गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डः कास्की च्याम्पियन

बागलुङ, १८ जेठ । १६औँ गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । कास्कीले कुल ४७ पदक जित्दै उपाधि हात पारेको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा कास्कीले २२ स्वर्ण, ११ रजत र १४ कांस्य पदक जितेको छ । कास्की १५औँ गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पनि विजेता जिल्ला हो ।

प्रतियोगितामा व्यवस्थापक जिल्ला बागलुङले दोस्रो स्थान प्राप्त गरेको छ । बागलुङले १३ स्वर्ण, ९ रजत र १० कांस्यसहित ३२ पदक जितेको हो । त्यसैगरी १२ स्वर्ण, १० रजत र ८ कांस्यसहित ३० पदक जित्दै गोरखाले तेस्रो स्थान हासिल गरेको छ ।

नवलपुर ९ स्वर्ण, १४ रजत र १२ कांस्यसहित ३५ पदकका साथ चौथो स्थानमा रहँदा तनहुँ ४ स्वर्ण, ३ रजत र १५ कांस्यसहित २२ पदकका साथ पाँचौँ भयो । लमजुङ ३ स्वर्ण, ५ रजत र १४ कांस्यसहित २२ पदकका साथ छैटौँ तथा स्याङ्जा २ स्वर्ण, ३ रजत र ६ कांस्यसहित ११ पदक जितेर सातौँ स्थानमा रह्यो ।

त्यसैगरी पर्वतले १ स्वर्ण, २ रजत र ७ कांस्यसहित १० पदक जित्दै आठौँ स्थान हासिल गरेको छ । म्याग्दी १ रजत र १० कांस्यसहित ११ पदक जितेर नवौँ स्थानमा रह्यो । ११ जिल्ला सहभागी प्रतियोगितामा मुस्ताङले भने सहभागिता जनाएन ।

प्रतियोगितामा ६ विधाका खेलहरूमा ६६ स्वर्ण, ६६ रजत र ९६ कांस्य गरी कुल २२८ पदक वितरण गरिएको थियो । प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएका छन् । प्रतियोगिताअन्तर्गत कराते, तेक्वान्दो, उसु, कबड्डी र भलिबलका खेलहरू बागलुङमा तथा एथलेटिक्सका खेलहरू पोखरामा सञ्चालन गरिएको थियो ।