
नवीन शिशिर
बागलुङ, २८ जेठ ।
विश्वव्यापी कोरोना संक्रमण फैलिए पछि रोजगारी तथा अध्ययनको लागि विदेशमा रहेका धेरै नेपालीहरु त्यसको मारमा परेका छन् । विश्वका अधिकांस देशले संक्रमण रोकथामका लागि लकडाउन घोषण गरेको हुँदा नेपालीहरु चाहेर पनि आफ्नो जन्मभूमी फर्कन पाएका छैनन् ।
विश्व स्वास्थ्य संगठनले पनि जो जहाँ छ त्यही सुरक्षित बस्नुनै उपयुक्त हुने भने पछि घरफर्कन तयारीमा रहेका नेपाली समेत देश फर्कन पाएनन् । तर छिमेकी भारतमा रोजगारीको लागि गएका नेपालीहरु भने खुल्ला सिमानाको फाईदा उठाउँदै विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका छन । पछिल्लो समय सरकारले सिमा नाकामा अलपत्र नेपालीको उद्धार गरी स्थानीय तहले उनीहरुको व्यवस्थापन गर्ने जिम्मेवारी दिए पछि भारतबाट घरफर्कनेहरुको लर्काे लागेको छ ।
भारतबाट आएर स्थानीय तहले तयार गरेको क्वारेटाईनमा बसेकाहरुले खाने, बस्ने तथा दैनिक उपभोग्य बस्तुको अभाव भएको खबर सार्वजनिक भैरहेको अवस्थामा काठेखोला गाउँपालिका–२ भीमापोखराको क्वारेटाइनमा बसेकाहरुले भने क्वारेटनाईन अभाव मुक्त भएको बताएका छन् ।
भीमापोखरा वडा कार्यालयले जनकल्याण माविमा तयार गरेको क्वारेन्टाईनमा भारतबाट आएका १४ जना नागरिक बसेका छन । उनीहरुलाई दैनिक खाना तथा खाजाको व्यवस्थापन गाउँपालिकाले गरेको छ भने वडा कार्यालयले दैनिक उपभोग्य बस्तु तथा सुरक्षाका सामाग्री प्रदान गरेको छ ।
“क्वारेन्टाईनमा बसेको एक हप्ता बढी भयो कुनै कुराको अभाव छैन“ भारतबाट आएर क्वारेन्टाइनका बसेको धनबहादुर केसीले भन्नुभयो’ हामीले सामाजिक भेदभाव पनि खेप्नु परेको छैन ।’
उपभोग्य बस्तुको अभाव भए वडाध्यक्षलाई कुरा गछौँ केसीले भन्नुभयो– आजको दिनसम्म अभावका दैनिकी काट्नु परेको छैन । क्वारेन्टाइनको व्यवस्थापनले आफुहरुलाई हौसाला मिले पनि पिसिआर परीक्षणमा ढिलाई हुँदा दुःख लागेको क्वारेन्टाइनमा रहेका गणेश पौडेलले बताउनुभयो ।
खाना, बस्न, शौचालय तथा खानेपानीको कुनै समस्या छैन पौडेलले भन्नुभयो’– स्वास्थ्य परीक्षण छिटो भएको खण्डमा थप ढुक्क हुने थियो ।’ वडा कार्यालयले क्वारेन्टनाइनलाई अभाव मुक्त नमुना क्वारेन्टाइनको रुपमा विकास गर्ने प्रयास गरेको वडाध्यक्ष विद्यापति शर्माको भनाई छ ।
“हामीले गाउँपालिका, वडा कार्यालय तथा दाताको सहयोग लिएर भए पनि अभाव टार्ने प्रयास गरेका छौँ उहाँले भन्नुभयो’– खाना बस्नको व्यवस्था बाहेक मास्क, सेनिटाईजर, साबुन, नङकट तथा काईयो समेत उपलब्ध गराएका छौँ ।’
क्वारेन्टाइनमा रहेकाहरुलाई सामाजिक विभेद नगर्नको लागि समुदाय स्तरमा समेत सचेतनाको कार्यक्रम संचालन गरेको उहाँले बताउनुभयो । सामान्य परिस्थितीमा विदेशबाट आउनेहरुलाई लाहुरे आयो भनेर अघि पछि गर्नेको भीड हुन्थ्यो अहिले लाहुरेलाई अपराधी जस्तो ठान्नु गलत हो ।
वडा कार्यालयले बुधबार आयोजना गरेको सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले क्वारेन्टाईनलाई अभाव मुक्त, भयमुक्त र दिकदारी मुक्त बनाउन गाउँपालिका केन्द्रीत रहेको उल्लेख गर्नुभयो ।
उहाँले क्वारेन्टाईनमा रहेकाहरुको स्वास्थ्य परीक्षण तथा दैनिक खाद्यन्नको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । अहिले दैनिक खाना खर्चमा ५३ हजार बढी खर्च भैरहेको उहाँले भन्नुभयो’ अझै उपचारको स्थितीमा पुग्दा कति खर्च होला त्यसैले सबै सचेत हुनु आवश्यक छ ।’
लकडाउनको बेलामा सुरक्षा व्यवस्था कडा पारिएको दोविल्ला अक्षेते प्रहरी चौकीका प्रमुख विनय रेग्मीले बताउनुभयो । उहाँले लकडाउनको समयमा गाउँपालिका भित्र्ने सवारीहरुमा कडा चेकजाच गरिएको बताउनुभयो ।
क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षणलाई छिटो छरितो तथा नयाँ आउने नागरिकको व्यवस्थापनमा गाउँपालिकाले अन्य पालिकाको साझेदारीमा पिसिआर मेशिन खरिद तथा होल्डीङ्ग सेन्टर निर्माणमा सहकार्य गरेको जानकारी दिनुभयो । कार्यक्रममा संचालन स्वास्थ्य चौकी प्रमुख सोमनाथ पाण्डेले गर्नुभएको थियो ।
















