ । गरिब, मजदुर र विपन्न समुदायको बिचल्ली छ । अहिले त केबल कोरोनाबाट बच्नु र बाँच्नुसँग मात्र मानिसहरुको सरोकार देखिन्छ । राहत होस् या अरु सहयोग । जे लिएर भए पनि दुई छाक टारिरहेका छन् । तर, अब लकडाउन खुले पनि पहिले जस्तो काम या रोजगार पाएनन् भने उनीहरुको अवस्था कस्तो होला ? उनीहरु मात्रै होइन, रोजगार गुमाएर भारतबाट आएका हजारौ नागरिकसहित अरुको रोजिरोटी बिनाको दैनिकी र जिविका कसरी चल्ला ? लाखौ लगानी गरेका उद्योग व्यवसाय कसरी उठ्ला ? यस्ता अनगिन्ती प्रश्न र संशयका बीच कोरोना भयावह बढ्दो छ ।
कोरोना नयाँ भाइरस भएकाले विश्व समुदायका आम नागरिकका लागि अनौठो र आतंकको बिषय भयो नै । नागरिकलाई सही समयमा सही सूचना प्रवाह गर्ने नेपाली पत्रकारका लागि समेत यो नयाँ बिषय र सन्देह थियो । त्यसैले अनेक विपतमा होस् या युद्ध पत्रकारिता या मिसन पत्रकारिता गरेका बर्षौ अनुभव संगालेका पत्रकारहरु पनि कोरोना भाइरस (कोभिड– १९) को रिर्पोटिङमा नयाँ जस्तो हुनुपर्ने अवस्था आयो । हुन त पत्रकार हरेक क्षण र समाचारमा अग्नी परीक्षा दिइरहेको हुन्छ । एक÷दुई समाचार राम्रो लेख्दैमा राम्रो र सही भइरहने भन्ने पत्रकारितामा हुँदैन । कुनै एक समाचार तथ्यहिन या गलत लेख्यो भने उसको करियर र नैतिकतामै गम्भीर प्रश्न उठ्छ । र भविष्य धरापमा पर्न सक्छ । यो दैनिक र पल पलको जोखिमयुक्त पेशा हो । यस्ता दृष्तान्त अनुजा प्रकरणमा होस् या नेपालमै औषधि पत्ता लागेको प्रकरणमा होस् । प्रष्ट देखिदै आएको छ । कोरोना नयाँ रोग भएकाले यसको अनुभवजन्य कमजोरीका बाछिटा मिडिया र मिडियाकर्मीमा पनि देखियो । कोरोनाका सम्बन्धमा प्रयोग गरिएको आरडिटी, पिसिआर, आइसोलेसन, क्वारेन्टिन लगायत शब्दमा अझै पनि अन्यौलता देखिन्छ । अर्को तर्फ संक्रमितको नाम गोप्य या सार्वजनिक लेख्ने देखि अनेक बिषयमा मिडियाकर्मी र मिडियाका बीचमा भिन्न भिन्न मत देखियो । नेपालकै पाँचौ तथा जिल्लाको पहिलो संक्रमित अशुं सापकोटाको बारेमा रिर्पोटिङ हुने बखत ठुलै चर्चा र मतभेदहरु देखिए । अधिक मिडिया र मिडियाकर्मीले उनको गोप्य रहेको नाम र अनुहार सहित न्यूज २४ ले अन्र्तवाता लिएपछि सबैले नाम र तस्बिर प्रयोगमा ल्याए । यद्यपी, आजका दिनसम्म पनि सरकार र अस्पतालले संक्रमितको परिचय गोप्य राख्ने गरेको छ । तर, पछिल्लो समय धेरैले फेसबुकबाट आफै लाइभ गर्नेदेखि परिचय खुलाउने गरेका छन् । स्मरणीय पक्ष यो छ कि अहिले हजारौ संक्रमित हुँदा सामान्य जस्तो लाग्न थालेको कोरोनाका बारेमा शुरुवाति समय ठुलो संशय र सन्त्रास बिद्यमान थियो ।
