
काठमाडौं, २ जेठ
लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिए पनि गृहले अस्वीकार गरेको थियो ।
लगत्तै सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेपछि गृहले पुनः स्वीकृति दिएको हो ।
‘सुरुमा हामीले स्वीकृति दिएका थियौँ । तर गृहले केही प्रक्रिया नपुगेको भनेर रद्द गरेको थियो । त्यसपछि हिजो नै प्रक्रिया मिलाएर स्वीकृति आइसकेको छ,’ जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरले भने ।
शाहका सहयोगी फणिराज पाठकले झापाबाट गाडी छुटिसकेको जानकारी दिए ।
फागुनको अन्त्यतिर भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा निस्किएको पूर्व राजा परिवार चैत ११ बाट घोषित लकडाउनका कारण झापामा रोकिएको हो । पूर्व राजपरिवारका सदस्य झापाको दमकमा बसिरहेका थिए । दमकमै राज परिवारको स्वामित्वमा हिमालय महालक्ष्मी चिया बगान रहेको छ । पूर्व रानी कोमल सहित शाह परिवार झापामा थियो । प्रशासनले स्वीकृति दिएपछि आज बिहान पूर्व राजा शाह काठमाडौँ हिँडेको सिडिओ राना मगरले भने ।
बिहीवारबाट गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै पास खारेज गरेको छ । कुनै अत्यावश्यक काममा एक जिल्लाबाट अर्को जिल्लामा आउनु पर्ने भए पुग्ने जिल्लाको सहमति लिनुपर्ने नियममा उल्लेख छ ।
pahilopost.com










