
बागलुङ, २७ जेठ ।
बागलुङका १० पालिकाहरुले कोभिड–१९ को पिसिआर परीक्षणको लागि प्रदेश सरकारलाई पिसिआर मेसिन माग गरेका छन् ।
मंगलबार बागलुङ बजारमा बसेको बागलुङका १० पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको बैठकले पहिलो चरणमा प्रदेश सरकारले खरिद गर्न लागेको ३ ओटा पिसिआर मेसिन मध्ये एक ओटा माग्ने र नदिएमा आफैले खरिद गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
भारत लगायतका बाहय देशबाट घर फर्किनेहरुको संख्या बढेसँगै बागलुङमा संक्रमितको संख्या र संक्रमणको जोखिम बढिरहेकोे परीक्षणको दायरा बढाउनको लागि पिसिआर मेसिन खरिदको प्रकृया अगाडी बढाएको नगरप्रमुख पौडेलले बताउनुभयो । उहाँले अहिले पिसिआर परीक्षणको लागि स्वाब संकलन भएको ५ दिनपछि मात्र पोखरा प्रादेशिक स्वास्थ्य प्रतिष्ठानबाट रिपोर्ट आउँदा संक्रमणको जोखिम बढेकाले पिसिआर मेसिन माग गर्ने र नदिएमा खरिद गर्ने निर्णय गरेको खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।
यस्तै उक्त बैठकले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकाका संक्रमितहरुलाई बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसमा रहेको प्रि–आइसोलेसनमा राख्ने र ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका संक्रमितहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसनमा राख्ने निर्णय गरेका छन् । त्यसको लागि पालिकाहरुले क्याम्पसमा ५० बेड र बुर्तिबाङ स्वास्थ्य केन्द्रमा ५० बेडको प्रि–आइसोलेसन बनाउने निर्णय गरेको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो ।
पहिलो चरणमा असार मसान्तसम्मको लागि दुई स्थानमा ५०/५० बेडको प्रि–आइसोलेसन बनाइने र सवै पालिकाले थप २०÷२० बेडको प्रि–आइसोलेसन निर्माणको लागि प्रकृया अगाडी बढाउने निर्णय गरेका छन् ।
यस्तै भारतदेखि आउनेहरुको लागि जिल्लाको दुई नाका बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाको खर्बाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेका छन् । भारत लगायतका देशबाट आउँदा रातको समय र उद्धारको लागि समय लाग्दा विचमै अलपत्र पर्ने गरेकाले उनीहरुको लागि होल्डिङ सेन्टर बनाएर पालिकामा नपठाइने बेलासम्म खाना र बस्न व्यवस्था गर्ने निर्णय गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
होल्डिङ सेन्टर र प्रि–आइसोलेसनको व्यवस्थापनको लागि नगरपालिकाले ५ लाख र गाउँपालिकाहरुले २ लाख रुपैयाँ बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाको खातामा रकम जम्मा गर्ने निर्णय गरेका छन् ।
यस्तै प्रि–आइसोलेसनको लागि प्रत्यक पालिकाले २÷२ जना स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेका छन् । त्यसको लागि तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले ढोरपाटन नगरपालिकाको स्वास्थ्य संयोजक र बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकाले बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजकसँग सम्पर्क गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले बताउनुभयो ।
स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन तथा जोखिम भत्ताको व्यवस्था गर्ने निर्णय गरेका छन् । उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना र उपप्रमुख विष्णु भुषाल, जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं, धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेल, अस्पतालका सूचना अधिकारी तिर्थराज गौतम, मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बरालको विशेष उपस्थिति रहेको थियो ।
समाचारको शिर्षकमा पिसिआर हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको अशुविधा प्रति क्षमाप्रार्थी छौं ।
–सम्पादक