जहाँ विपत र महामारी हुन्छ । त्यहाँ सबै भन्दा ठुलो अफवाहको खतरा हुन्छ । यसले अप्रिय घटनाको अनिश्चयको भुमरीमा पनि लैजान सक्छ । तर पत्रकारिताको शक्ति यही हो । कि समाजमा संकट र विपत्तिका बेला फैलिएका भ्रम र अफवाह रोकेर तथ्यपरक सूचना दिने कर्म असली पत्रकारिता हो । यस अनुक्रममा बागलुङको पत्रकारिता अभ्यास सन्तोषप्रद रह्यो । कोरोनाको तिव्र भयावह रहेको बखतमा पनि कोही पत्रकार फिल्ड रिर्पोटिङमै उत्रिए भने कैयन पत्रकारले बदलिँदो समय र समाजको बहुआयामिक अर्थ र प्रभाव राख्ने प्रविधि र सामाजिक सञ्जालको यथोचित उपयोग गर्दै रिर्पोटिङ गरे । यसक्रममा राष्ट्रिय मिडियामा काम गर्नेहरुलाई पनि घरबाटै सुरक्षित रिर्पोटिङ गर्न सर्कुलर थियो । तर, समाज प्रतिको दायित्व यहाँका पत्रकारले इमान्दारपूर्वक निर्वाह गरिरहेका छन् । कोरोनाको कठिन समस्या र संकटमा पनि पत्रकार आफ्नो जिम्मेवारीबाट भागेका छैनन्, कत्ति बिचलित भएका छैनन् । तिव्र जोखिमका बीच जिम्मेवारीपूर्वक मैदानमा छन् । यो हाम्रा लागि त गौरवको कुरा हुँदै हो । समाज र देशका लागि पनि सुखद बिषय हो ।
यसलाई कोरोना रिर्पोटिङ र पत्रकारको सशक्त भुमिका र सुखद उपलब्धि मान्नुपर्छ कि धौलागिरी अस्पतालमा पहिलो कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालले भर्ना लिन इन्कार गर्दा प्रहरी प्रशासन समेत निरिह जस्तो बनेको थियो । त्यस समय अस्पतालका प्रमुखलाई प्रहरी प्रमुखले तपाईलाई थुन्छुसम्म भनेर चेतावनी दिनुभएको थियो । यसका बाबजुद पनि गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयको समेत निर्देशन बाझिए पछि यसको पहल र दबाबका लागि पत्रकार र सञ्चार माध्यम गुहार्ने अवस्था र परिस्थिति बन्यो । राति ११ बजे जिल्लाका प्रहरी प्रमुखबाट पत्रकार महासंघको अध्यक्षको हिसावले मलाई संक्रमित भएका बानपा ४ कुँडुलेकी किशोरीलाई भर्ना गर्न नमानेको र भुमिका समन्वय गरिदिन अनुरोध आयो । मैले तत्काल हाम्रो जिल्लाका क्रियाशिल पत्रकारहरु सम्मिलित पत्रकार महासंघको फेसबुक ग्रुपमा घटना, सन्देह र अनुरोधका बिषयमा जानकारी गराए । त्यो रातको समयमा पनि जिल्लाका सबैजसो पत्रकार साथीहरुले अस्पतालका प्रमुख र व्यवस्थापन समिति अध्यक्ष लगायतलाई तिव्र फोन गरेर अस्पतालले संक्रमित भर्ना गर्न नमानेको आशयको समाचार धमाधम आउन थालेपछि अस्पताल राति अवेर संक्रमित युवतिलाई भर्ना गर्न बाध्य बन्यो ।
