
सम्माननीय प्रधानमन्त्री ज्यू, कथित दलितको तर्फबाट लालसलाम, दोस्रो पटक तपाईको मृगौला प्रत्यारोपण सफल भएसंगै विभिन्न मिडियाबाट प्रकाशित समाचारमा मैले सामाजिक संजालमा कमेन्ट मार्फत स्वास्थ्यलाभको कामन गरेको छु । र अहिले अलि ढिलै भएपनि आफ्नो शब्द मार्फत स्वास्थ्य लाभ तथा सफल कार्यकालको शुभकामना ।
प्रधानमन्त्री ज्यू, सर्वप्रथम तपाईंंलाई धेरै बधाई अनि धन्यवाद दिन चाहन्छु । तपाईंंको नेतृत्वमा अन्य सबै दलहरुको सहयोगले नेपालले आफ्नो गुमेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा समेटेर सार्वजनिक गरेको छ । यसले सारा नेपालीको शिरलाई फेरि एक पटक उच्च बनाएको छ ।
प्रधानमन्त्री ज्यू, नविच्किनु होला मैले जातिय अधिकार माग्नका लागि यो पत्र लेखेको होइन । मैले यो कथित समाजले दिएको यो दलित भन्ने शब्द र हजुरहरुले संविधानमा दिएको दलित आरक्षण कोटा तुरुन्त हटाइयोस् भन्नलाई मात्र हो ।
दलित समुदायको प्रतिनिधित्व गर्दै आज म देशको प्रधानमन्त्री ज्युलाई अनुरोध गर्न चाहान्छु । हामीलाई मानव अधिकार पूर्ण रुपमा लागू होस भन्नका लागि यो पत्र लेखेको हुँ । प्रधानमन्त्री ज्यु म हजुरलाई जन्मजात त चिन्दिन तर अहिले तपाई यो देशको मुख्य जिम्मेवारी पदमा हुनुहुन्छ । अहिले सबै नागरिकले चिन्दछन् ।
म हजुरसंग एक, दुई, तीन भनेर अनुरोध गर्दछु कि दलित समुदायलाई आरक्षणको अधिकार हटाई संवैधानिक अधिकार लागू गरिदिनुहोस् । भन्नु होला दिएकै छु, मैले नदिए कसले दिएको छ भनेर । तर, दलित समुदायले संविधानमा उल्लेख गरिएका कुरा के–के उपयोग गर्दैछन, के–के पाए ? कहिल्यै बुझ्नुभएको छ त प्रधानमन्त्री ज्यु ?
प्रधानमन्त्री ज्यु, आजभोलि हजुरको चर्चा परिचर्चा निकै धेरै चल्दैछ । म पनि हजुरको विगत र वर्तमान राम्रोसंग बुझन्े मौका पाएको छु । साँच्चिकै तपाई एक असाधारण नै हुनुहुँदो रहेछ । तपाई गुनगान गाउनलाई धेरै कुराहरु छन् । तर पछिल्लो पटक एक ऐतिहासिक कार्य शुभारम्भ गर्नुभयो । त्यो हो भारतले अतिक्रण गरेको नेपाली भुमिलाई नयाँ नक्समा समावेश गरि सार्वजनिक गरिदिनु भयो । धन्यवाद छ प्रधानमन्त्री ज्यु । नेपालमा आमालाई हसाउनुभयो । भारतलाई सिटामोल खाने बनाउनुभएको छ । यसको लागि मनैदेखि स्यालुट गर्न चाहान्छु ।
यो इतिहासमा सदासर्वदा रहिरहने छ । तर प्रधानमन्त्री ज्यु नेपालमा आमालाई हसाउन सक्ने छोरा तपाई, तपाईले दलित आमालाई पनि हसाउनु पर्ने होइन र ? तर विडम्वना संविधानले अधिकारमा विभेद छैन भनि दिएको छ । तर, दलित आमा जातिय विभेदकै कारण कहिलेसम्म रुनुपर्ने हो ? दलितका छोराछोरी कहिलेसम्म जातिय विभेदको शिकार हुनुपर्ने हो ?
