
बागलुङ, १५ साउन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा बागलुङका सम्पन्न श्रेष्ठ मनोनित भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले विहिबार बागलुङका श्रेष्ठ सहित ६ जनालाई बोर्ड सदस्यमा मनोनित गरेका हुन् ।
३७ सदस्य बोर्डका लागि पहिलो चरणमा मनोनित हुनेहरुमा खेल बिज्ञ र प्राविधिककको रुपमा रिम रानाभाट र इन्दिरा निरौला नियुक्त भएका छन् । राखेपको अध्यक्षमा मन्त्री वा राज्यमन्त्री राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले रहने व्यवस्था गरेको छ ।
राखेपका पूर्व अधिकृत समेत रहेको चितवन २ का रानाभाट र ओखलढुंगा तलुवा १ की निरौला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टि डोपिङ विज्ञ मध्येबाट मनोनित गरेको मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तीमा उल्लेख छ । निरौला यसअघि पनि राखेप सदस्य थिइन् ।
यस्तै राष्ट्रिय खेल संघको सिफारिसबाट बागलुङको काठेखोला गाउँपालिका–६ विहुँका सम्पन्न श्रेष्ठ सहित काठमाडौं चपलीका अर्जुनबहादुर केसी र चितवन भरपुर १ का सुवास श्रेष्ठ रहेका छन् ।
यस्तै, परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिको रुपमा गोविन्द्र प्रसाद भट्टराईलाई मनोनयन गरेका छन् । उनी उच्च पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुन् ।
सोमबार मन्त्रीपरिषद्को बैठक शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । कोइराला र सिलवालले बुधबार पदभार ग्रहण गरेका थिए ।










