चिकित्स विज्ञानको लागि कोरोना भाइरस (कोभिड–१९) अत्यन्तै नयाँ भाइरस भएकाले यसको उचित उपचार पद्धती र औषधीको विकास भएको छैन् । कोरोना संक्रमण रोकथामको लागि विश्वका अधिकांश देशले लकडाउनलाई नै उपयुक्त विकल्प ठान्दै आफ्ना नागरिकलाई अति आवश्यक काम बाहेक अनावश्यक काममा घर बाहिर निस्कन बन्देज गरे । तर स्वास्थ्य क्षेत्रमा आवद्ध नागरिक लकडाउनमा अझै सक्रिय हुनुपर्ने अवस्था थियो । अझै भनौं डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी संक्रमितको पहिचान तथा उपचारमा अग्रपंक्तिमा रहनुपर्ने अवस्था रह्यो व्यक्तिगत सुरक्षा सामाग्री अभाव हुँदा समेत संक्रमित उपचारमा संलग्न धौलागिरी अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको कारोना उपचार अनुभवः

कोरोना संक्रमित निको हुँदा समाजलाई सुरक्षित बनाए जस्तो लाग्छ
शैलेन्द्र वि.क. पोखरेल
प्रमुख मेडिकल सुपरिटेण्डेन्ट

चीनबाट सुरु भएको कोरोना भाइसर जब विस्तारै संसार भरि नै फैलिँदै गयो । कोरोनाले विश्वभर आकार लिईरहँदा हामीसँग त्यति बेला सुरक्षाका सामाग्रीहरु नै थिएनन । नेपालमा पनि कोरोना फैलिने सम्भावना प्रबल थियो । हामी कोरोनासँग कसरी जुध्ने र यसलाई फैलिन नदिन के गर्ने भन्ने विषयमा छलफल गरेका थियौँ । त्यति नै बेला नेपालको दोस्रो र बागलुङको पहिलो कोरोना संक्रमित फेला पर्नुभयो । एक त सुरक्षा सामाग्रीको अभाव, अर्काे जनमानसमा त्रासको अवस्था, त्यति बेला हामीलाई पनि डर लाग्नु स्वभाविक थियो । त्यति बेला हामीले नै सुरक्षाका सामाग्री बनाएर उपचार सुरुवात ग¥यौँ । त्यसको केही दिनमा अर्काे संक्रमित पनि थपिनुभयो । अरु विरामी निकोपारेर घर पठाउनु भन्दा कोरोना संक्रमित उपचार गरेर निको पार्नुमा कयौ गुणा खुःसी मिल्ने रहेछ ।

अन्य विरामी निको हुँदा विरामी भएको व्यक्ती खुःसी हुन्छ उसको परिवार खुःसी हुन्छ भने कोरोना संक्रमिण निको हुँदा विरामी मात्रा नभएर उसको परिवार, समाजलाई पनि सुरक्षित बनाइयो भन्ने कुरामा खुःसी लाग्ने रहेछ ।

