
बागलुङ, ९ बैशाख ।
कोरोना संक्रमणको आशंका वा संक्रमित विरामीलाई उपचारको लागि उपचार केन्द्रसम्म पु¥याउन बागलुङका १३ वटा एम्बलेन्सलाई कोरोना मैत्री बनाईने भएको छ ।
बागलुङका दश वटै स्थानीय तहका प्रमुखसहितको मंगलबार सम्पन्न संकट व्यवस्थापन समितिको बैठकले नेपाल आर्मीको एकसहित अन्य एम्बुलेन्सलाई कोरोना संक्रमित विरामी बोक्न उपयुक्त हुने गरी निर्माण गर्ने निर्णय भएको हो ।
निर्णय अनुसार एम्बुलेन्सलाई विभाजन (पाटेशन) संक्रमितलाई छुटै राख्ने र भाईरस फैलन नसक्न बनाईने छ । यस अघि जिल्लामा संचालित दुई एम्बुलेन्सका चालकले कोरोना संक्रमितलाई उपचार केन्द्र अर्थात अस्पतालसम्म पु¥याउने अस्विकार गरेका थिए ।
बागलुङमा धौलागिरि अंचल अस्पताल, नेपाल रेडक्रस सोसाईटी अमलाचौर उपशाखा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, पैयुँपाटा स्वास्थ्य चौकी, नेपाल रेडक्रस रेडक्रस सोसाईटी बिहुँ उपशाखा, ग्वालीचौर समाज बडिगाड, भिमगिठे, स्वास्थ्य चौकी बडिगाड, आरोग्य अस्पताल गल्कोट, गल्कोट स्वास्थ्य केन्द्र, विहानी सहकारी संस्था, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र ताराखोला गाउँपालिका र नेपाली सेनासँग एम्बुलेन्स रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न समस्याले पैदल हिडेका मजदुरलाई खानेबस्ने व्यवस्था र गन्तव्यमा लैजाने काम स्थानीय पालिकाले गर्ने तथा उनीहरुको स्वास्थ्य परीक्षणको व्यवस्थापन गरिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
बैठकले बिरामीहरुको उपचार नियमित गर्ने, खोप सेवालाई संचालन गर्ने र कोरोना संका भएकाहरुको कन्ट्याक्ट सेटिङ तथा रेकर्ड खोज्ने निर्णय गरेको छ । बैठकले सबै पालिकामा कम्तिमा एकरएक वटा मापदण्ड पुगेका क्वारेन्टाइन बनाउने, औषधिको व्यवस्थापन गर्ने लगायतको निर्णय गरेको छ ।
बैठकले जिल्ला स्तरीय नमूना संकलन तथा व्यवस्थापन टिम गठन गरेको छ । धौलागिरी अञ्चल अस्पतालका डाक्टर प्रदिप श्रेष्ठको नेतृत्वमा स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ र अस्पतालकै ल्याब टेक्नोलोजिष्ट सुरज बराल रहेको टिम गठन भएको हो ।
बिभिन्न स्थानमा बन्द गरिएका सडकहरु खुलाउन पहल गरिनेछ । आकस्मिक सेवाका सवारी हिड्नु पर्ने भएकोले सडक बन्द गर्न नहुने छलफल भएको थियो । बरु ती स्थानमा स्वास्थ्य तथा सुरक्षा चेक गरिने सूचना अधिकृत पन्तको भनाई छ ।
धौलागिरी अञ्चल अस्पतालमा आइसियु निर्माण भएकोले त्यसका लागि रक्तसंचार केन्द्रमा जतिबेला पनि रगत तयारी अबस्थामा राख्ने बिषयमा छलफल भएको र सो अनुसारको तयारी गर्न भनिएको छ । केही दिनदेखि झरी, असिना, चट्याङले परेको क्षतिको किसानलाई राहत दिन स्थानीय, प्रदेश र संघिय सरकारसम्म आब्हान गर्ने निर्णय समेत भएको पन्तले जानकारी दिनुभयो ।
बैठकमा दशवटै स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सहभागि थिए । बैठकले सबै पालिकामा प्रवक्ता राखेर एकद्वार सूचना प्रवाह गर्ने निर्णय गरेको छ ।