त्यसपछि रिर्पोटिङको सामान्य अनुक्रम चलिरह्यो । फेरि गण्डकी प्रदेशमा धौलागिरी अस्पतालले दुई बिरामीका लागि साढे १ करोड खर्च र जोखिम भत्ता माग गरेको समाचारले ठुलै चर्चा र बिवाद सिर्जित भयो । समाचारमा उल्लेख भए जस्तो दुई बिरामीको खर्च १ करोड ५३ लाख त थिएन । तर, चैत्र ९ यता असार मसान्त सम्मको १ सय ६९ जनाका लागि १ करोड ५३ लाख जोखिम भत्ता माग गरिएको थियो । सम्प्रेषित समाचार या अन्य बिषयमा पक्ष बिपक्षमा समाजमा बहस हुन सक्छ । तर, सबैले बुझ्नै पर्ने तथ्य के हो भने पत्रकार र पत्रकारिताको कर्म भनेको प्रश्न गर्ने हो । पत्रकारितामा एउटा चर्चित भनाई छ ‘पत्रकारको काम प्रश्न गर्ने हो, पत्रकारले जुन दिन प्रश्न गर्न छोड्छ, त्यो दिनदेखि पत्रकार पत्रकार रहदैन, अरु नै बन्छ ।’ यो समाचारमा पनि केही गम्भीर सवाल जोडिएको थियो । जुन पत्रकार र पत्रकारिताले उठाउन जरुर थियो । धौलागिरी अस्पतालका बिषयमा गण्डकी प्रदेश संसद, मिडिया र सामाजिक सञ्जालमा चलेको डेढ करोड जोखिम भत्ताको बहस चिकित्सक, स्वास्थ्यकर्मीले नपाओस् र पाउनै हुन्न भन्ने हिसावको कसैको मक्सत, आशय छैन र हुनु पनि हुँदैन । सवाल र संशय यति मात्रै उठाइएको छ कि यो संख्या र रकम अग्रभागमा खट्ने भन्दा बढि भयो कि भन्ने छ ।
अर्को कुरा, समाचारले यो देशमा नियम राम्रो भए पनि नियत ठीक नहुँदाको नेपाली समाजको व्यथिति अस्पतालसम्म पनि पुग्यो कि ? या केन्द्र सरकार, प्रदेश सरकारले बनाएका जोखिम भत्ता निर्देशकानै खुकुलो या समस्याग्रस्त छ कि ? या यसरी व्यवस्थापन गर्दा अहिले जुन रफ्तारमा संक्रमित संख्या बढेको छ, त्यो हाम्रो राज्यले थेग्ला ? यो सवाल पनि सँगै उठान भएका छन् । यसकारण हतास मनस्थितिमा यस सवालको सबै तनाव र जवाफ सबै अस्पतालले लिन दिन जरुरी थिएन । जुन जुन पक्षले जति सोच्नु र सच्चिनु÷सच्याउनुपर्ने हो त्यही हिसाबले ग्रहण गर्दा राम्रो हुनेछ । यद्यपी यसमा मन्त्रालयले छानविन थालेको छ ।
समाचार त आउँछन् ? त्यो भन्दा पहिले यो बिचमा सामाजिक सञ्जालमा सूचना आए, आइरहेका छन् । यो पत्रकारका लागि स्रोत त हुँदै हो । तर, त्यो भन्दा बढि अबको चूनौति हो । किनभने पत्रकारले भन्दा पहिल्यै अरुले सूचना थाहा पाउने र त्यो सामाजिक सञ्जालको सशक्त माध्यम फेसबुक, ट्वीटर, युट्युव लगायतका माध्यममा आए पछि सञ्चार माध्यममा प्रकाश प्रसारण हुने अवस्था रह्यो भने त्यो कामयावी हुने छैन । त्यसले पत्रकारिताको सही समयमा सही सूचना दिने धर्म पनि निर्वाह नहुने अवस्था बिद्यमान हुनेछ । यसमै अझ अर्को गम्भीर सवाल के छ भने हामी लेख्ने गरेका समाचारको सत्य तथ्य जाँच गर्ने र कमजोरी भए तत्काल सामाजिक सञ्जाल मार्फत अभिव्यक्त हुने क्रम समेत शुरु भएको छ । पहिले पहिले जस्तो समाचार एकहोरो माध्यम मात्रमा सिमित छैन । प्रविधि र सामाजिक सञ्जालको तिव्र विकाससँगै समाचारमा पाठक र दर्शकले तत्काल प्रतिक्रिया पनि जनाउने अवसर पाएका छन् । यसले पत्रकारलाई अझ बढि सुझबुझपूर्ण हिसाबले जिम्मेवार भएर भुमिका निर्वाह गर्नुपर्ने ठाउँमा पु¥याएको छ । यस किसिमको जननिगरानी पत्रकार र सबै पक्षका लागि जरुरी छ भन्ने बिन्दुमा बहस आएको छ ।