हामी उपचारमा लाग्दा त्यो समय विरामी प्रति नै केन्द्रीत भएर काम गरेका हुन्छौँ । फुर्सदको समयमा केही डर र तनाव पनि नहुने होईन आफ्नै सहकर्मी अनि आफ्नो पिसिआर टेष्टको समयमा हल्का तनाव जस्तो, मन बेचैन हुने रहेछ । तर पुनः काममा नै लाग्नुपर्ने भएकाले काममा लाग्दा फेरि सामान्य नै लाग्ने रहेछ । अन्य कामको जिम्मेवारी त छँदै छ यो समय कोरोनाका लागि अस्पतालको लागि मात्रा नभई स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालय, स्थानीय तहको पनि सम्पर्कमा रही रहनुपर्ने हुन्छ । जिल्ला कमाण्ड पोष्टमा पनि भएकाले विभिन्न छलफलमा सहभागी भई निर्णय गर्नुपर्ने हुन्छ । यो बेलाको जिम्मेवारी पहिले भन्दा धेरै फरक छ । जिम्मेवारीसँगसँगै नयाँ अनुभव र सिकाई पनि भएको छ । साथै सबैको सहयोगले कोरोनासँग लडन नयाँ ऊर्जा र हिम्मत पनि मिलेको छ । बागलुङमा पहिलो कोरोना संक्रमित पुष्टि हुँदा धौलागिरी अस्पताललाई कोभिड–१९ को उपचार अस्पताल भनि तोकिएको थिएन । कहाँ लगेर उपचार गर्ने भन्ने अन्यौलको अवस्थामा पनि हामीले विरामीको पक्षमा निर्णय गरी यही उपचार ग¥यौ । म अस्पताल प्रमुख सुरक्षा सामाग्री व्यवस्थापनको लागि केन्द्रीत भएँ भने हाम्रा डाक्टर, नर्स लगायतको स्वास्थ्यकर्मीको टिमले म प्रति गरेको विश्वास र मैले स्वास्थ्यकर्मी साथीहरुलाई गरेको विश्वास अर्थात दोहोरो विश्वासले गर्दा धौलागिरी अस्पताल कोरोना उपचार अस्पताल बन्यो । सुरुवाती संक्रमितको सफल उपचारभयो र हालसम्म पनि निरन्तर लागेका छौँ ।

डा. मिलन श्रेष्ठ
मेडिकल अधिकृत

स्वास्थ्य सेवामा प्रवेश गरेको लगभग ४ वर्ष पुग्यो । यस दौरान धेरै बिरामीको उपचार गरियो । धेरै निको भएर गए भने कतिलाई बचाउने अथक प्रयास गर्दा पनि बचाउन सकिएन । अहिले विश्वव्यापी रुपमा फैलिएको महामारी मेरो लागि पहिलो अनुभव हो । कोभिड–१९ को बिरामीको उपचार अरु बिरामीको उपचार जस्तो हुँदैन । अरु बिरामीलाई जस्तो सामान्य अवस्थामा उपचार गर्न मिल्दैन । आफु सुरक्षित भएर बिरामीको उपचार गर्नुपर्ने हुन्छ । पिपिइको प्रयोग गर्नुपर्ने हुन्छ । कोभिड–१९ को बिरामी नोको भएर घर जाँदा आफुले पिपिइ लगाएर आफूलाई गाह्रो भइकन पनि बिरामीको उपचार गरेको व्यर्थ गएन भन्ने महसुस हुने रहेछ ।

जब अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार गरिन्छ तब अरु बिरामी सरहनै उपचार गरेजस्तो लाग्छ, सामान्य अनुभव (Normal fee) हुन्छ तर जब आफ्नो डिउटी सकेर घर फर्किन्छ, बजारमा सामान किन्न गाइन्छ तब अरु मान्छे आफूसँग डराएको, कतै मै बाट रोग सर्ने हो कि भनेर पर सरेको देख्दा आफूलाई पनि कतै मैले रोग सारिरहेका त छैन भन्ने महसुस हुन्छ । सायद छुवाछुतको प्रथा पनि यस्तै कुनै महामारीबाट आएको होला जस्तो लाग्छ ।

जति नै सुरक्षा सामाग्री लिएर पिपिइ लगाएर काम गरे पनि आफूमा रोग सर्न सक्ने सम्भाबना र जोखिम त हुन्छ नै त्यही कुरालाई ध्यानमा राख्दै नेपाल सरकारको निर्देशिका अनुसार हरेक महिना श्वाब परीक्षण गर्ने गरिन्छ । आफ्नो स्वाब परीक्षण गर्दा मनमा कता कता मलाई पनि रोग पो स¥यो की डर पलाउने गर्छ । रिपोर्ट नेगेटिभ नआउने बेलासम्म मनमा एक किसिमको डर वा भनौं मन बेचैन हुने रहेछ ।

