गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच ढुंगा हानाहान

कालिकोट, २७ बैशाख ।
कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र पलाँता गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर भण्डारीबीच उपभोक्ता समितिको बारेमा विवाद हुँदा ढुंगा हानाहान भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ग्रामीण सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने विषयमा विवाद हुँदा ढुंगा हानाहान भएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाका अनुसार ढुंगा हानाहानमा गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमती गौरीकला बम घाइते भएका छन् ।

अध्यक्ष वमको गालामा चोट लागेको छ भने उनकी श्रीमतीलाई टाउकोमा चोट लागेको घटनास्थलमै रहेकी गाउँपालिका उपाध्यक्ष दाना शाहीले जानकारी दिइन् । घाइते दुवैजनाको राडुनेटा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटना आज बिहान भएको हो । यद्यपि प्रहरीले भने घटनाबारे दिउँसोमात्रै जानकारी पाएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष तत्कालिन नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । गाउँपालिका अध्यक्षको कार्यशैलीप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका कमिटीले पनि लामो समयदेखि विमति जनाउँदै आएको प्रहरीको भनाइ छ ।

घटनामा नेकपाका गाउँपालिका अध्यक्ष विष्णु रोकाया पनि संलग्न रहेको प्रहरीको जनाएको छ। यद्यपि अहिलेसम्म कोही पनि प्रक्राउ परेका छैनन् । घटनाको छानविनको लागि जिल्लाबाट प्रहरी खटाइएको प्रदेश प्रहरीले जनाएको छ ।
nepalsamaya

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here