बाँकेमा एकैदिन ४७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो

काठमाडौं, ५ जेठ
बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

सोमबार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here