हाम्रो अस्पताललाई कोभिड अस्पतालको रूपमा स्थापना गरिए पछि आफैमा जिम्मेवारी बढेको छ । केन्द्र तथा प्रदेश स्तरमा कोभिड–१९ बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीलाई यति सुविधा, यति जोखिम भत्ता भनेर निर्देशिका आउँछन् तर हाल यस अस्पतालको कुनै पनि स्वास्थ्यकर्मीलाई कुनै प्रकारको सेवा सुविधा थप भएको छैन । हामीले पहिले जुन परिस्थितिमा गरेका थियौं अहिले पनि त्यही परिस्थितिमा काम गरिरहेका छौँ । हामीले प्रोत्साहन पाउनलाई कोभिडको बिरामीको उपचार गरेका होइनौँ र प्रोत्साहन नपाए कोभिडका बिरामी नहेर्ने पनि होइनौ तर सरकारले घोषणा गरेको प्रोत्साहन भने अहिलेसम्म पाएका छैनौं ।

कोभिडको बिरामी भन्ने बित्तिकै सबैमा त्रास हुन्छ । रोग सर्ला भन्ने डर हुन्छ । हामी स्वास्थ्यकर्मीहरु भने दिनदिनै पिपिइ लगाएर बिरामीलाई हेर्न जान्छौं । अत्यावश्यक जानकारी (Vital) लिन्छौं, उहाँहरुको स्वास्थ्य अवस्था बुझ्छौ, मनोपरामर्श दिन्छौं, औषधी दिन्छौँ । पिपिइ लगाएर जाँदा आफु सुरक्षित छु भन्ने भान भएको ले त्यस्तो त्रास हुँदैन  । अरु बिरामी हेरे जस्तो नै हुन्छ तर पिपिइ लगाएर बस्दा भने एकदम गाह्रो हुन्छ । गर्मी हुने, पसिना आउने, केही खान, पानीसम्म पिउन नमिल्ने, दिसा पिसाब लाग्ने के गर्ने भन्ने सोचले भने कहिले पिपिइ फुकालौ जस्तो हुन्छ ।

शान्ति भण्डारी
आइसोलेसन वार्डको नर्सिङ इन्चार्ज

अहिले धौलागिरी अस्पतालमा २६ जना कोरोना संक्रमित र आशंकामा भर्ना भएकाहरुलाई उपचार गरेका छौं । जसमध्ये १२ जना कोरोना पोजेटिभ डिस्चार्ज भएर जानु भएको छ भने बाँकी पनि छिटै डिस्चार्ज हुने तयारीमा हुनुहुन्छ । कोरोना पोजेटिभ बिरामीलाई र अन्य बिरामीलाई उपचार गरिरहँदा मैले पनि फरक अनुभव पाए । अरु उपचार गर्दा जति सामान्य अवस्थामा (फ्रिली) उपचार गर्न सक्छौं कोरोनाको विरामीलाई चाहि पिपिइ लगाएर उपचार गर्नुपर्छ । पिपिइ लगाएर काम गर्दा अपठ्यारो महसुस हुन्छ । त्यसले गर्दा नसा (भेन) खोल्नुपर्यो भने राम्रोसँग नदेखिने र बिरामीलाई सहज तरिकाले उपचार गर्न अफठ्यारो हुन्छ ।

हामीले पहिले २ जना संक्रमितलाई २८ दिन र १४ दिनमा पठायौं भने अहिले २ जनालाई १६ दिन र ८ जनालाई १४ दिनमा डिस्चार्ज गरेर पठायौँ । अन्य पनि केहि दिनपछि डिस्चार्ज हुँदै हुनुहुन्छ । यस्तो अवस्थामा अरु बिरामीलाई भन्दा कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गराएर पठाउँदा छुटै आनन्द आउदो रहेछ । किनभने अहिले हाम्रो देशमा मात्र नभई विश्वभर कोरोना पोजेटिभ भन्दा वितिकै डराउने अवस्था छ । कोरोना पोजेटिभ भनेर टाढा टाढा भागि रहेको अवस्थामा हामी उनीहरुको नजिक गएर उनीहरुलाई सेवा दिएर उनीहरुलाई सकुशल डिस्चार्ज गर्न पाउँदा एकदम आत्मसन्तुष्टि मिल्यो ।

