नेशनल प्याब्सन स्पोर्टस मिटको उपाधि गुराँस विद्या सदनलाई

बागलुङ, ९ माघ । बागलुङमा आयोजित दोस्रो संस्करणको नेशनल प्याब्सन स्पोर्टस मिटको उपाधि गुराँस विद्या सदनले जितेको छ ।

बिहिबार सम्पन्न भएको प्रतियोगितामा गुराँस विद्या सदनले ४ स्वर्ण, ५ रजत र ४ कास्य जित्दै शिल्ड हात पार्यो । साविक विजेता आदर्श विद्यामन्दिरले ४ स्वर्ण पदक जितेपनि रजत र कास्य पदकमा पछि परेपछि दोस्रो पटक उपाधि रक्षा गर्नबाट बन्चित भयो ।

दोस्रो भएको आदर्श विद्यामन्दिरले ४ स्वर्ण पदकसहित ४ रजत र २ कास्य पदक हात पार्यो । प्रतियोगितामा २ रजत र २ कास्य पदक सहित प्रिसियस एकेडेमीले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा बागलुङ नगरपालिकामा अवस्थित नेशनल प्याब्सनमा आवद्ध ८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तरगत छात्रछात्रा १ मिटर, २ सय मिटर एक सय इन्टु ४ रिलेदौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटफुट र ज्याव्लिङ थ्रो, छात्रा कबड्डी, छात्र फुटबल खेल सम्पन्न भएका थिए ।

विजेता विद्यालयलय र खेलाडीलाई नेशनल प्याब्सन केन्द्रीय सचिव बालकृष्ण शर्मा, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेशनल प्याब्सनका केन्द्रीय सदस्य नेत्रलाल न्यौपाने, नगर अध्यक्ष चन्द्र क्षेत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेशनल प्याब्सन केन्द्रीय सचिव बालकृष्ण शर्माले विद्यालयस्तरमा खेलकुद संस्कृतिको विकास गर्दै विद्यार्थीहरूलाई अनुशासन, प्रतिस्पर्धा र सहकार्यको भावना सिकाउन प्रतियोगिताले मद्धत पुग्ने बताउनुभयो । जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र नेशनल प्याब्सनका केन्द्रीय सदस्य नेत्रलाल न्यौपानेले यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नेशनल प्याब्सन बागलुङ नगरपालिकाका अध्यक्ष चन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव निसान खड्काले गर्नुभएको थियो ।