
काठमाडाैं, ८ जेठ ।
नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको छ ।
झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा फेला परेका हुन् । संक्रमित सबै पुरुष हुन भने उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूह हुन् ।

यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन् । संक्रमित पुरूषमा धनकुटा निवासी हुन् । उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन् ।
उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो ।
मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य हाल सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।