कोरोना संक्रमितको उपचार गर्दा स्वास्थ्यकर्मीहरुलाई पनि संक्रमणको सम्भावना हुन्छ । संक्रमितको उपचार गरिरहेका स्वास्थ्यकर्मीहरुलाई पनि संक्रमण देखिरहेको छ । हामी नर्सिङ दैनिक संक्रमितहरुको हेरचाहको लागि आइसोलेसनमा जानुपर्ने हुन्छ । त्यसैले मनमा धेरै डर हुने गर्छ । जस्तै अहिलेकाही सामान्य घाटी दुख्यो खोकी लाग्यो भने पनि ओहो हामीलाई संक्रमण त छैन भन्ने डर आउने गर्छ । किनभने हामी प्रत्यक्ष वा अप्रत्यक्ष कोरोना संक्रमितको उपचारमा लागिरहेका छौं । उहाँहरुसँग नजिकै गएर कुरा गर्नुपर्ने र उहाँहरुको उपचार गरिरहने गर्ने बहिनीहरुसँग पनि प्रत्यक्ष सम्पर्कमा हुने भएका कारणले गर्दा पनि हामीलाई डर चाहि मनमा छ । कतै हामीलाई संक्रमण त हुँदैन भन्ने मनमा डर हुने गरेको छ । स्वाब संकलन गरेर परीक्षणको लागि पठाउँदा बहिनीहरुले मेरो पोजेटिभ आउँछ होला दिदी मलाई यस्तो समस्या देखिएको छ भन्ने गर्नुहुन्छ । तर अहिलेसम्म अस्पतालमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीहरुलाई पनि संक्रमण देखिएको छैन । अस्पतालमा २ जना संक्रमितलाई उपचार गरि डिस्चार्ज गरेपछि सबै स्वास्थ्यकर्मीहरुको पिपिआर परीक्षण गरिएको थियो त्यसमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।अहिले उपचार थप ४ जनालाई उपचार गरेर डिस्चार्ज गरेपछि नर्सिङ बहिनीहरु क्वारेन्टाइनमा हुनुहुन्छ । अब १४ दिन क्वारेन्टाइनमा बसेपछि उहाँहरुको पिसिआर परीक्षण गर्ने छौं । सामान्य घाटी दुख्दा खोकी लाग्दा पनि कतै मलाई कोरोना त भएको छैन भन्ने सोच चाहि आउँदो रहेछ त्यसले गर्दा चाहि मानसिक रुपमा पनि बहिनीहरु हामी अलिकति डिस्टब भएको अवस्था छ । तर हामी सवै मिलेर काम गरिरहेका छौं ।

अब सेवा सुविधाको कुरा गर्दा चाहि राज्यले दिने भनेको सतप्रतिशत भत्ता अथवा क्वारेन्टाइनमा १४ दिन राख्ने र एक हप्ता विदा दिने र पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र फेरि काममा फर्किने भन्ने निर्देशिका आइसकेको छ । तर त्यो निर्देशिका चाहि हाम्रो धौलागिरी अस्पतालमा कर्मचारी अभाव भएकाले समस्या छ । हामीहरु थोरै नर्सिङहरु भएकाले त्यो सुविधा लिन सकेका छैनौं । थोरै भएकाले निर्देशिका अनुसार गर्दा विरामीहरुलाई सेवा दिन समस्या भएकाले १४ दिनको १० देखि १२ घण्टा काममा राखेर कुनै दिन पनि विदा नदिएर १४ दिननै काम लगाउने र काम गरिसके पछि १४ दिन विदा दिएर क्वारेन्टाइनमा बसाल्ने र त्यसपछि पुनः काममा फकाउने गरेका छौँ । यो महामारीको रुपमा आएको कारणले राम्रोसँग व्यवस्थापन गर्न कठिनाइ भएको छ । हामीलाई बस्न र खानाको लागि क्वारेन्टाइनको लागि प्रशासन र व्यवस्थापन तर्फबाट पहल गरिरहनुभएको छ ।