यो आलेख पत्रकारका रुपमा लेख्दै गर्दा पनि पत्रकार महासंघको अध्यक्षका हिसाबले यो प्रसंग पनि जोड्नै पर्ने छ कि कोरोना संकटले मिडिया र मिडियाकर्मी पनि अब ठुलो संकटका बीच गुज्रिने निश्चित छ । यो संकटमा महासंघले पत्रकारको पेशागत र स्वास्थ्य सुरक्षा दुवैलाई गम्भीरताका साथ लिएको छ । फलस्वरुप हालसम्म चार चरणमा स्वास्थ्य सुरक्षा सामग्री (सेनिटाइजर,मास्क, प्रेस ज्याकेट) लगायतका सामग्री बितरण गरेको छ । खाद्य समस्या र संकटमा परेकाहरुलाई राहत स्वरुपमा प्रति पत्रकार सञ्चारकर्मी २५ सय बढिको प्याकेजमा खाद्य सामग्री प्रदान गरिरहेका छौ । मिडियामा आउने संकटलाई ध्यानमा राखेर स्थानीय सरकारहरुलाई कोरोना जागरणसहित मिडिया परिचालन गर्ने गरी बजेट बिनियोजन गर्न समन्वय र सहजिकरण गरेका छौँ । अर्को तर्फ यही संकटमा ठुला मिडिया हाउसले समेत पत्रकारलाई बेतलबी बिदा बस्न निर्देशन दिने, तलब नियमित नदिने, निकाल्ने लगायतका सवालमा पनि महासंघले तत्काल कदम चालेर त्यस्ता गतिविधि केहि हदसम्म रोकेको छ । यद्यपी, यो समस्या भित्र भित्रै नजानिदो रुपमा फैलिदो छ । जिल्ला तहमा भने अहिलेसम्म महासंघमा आधिकारिक गुनासो र उजुरी आएको छैन । महासंघको तर्फबाट मिडिया सञ्चालकलाई महासंघमै बोलाएर तलबको नियमितता र अरु समस्या र संकटमा पनि साथ दिन ध्यानाकर्षण गराएका छाँै ।
र अन्त्यमा, अहिलेको कोरोना भाइरस मानव जीवन कालकै नयाँ विपत्ति, नयाँ समस्या र नयाँ संकटका रुपमा आएको छ । जसका कारण करिब ३ महिना घर भित्रै कैद हुनुपरेको सकस एकातिर छ भने अब विस्तारै घर बाहिर आउँदाको कोरोना जोखिम, यसका कारण निम्तिने तात्कालिक र दीर्घकालिन समस्या अझ कहाली लाग्दो हुने निश्चित छ । यस बेला पत्रकार र पत्रकारिताको भुमिका अझ सशक्त बनाउनुपर्ने दायित्व हुनेछ भने कोरोनाले थिलथिलो बनेका मिडिया हाउसबाट प्रताडित हुनुपर्ने जोखिमबाट कसरी जोगिएर पत्रकारिता कर्म जोगाउने भन्ने सवाललाई पनि हर पत्रकारले संवेदनशिलताका साथ सोच्नुपर्ने देखिएको छ । यो संकट पछि कसरी अघि बढ्ने र महासंघको भुमिका के हुने भन्ने अवश्य पनि पत्रकार महासंघको केन्द्रीय समितिले छिट्टै निर्णय गर्नेछ ।
(लेखक शिरीष पत्रकार महासंघ बागलुङका अध्यक्ष हुनुहुन्छ ।)
यो लेख २०७७ असार ७ गते जननिगरानी साप्ताहिक पत्रिकाको बार्षिकोत्सव विशेषंकमा प्रकाशित भएको छ ।