प्रधानमन्त्री ज्यू, म यो पत्रमा कुनै घटनालाई परिभाषित गरेको छैन, किनभने दलितले भोगेका विगत र वर्तमान समय सन्दर्भका घटना पक्कै पनि हजुरलाई अवगत नै होला ? हुन त यो देशका नगारिकको हक अधिकारको लागि हजुरले जति संघर्ष सायद कमैले गरेका छन होला ।
सांच्चिनै तपाई महापुरुष हो, देश र जनताका लागि मेचीको भेलदेखि चिसो झेलसम्म पनि वर्षौ विताएको हुनुहुँदो रहेछ । हजुरलाई जति देश र जनताको माया कसलाई होला र ? यसदेश भित्र सयौं वर्षदेखि जातिय विभेद सहेर बाँचेका दलित समुदायको अवस्था थाहा नहुने त कुरै भएन, जुन समुदायका लागि पनि हुजर राजनैतिक आन्दोलनमा होलिनुभएको थियो । त्यसको लागि दलित समुदायको आजसम्म मात्र होइन भोलिका दिनमा पनि साथ हुनेछ ।
प्रधानमन्त्री ज्यू, म हजुरलाई दलित चिन्नुहोस् सम्मान गर्नुहोस् भन्दिन, राज्यका कुनै अंगका व्यक्तिबाट विभेद नहोस् भन्न चाहान्छु । सामाजिक विभेद गर्नेलाई कडा भन्दा कारवाही गरियोस् । कुनै व्यक्तिले
राजनैतिक शक्तिका आधारमा बचाउने चेष्टा नगरोस् । अब तपाइर्को नेतृत्वमा जातिय विभेद शुन्य पार्ने अभियानमा ध्यान जान जरुरी छ । जस्तै सति प्रथा चन्द्रशमसेरले शन्य पारेको इतिहास छ , शून्य जातिय विभेद चाहान्छ दलित समुदाय, विज्ञानको युगमा जातिय विभेदले दलित मात्र नभई राष्ट्रलाई ठुलो क्षति भएको छ ।
प्रधानमन्त्री ज्यू वास्तमै भन्ने हो भने, दलित समुदायसंग जिविकोपार्जन गर्न मात्रै नभई देशको अर्थतन्त्रमा ठुलो सुधार ल्याउन सकिने सीप, कला तथा क्षमता छन् । तर, सरकारको ध्यान नपुग्नु, समाज जातिय विभेद र असमानताले आत्मसम्मान नहुँदा नयाँ पुस्ता यस्ता कार्यबाट विस्थापित भइरहेका छन् । यहाँ दलित समुदायको मात्र नभई सवै जातजाति तथा समुदायसंग फरक–फरक सीप तथा क्षमता छन ।
विशेष क्षमतका आधारमा सरकारले उचित व्यवस्थापन गर्न जरुरी छ । जस्तैः फलामको काम गर्ने, बाजा बनाउने तथा बजाउने साथै कपडाका नयाँ नयाँ आकार दिन सक्ने विश्व बजारमा नेपाली उत्पादनलाई चिनाउन सक्ने क्षमता दलित समुदायसंग छ ।
दलित समुदायसंग भएको सीपको आधारमा सरकारले साना तथा ठुला कम्पनीको रुपमा विस्तार गर्ने, बजेट योजनामै समेट्ने हो भने देशको लागि मुख्य आर्थिक स्रोत बन्नेछ ।
देशको अर्थतन्त्रका लागि नागरिकको काम गर्ने सीपमा भर भर्ने कुरा हो । जुन देशले आफ्ना नागरिकको क्षमतालाई मुख्य आधार बनाउछ । त्यही देशको अर्थतन्त्र नै बलियो हुन्छ । यो हामीले विश्वका अन्य शक्तिशाली देशबाट सिक्न सक्छौँ । देशको स्रोत तथा साधानको उचित प्रयोग र व्यवस्थापन गरि देशमै आत्मनिर्भर बन्न पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले महत्वपूर्ण पाठ सिकाएको छ ।
‘प्रधानमन्त्री ज्यु, मुलुकको अर्थतन्त्र सुधारका लागि दलितको सीप नै काफी छ’
जुन देशले आफ्ना नागरिकको क्षमतालाई मुख्य आधार बनाउछ । त्यही देशको अर्थतन्त्र नै बलियो हुन्छ ।
लेखक झक वि.सी.