आइसोलेसन वार्डमा कार्यरत कर्मचारीहरु, नर्सिङ स्टार्फहरु, हेल्पिरहरु सबै जनालाई खाना र खाजाको व्यवस्था गरिएको छ । बस्नको लागि होम क्वारेन्टाइनमा बस्न नमिल्ने भएकाले नर्सिङ स्टार्फहरुलाई अस्पतालले आफ्नै भवनमा क्वारेन्टाइनमा राखिएको छ । सवैलाई राख्न राख्न समस्या भएकाले अब चाडै अस्पतालकै भवनमा राख्नको लागि व्यवस्थापन समितिले तयारी गरिरहेको छ । सुविधा भन्दा पनि विरामीको उपचार नै हाम्रो पहिलो प्राथमिकता भएकाले पहिलो प्राथमिकता हामीले विरामीलाई नै दिने गरेको छौं । अहिलेको अवस्थामा विरामीहरु सकुशल डिस्चार्ज भएर जाँदा सन्तुष्ट नै छौं । अस्पतालमा आइसोलेसन बनाएर संक्रमितलाई राख्दा अस्पतालमा कोरोना संक्रमित आयो रे भनेर बाहिरी गेट भित्र नै छिर्न डराउने अवस्था छ । अझ पहिले त अस्पतालको बाहिरी एरियामै हिड्न डराउने गरेको थियो रे । तर अहिले त्यो डर कसैमा छैन । तर अहिले पनि अस्पतालमा उपचार गराउन आउने विरामीको दर घटेको छ । सुत्केरीहरु र इर्मेजेन्सिका विरामीहरु आउनुहुन्छ त्यसबाहेक सामान्य उपचारलाई आउने विरामीहरुको संख्या घटेको छ । तर जति मान्छे कोरोना संक्रमित भनेपछि डराउने अवस्था छ तर हामी दैनिक उहाँहरुसँग सम्पर्कमा रहेर काम गरिरहँदा उहाँहरु पनि अन्य विरामी जस्तै सामान्य हो । हामीले पिपिइ लगायतका सुरक्षाका सामाग्री लगाएपछि केहि हुँदैन भन्ने उच्च मनोबलले काम गरिरहेका छौं ।

सुरज बराल
ल्याब प्रमुख

सुरुमा महामारीको केश पहिलो पटक काम गरेकोले सुरुवातमा केहि डर हुनेनै भयो । तरपछि सुरक्षाका सामाग्री प्रयोग गर्ने पिपिइ लगाउने गरियो त्यसले सहज नै भयो । नेपालमा विदेशबाट आएकी किशोरीमा दोस्रो संक्रामणको रुपमा काठमाडौंमा पुष्टि भएपछि उनीसँगै विमानमा आएकाहरुको खोजी गर्दा बागलुङका दुई जना पनि थाहा भयो । एक जना किशोरी र एक जना ६५ बर्षिय महिला सोहि विमानमा आएपनि किशोरीमा संक्रमणको लक्षण देखिएको थाहा भएपछि उनको घरमा नै गएर स्वाब संकलन गरेको थियो । सुरुमा हामीले युटुयुव, गुगलबाट हेरेर सिकेपछि हामीले स्वाब संकलन गरेको थियौं ।

सुरुवातमा प्रर्याप्त मात्रामा पिपिइ नभए पनि हामीलाई २, ३ ओटा सेट भएकोले त्यहि प्रयोग गरेर हामीले स्वाब संकलन गरेको थियौं । हामीले स्वाब संकलन गर्दा पिपिई, एन ९५ मास्क ग्लोब्स, बुटहरु लगाउने भएकाले सुरक्षित नै हुन्छ । त्यसैले सुरुवातमा केहि डर भएपनि विस्तारै डर हट्दै गयो । मैले गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरेको थिए । त्यतिखेर उहाँहरुले रिपोर्ट कहिले आउँछ, केहि हुन्छ की भन्ने गरेको र डराउने गर्नुहुन्थ्यो हामीले उहाँहरुलाई केहि हुँदैन भनेर सान्तोना दिने गरेको थियौं ।

