टिका बहादुर कार्की
औषधी जन्य प्रयोगमा आउने गाँजा, भाङ, अफिम, कोकाको झार लगायतका प्राकृतिक वनस्पती र सो बाट प्रशोधन गरी बनेको कुनै चिज, नर्फिन, डाईजापाम लगायतका कृतिम औषधीजन्य ईन्जेक्सन एवं ट्याब्लेटहरु उपचारको क्रममा संलग्न चिकित्सकको सल्लाह बिना हामीले आफु खुसी सेवन वा प्रयोग गर्ने कानुनी व्यवस्था छैन । यि चिज बस्तु उत्पादन, भण्डारण, ओसारपसार, बिक्रीबितरण तथा सेवनका साथै यि कार्यमा सहयोग पुग्ने कुनै तरिका वा सवारी साधन, घर लगायत कानुनत जफत हुन्छन् । आफुलाई थाहा नभएको कारणले मात्र पनि आफ्नो अधीनमा रहको अबस्थामा कार्वाहीबाट छुट मिल्दैन ।

मदिरा तथा सुर्तीजन्य पदार्थले मानिसलाई नसा तथा लत लाग्ने, यि चिजको सेवनले पनि मानिसलाई सामान्य व्यवहारबाट असामान्य व्यवहार तर्फ परिवर्तन गराउने हुँदा उत्पादन, तथा बिक्रीबितरणका क्रममा सरकारले सकारात्मक भन्दा नकारात्मक प्रचार प्रसार गर्न लगाउने, बढी कर लगाउनका साथै अहिले कोरोना भाईरस संक्रमणको समयमा अत्यावश्यक वस्तु तथा सेवाको प्राथमिकतामा नराख्नुलाई अब हामीले कुन कुरा हाम्रो आवश्यकता र कुन कुरा अनावश्यक रहेछन् भनेर बुझ्न जरुरी छ । तर, हामीले बुझ्दैनौ वा जानाजान सेवन गरिरहेका छौं । मदिरा तथा सुर्तीजन्य पदार्थलाई कानुनले निस्चित अवस्था र उमेर समुहका मानिसलाई सेवन गर्न छुट दिएकै भए पनि चुरोट, खैनी, सुर्ति लगायतका सुर्तीजन्य पदार्थ माथी उल्लेखित सबै लागु औषधका प्रवेशद्वार हुन् । यिनै साना कुराको अम्मली हुँदै मानिस थप कडा डोजका लागु पदार्थको सेवनको बाटोमा लाग्न सक्छ भन्ने सबैलाई ख्याल नहुन पनि सक्छ ।

लागु पदार्थ सेवनका दृष्टिले हाम्रो परिवेसतर्फ अध्ययन गर्दा सामाजिक संस्कारमा उपयोग, अधिकांश अभिभावकले बालबच्चाकै अगाडी सेवन गर्ने, बालबच्चालाई ल्याउन वा पुर्याउन लगाउने गर्दा गर्दै ति अबोध बालबालिकाले पनि मदिरा तथा सुर्तीजन्य पदार्थको स्वाद लिइ सकेका हुन्छन् । म जस्तै एक दुई जना हितैसी साथीको संगतमा रहँदा मदिरा सेवन गर्न सिकेको थिएँ, अरु साथीहरुलाई पनि त्यस्तै देखें, उनीहरुले के गरे मलाई त्याग्न त्यो निकै संघर्ष गर्नु पर्यो ।

