
बागलुङ, ३१ जेठ । नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न शैक्षिक, सामाजिक तथा व्यावसायिक संघसंस्थामा निर्वाचित भएका नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना प्रदान गरेको छ।
आयोजित कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका नवनिर्वाचित अध्यक्ष मनोज श्रेष्ठ र सचिव आशिक राजभण्डारीलाई सम्मान गरिएको थियो।
नयाँ विश्व बचत तथा ऋण सहकारीका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, कार्यसमिति सदस्य निर्माण कुमार श्रेष्ठ, माधव शर्मा तथा प्रबन्धक विनोदलाल राजभण्डारीले नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै उनीहरूको नेतृत्वले सम्बन्धित संस्थाहरूलाई अझ प्रभावकारी र गतिशील बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहकारीका कार्यसमिति सदस्य निर्माण कुमार श्रेष्ठ र माधव शर्मा, लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष तथा डिपार्टमेन्ट चिफ ओमप्रकाश गौतम, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठ, फेन्सी व्यवसायी महासंघका केन्द्रीय सदस्य गोकुल प्रसाद कँडेल तथा विद्यामन्दिर पुस्तकालयका कोषाध्यक्ष मनोविज्ञान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले विभिन्न संघसंस्थाबीच सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने बताएका थिए।
कार्यक्रम नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता तथा प्रबन्धक विनोदलाल राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।
बागलुङ नगरपालिका–३ किनाराटोलमा सञ्चालित उक्त सहकारी विसं २०७७ असोज १० गते २७ जना शेयर सदस्यबाट स्थापना भएको हो।
हाल सहकारीमा १०० जना शेयर सदस्य आबद्ध रहेका छन् भने शेयर पुँजी ५४ लाख रुपैयाँ पुगेको छ। सहकारीले चार जनालाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गर्दै आएको छ।