बागलुङमा सुरुवातमा २ जना संक्रमित देखिएपछि लामो समय संक्रमण फेला परेन् त्यसैले हामीले २ जना निको भएर घर फर्किएपछि स्वास्थ्यकर्मीहरु, ल्याबका साथीहरु र फन्टलाइनरहरुको पिसिआर परीक्षण गरेको थियौ । स्वाब परीक्षणको लागि पठाएपछि रिपोर्ट के आउने हो भन्ने मनमा डर, खुल्दुली हुने गरेको थियो । साथीहरुले स्वाब निकाल्नुभएको थियो । त्यसपछि मलाई पनि कता पोजेटिभ आउने हो र आइसोलेसनमा बस्नुपर्ने हो की भन्ने कुराहरु मनमा खेलेको थियो ।

म धौलागिरी अस्पतालको ल्याबको इन्चार्ज थिए । अहिले काजमा स्वाब परीक्षणको लागि स्वास्थ्य निर्देशनालयमा आएको छु । बागलुङमा इन्चार्ज हुँदा अस्पतालको आइसोलेसनमा अन्य साथीहरुले र मैले बाहिर फिल्डमा स्वाब संकलन गर्ने गरेको थिए । आइसोलेसनमा गएर स्वाब संकलन गर्दा साथीहरु पनि केहि डराउनुभएको थियो तर सुरक्षित साथ काम गरिरहेकाले अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । बागलुङमा रहँदा मलाई काममा सहयोग गर्ने सबै ल्याबका साथीहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु । त्यतिखेर पिसिआरको लागि स्वाब संकलन गर्नुपर्ने, आरडिटि परीक्षणको काम गर्नुपर्ने र अस्पतालमा इर्मेजेन्सि सेवा संचालन भइरहेकोले त्यसमा पनि काम गर्नुपर्दा सबै साथीहरुले धेरै सहयोग गर्नुभयो । हामीले अस्पतालको सेवालाई समस्या नहुने गरि आइसोलेसनमा र बाहिर फिल्डमा केहि साथीहरु र केहि अस्पतालमै बस्ने गरि काम बाँडफाँड गरेको थियौं त्यसै अनुरुप सबैले एक ढिक्क भएर काम गयौं ।

म अस्पतालको क्वाटरमा बस्ने भएकाले बाहिर त्यति समस्या भोग्नुपरेन तर हाम्रो ल्याबको एक जना साथीलाई घरबेटीले शौचालय प्रयोग गर्न नदिएको समस्या बताउनुभएको थियो । पछि उहाँले छुट्टै शौचालयको प्रयोग गर्ने गरेको जानकारी पाएको थिए । हामीले अस्पतालबाट घरबेटीसँग कुरा गर्ने तयारी गरे पनि उहाँले आफै समस्याको समाधान गर्नुभयो ।

म अहिले पोखरामा स्वाबको परीक्षणको काम गरिरहेको छु । यहाँ १५÷१६ जना साथीहरु हुनुहुन्छ । पहिले स्वाब संकलन गरेर हिड्नुपर्ने हुन्थ्यो तर अहिले स्वाबहरुको परीक्षण गर्नुपर्छ । यहाँ पनि सुरक्षाका सामाग्रीहरु छन तिनीहरु प्रयोग गरेर काम गरिरहेका छौं । पहिले जस्तो यहाँ डर छैन ।