शुरुमा कुनै लगानी गर्नु नपर्ने, मदिरा तथा लागु औषध दुर्व्यसनीको समिपमा रहँदा पनि सहजै सेवन गरी स्वाद लिन र आनन्द महसुस गर्न पाईने भएपछी “किन कामको टेन्सन लिने, रिल्याक्स यार“ भन्दै दुर्व्यसनीको बिश्वासिलो मित्र भैसक्दासम्म आफुले पनि कहिलै छाड्न नसक्ने गरी अम्मली भएको थाहा हुँदैन । बिद्यालयको पढाईमा कमजोर, घरमा पैसाचोर, सामानचोर हुँदै जहाँ मौका पायो लुट्यो, चोर्यो, लागु पदार्थको व्यवस्था गर्यो, जहाँ पायो त्यहा बस्यो, सामान्य जीवनमा गर्नुपर्ने व्यववहार छोडेर असामान्य व्यवहारतिर लाग्यो, मानसिक र शारीरिक अवस्था खराब हुंदै गयो भने बल्ल बाउआमालाई चेत भयो । तर समाज लागु पदार्थको बजार बनि सक्यो, अबैध तरिकाले किसिम किसिमका लागु पदार्थ लुकाई छीपाई तस्करी हुन लागे । तस्करीमा गरिब, सडक बालबालिका, महिला तथा दुर्व्यसनमा फसेका नव प्रवेशी र अलिकती रिस्क मोल्नासाथ सजिलै धन कमाउन सकिने प्रलोभनमा परेकाहरु भरियाका रुपमा प्रयोग हुन्छन् । दुर्व्यसनीले आफ्ना सहकर्मी र तस्करका बारेमा भरसक पोल खोल्दैनन्, कतिलाई थाहा पनि हुँदैन कसको माल हो भनेर । तस्करीका लागी धेरै ठुलो मात्रामा देखिने गरी काम गर्न नपर्ने हुंँदा सानो फल्स बटम बनाएर मात्र होईन मानिसले आफै निलेर मलद्वार तथा पेटमा लुकाई छिपाई तस्करी गरिंदो रहेछ भन्ने धेरैलाई जानकारी छ । केही महिना अगाडीदेखि मकवानपुर प्रहरीले ईन्धनको ट्याङ्कर, एम्बुलेन्स, मालबाहक ट्रक तथा पिक अप, भारतीय नम्बर प्लेटका कार, अटोरिक्सा लगायत सवारी साधनलाई ठुलो मात्रामा लागु औषध सहित पक्राउ गरेको समाचार अध्ययन गर्नु भएकै होला ।

लागु पदार्थको अबैध तस्करीबाट व्यक्तिगत रुपमा कोही पनि पीडित नहुने, संभब भएपनि प्रहरीलाई सुचना वा सहयोग दिएमा तस्करबाट आफुमाथी खतरा हुन सक्छ की भन्ने शंकाले अनदेखा रहने, बरु पैसा कमाउने मौका पाए गोप्य रुपमा सहयोगी भुमिका खेल्ने सोच भएका व्यक्तिको कारणबाट अबैध तस्करी कहिलै रोकिदैन । यसको सेवन गर्ने व्यक्तिले आफ्नो जीवनलाई आफै सिध्याउन लागेको छ, उसको मानसिक सन्तुलन खलबलिएको छ, शारीरिक रुपमा पनि कमजोर भै सकेको छ भने अब उसबाट परिवार, समाज र राज्यले कुनै लाभ लिन सक्दैन । प्रबिधियुक्त शिक्षण संस्था स्थापना गरेर सैध्दान्तिक तथा व्यवहारिक शिक्षा दिलाउने, उद्योग धन्दा कलकारखाना खोलेर विकास निर्माण गर्नु पर्ने बेला बर्ष भरिको स्कुल फिस भन्दा मासिक महंगो शुल्क तिरेर सुधार केन्द्रमा राख्नु पर्दाको अबस्था दुर्भाग्यपुर्ण हो । सम्पत्तिका मालिक, समाजका जिम्मेवार प्रतिनिधी समेत लागु पदार्थको अबैध तस्करीमा लागिरहँदा, उनीहरुले मनग्गे धन कमाउदा अन्य व्यक्तिमा उत्पादन तथा उपार्जन मुलक काम तर्फ भन्दा यस्तै अबैध धन्दा तर्फ ध्यान जाने हुँदा हामी सबै, जो जसले देख्छौ, थाहा पाउँछौ, आवश्यक समन्वय र सहयोग गरी हाम्रो समाजलाई लागुपदार्थ रहित बनाउनु पर्छ । राज्य सरकारको जिम्मेवारी हो भन्ने भ्रममा नपरौ, राज्य वा सरकार भनेकै निश्चित भुगोल,जनता, रितीरिवाज, शासन व्यवस्था र कानुन हो । तसर्थ हाम्रो केही जिम्मेवारी रहेनत ?

२०७७ असार १२ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here