लकडाउनमा धमाधम बाँस, निगालोका सामग्री उत्पादन गर्दै बोहोरा !

शिब बोहोरा
म्याग्दी, ९ बैशाख ।
कोरोना भाइरस कोभिड १९ बाट जोगिन मुलुकमा लकडाउन जारी छ । धेरैजसो मानिस घरभित्र नै सुरक्षित बसिरहेका छन् । यसरी घरभित्रै रहँदा कतिपयले यस्तो समयलाई रचनात्मक कार्य गर्दै सदुपयोग गरेको पनि पाइएको छ ।
त्यसरी लकडाउनको उपयोग गर्ने एक उदाहरण देखिएका छन्, बेनी नगरपालिका–२ ज्यामरुकोटका विकम्र बोहोरा । कोरोना महामारीका रुपमा फैलिएपछि यसलाई कहर मात्रै होइन अवसरका रुपमा उपयोग गर्न जान्नुपर्छ भन्ने भनाइलाई बोहराले व्यवहारमे आत्मसात गरेको पाइएको हो ।

शहर बजारमा मानिसहरु घरबाट बाहिर निस्कन नपाएको गुनासो गरिरहेका बेला बोहराले भने बाँस र निगाँलाबाट बन्ने नेपाली मौलिक सामग्री उत्पादन गरिरहेका छन् । बाँस र निगाँलाबाट बन्ने थुन्से, भकारी, चित्रा, मान्द्रो, पेटारो (पिरिङगो), नाङ्लो, सोली, कोक्रो, डोका र स्याखुलगायतका सामग्री बनाएर गाउँ घरको आवश्यकता पुरा गर्नमा बोहरा सक्रियता लकडाउनमा रोकिएको छैन् ।
यतिबेला बोहोराले झण्डै ४ दर्जन जति बाँस र निगालाबाट विभिन्न सामग्री बनाएका छन् । गाउँका टोल टोलमा राखिएका फोहोर संकलन गर्ने भाँडो पनि बाँस र निगालाको प्रयोग गर्दै बनाउने गरेका छन् ।


त्यसो त, उनले लोपोन्मुख अवस्थामा रहेको स्याखु पनि बनाइरहेका छन्। परापुर्वकालमा छाताको विकल्पमा स्याखुको प्रयोग गरिन्थ्यो। त्यो बेला विशेष गरि आमाहरुले मेलापात जाँदा स्याखु ओढ्ने प्रचलन थियो । स्याखु चोयाबाट बुनिएको हुन्छ भने भित्री पाटोमा कटुसका पात वा प्लाष्टिकले मोडेर पानी छिर्न नसक्ने गरी बनाइएको हुन्छ। जसले टाउकोदेखि कम्मरसम्मको भागलाई छाप्ने गर्दछ। दक्ष व्यक्तिले मात्र स्याखु बनाउन सक्छन्।
बोहोरा भन्छन्, ‘नाम्ला, डोका, थुन्से लगायतका सामग्री बनाउन मलाई मेरो बाबाले सिकाउनुभएको हो, हाम्रो संस्कृति र परम्परा बोकेको पुर्ख्यौली पेशा र बुवाको सीपलाई निरन्तरता दिइरहेको छु ।’ गाउँघरमा सजिलै पाइने बाँस र निगाला काटेर, केही दिन पानीमा डुबाएपछि चोया काढेर यस्ता सामग्री उत्पादन गर्ने गरिन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here