बेलिसरा थापा
स्टाफ नर्स

म विगत दश वर्षदेखि स्वास्थ्य सेवामा आबद्ध भएर काम गरी रहेको छु । आफुले हेरचार गरेको विरामी निको हुँदा धेरै खुःसी लाग्छ । जस्तोकी एउटा अभिभावकले आफ्नो सन्तान स्वस्थ र हरेक क्षेत्रमा सफल भएकोमा खुःसी महशुस गर्छन । त्यसरी नै उमेर सानो ठुलो भन्ने नहुने रहेछ । विरामी अस्पताल आए पछि आफुले आफैलाई अभिभावकत्वको जिम्मेवारी महशुस हुने रहेछ । कोरोना महामारीले विश्वलाई त्रासमा राखेको बेलामा पक्कै पनि अन्य स्वास्थ्य समस्या र कोभिड–१९ लाई फरक रुपमा हेरेका छौँ । अन्य स्वास्थ्य समस्या केही सर्ने हुन्छ भने केही नसर्ने हुन्छन तर कोभिड–१९ एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले पनि जटिल स्वास्थ्य समस्याको रुपमा रहेको छ । अन्य रोगको उपचार सम्भाव छ तर कोरोनाको हालसम्म कुनै औषधी बनेको छैन र लाखौँ मानिसको ज्यान समेत गएको छ । त्यस कारण कोभिडको विरामीलाई निको पारेर घर पठाउँदा निकै खुःसी महशुस हुन्छ ।

आइसोलेसन वार्डमा डियुटि नपर्ने साथीहरु नजिक पर्नुहुन्थो । सुरुमा हामी आफुले आइसोलेसनमा काम गरेको भन्ने कुरा बेला बेला बिर्सन्थ्यौँ । त्यति बेला सहकर्मीहरुले परैबाट देखे पनि नआउनु भन्नुहुन्थ्यो । नर्सिङकै सिनियर स्टाफहरुले पनि अरु वार्डमा नजान सुझाए पछि हामी आफुलाई नियन्त्रणमा राख्यौँ । सानो बच्चाहरु घरमा भएकाले नजिक नआउन आग्रह गरे । घरमा पनि परै बसेर कुरा गर्थे । घर छिमेकका मानिसहरुले पनि डराएर होला दुरी कायम गर्न खोज्नु हुन्थ्यो । उचित तरिकाले पिपिइ लगाएर संक्रमितको उपचारमा खटिएका कर्मचारीलाई संक्रमणको सम्भावना कम हुन्छ तर लामो समयसम्म र धेरै विरामीको उपचारमा संलग्न कर्मचारलाई भने संक्रमणको सम्भावना धेरै हुन्छ । आइसोलेसनमा डियुटी भने पछि क्वारेन्टाइनको विषय पनिसँगै जोडिएर आउँछ । अग्रपंतिमा रहेका संक्रमित विरामीको हेरचार गर्ने कर्मचारीलाई उचित खानपान, आवास व्यवस्थापन गरी आइसोलेनमा डियुटी सुरुभएदेखि डियुटी सकिएको १४ दिनसम्म क्वारेन्टाइनमा राख्न कार्यरत अस्पतालको जिम्मेवारी हुने भन्ने राज्यले निर्देशिका जारी गरेको छ । हामीलाई आवासको व्यवस्था भए पनि खानपानको व्यवस्था नभएकाले आफ्नै खर्चमा व्यवस्थापन गरेका छौँ ।

हामीलाई तालिम होस्टेलमा आवासको व्यवस्थापन गरे पनि डियुटि सकिएको केही दिनमै विद्यार्थीहरु आउने भन्दै अस्पतालदेखि करिब ३० मिनेटको दुरीमा रहेको कलेज होस्टेलमा स्थान्तरण गरियो जहाँ भारतबाट आएका २६ जना क्वारेन्टाइनमा बसेका थिए । त्यति बेला भने केही खाद्यन्न सामाग्री उपलब्ध भएको थियो । तरकारी लगायतका केही सामान किन्न होस्टेल बाहिर जानुपर्ने बाध्यता थियो । त्यो समयमा हामीबाटै संक्रमण समाजमा फैलिन्छ की भन्ने डर थियो । अर्काे समुदायमा नयाँ मान्छे देखे पछि क्वारेन्टाइनबाट भागेर आएकी भन्ने मानसिकताको साथ धेरै सोधी खोजी गर्ने तथा क्वारेन्टाइनका मान्छे समुदायमा डुले भनेर समुदायबाट प्रतिकार हुन्छ की भन्ने डरत्रास रही रह्यो ।

 

२०७७ असार ७ गते जननिगरानी साप्ताहिक पत्रिकामा प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here