
इश्वर गौतम
कोरोना भाइरस कोभिड १९ ले बिश्वका शक्तिशाली राष्ट्र र सम्पुर्ण मानव जगतलाई चुनौती दिइरहेको छ । यहि समय घरमा बसेर कता कता टोलाइरहेको थिए । ठ्याक्कै गाउँका वयोवृद्ध, बुढापाकाको उखान सम्झे । “भाग्यको खेल दैवको लिला” साच्चिकै भनिन्छ पृथ्वी गोलो छ । परिक्रमा गर्दै जादा पालो सबैको आउँछ । यसै पनि परिस्थिति सधै अनुकुल कहाँ रहन्छ र । समयले फन्को मार्दै जादा ति भनाईहरु बास्तबिकतामा बदलिदै गएका छन् । ठ्याक्कै आज परिस्थिति उल्टो बनेको छ । शहरमा बस्नेहरु सुखसयलमा बाच्नेहरु पनि आज गाउँ रोज्दै छन् । धनी हुनेखाने सुगमता रोज्ने अनि मोजमस्ती र सुख खोज्न कुम्लो बोकेर शहर पस्नेहरुको संख्या ह्वात्तै बढेको थियो । गाउँका बस्तीहरु भने बिस्तार पातालिदै गएका थिए । गाउँका खेतीयोग्य जमिनहरु बाझिएर झाडिमा परिणत भएका थिए । अहिले बनमारा हुर्कन सहज र योग्य भएका छन् । अहिले गाउँघर यस्तै भएको छ । शहर अनि सुखको चाहनाले । गरिव, निमुखा, बल्लतल्ल खान पुग्ने, दिनरात काम गर्नेहरु भने सुखका रहर, इच्छा, चाहनाको सपना मनभरी बोकेर बाध्यता र बिवशताको कहरले गाउँमा रहे । तिनै गाउँबासी कोरोनाको माहामारिले आज शहरियाहरु गाउँ फर्कदा आफुलाई भाग्यमानी सम्झेर गदगद भएका छन् ।
गाउँका बस्तीहरु रित्तिदै जाँदा, खेतीयोग्य जमिन रुखबिरुवा र झाडिले भरिएर गाउँ सुनसान, अत्यासलाग्दो बनेको थियो । जंगली जनावरको डर त्रास र आक्रमण सहेर जीवन गुजारा गर्नुपर्ने बाध्यताले निराशमा बाँच्न बिवश गाउँका वासिन्दा अहिले भने खुसी देखिन्छन् । मानिसहरु पहिले जसरी सुखको खोजीमा सहर पसेका थिए । त्यसरि नै अहिले सुरक्षाको खोजीमा गाउँमा भित्रदै छन् । सुनसान बस्तीमा साहाराबिन बनेर बसेका बृद्ध बुवाआमाको झुपडीहरु यतिबेला टनाटन भरिएका छन् । यति मात्रै होइन छाडेका पुराना घर समेत टालिदै छन् । चुहिने घर छाइदै छन् । जस्ले सधैं यस्तै देख्न चाहने भावना व्यक्त गर्छन । खेतीयोग्य जमिन बाझै देख्दा मन गर्हुङ्गो हुने गरेको गाउँमा बसेका ती साहार बिहिन बुबाआमाले बताउछन् । जस्को मन गाउँ यसरी भरिदा र उर्वर भुमिहरु अन्नवालीले पहेलपुर हुँदा मात्रै गदगद हुनेछ । समय किन यस्तो बन्यो । मातिदै शहर पसेका आज किन आत्तिदै छन् । रहरले गाउँ छाडेका कहरले सहर बस्न किन बाध्य छन् । किन गाउँको घर बेचेर हिडेको र छोडेकोमा पछुतोमान्दै छन् । जस्लाई आज गाउँ गएर बस्ने रहर लागेको छ । त्यो गाउँको याद मुटुमा राखेर जेल जसरी सुख खोज्ने सहरको बन्द कोठामा तडपिएर बसेका छन् । जस्को कारण बन्न पुग्यो (कोभिड–१९) कोरोना भाइरस ।
अहिले कोरोनाले मात्रै यो परिस्थिति सृजना भएको भने होइन । बिगतमा भारतले गरेको अघोषित नाकाबन्दी, २०७२ को बिनाशकारी भुकम्प जस्ता बिपत्तिमा पनि गाउँ नसम्झेका र नफर्केका पनि होइनन् । तर जत्तिबेला संकट आउँछ त्यो समय सम्झने तर । गाउँका घर रित्तिने अनि खेतीयोग्य जमिन बाझिने क्रम भने रोकिएन । तरकारी किन्न पसल धाउनेको भिड बढिरह्यो । सुख खोजेको त्यो भिडले, मीठो खाना खोजेको त्यो मुखले बल्लतल्ल भात र दाल बाध्यताले खानु परेको छ । त्यहि पनि पाउन गाह्रो पर्ने हुन थालेको छ । जस्को गाउँमा खेतबारी बाझो छ । यता पसल बन्द छ । तरकारी किन्न पाइदैन । अनि झल्झली गाउँ, बाझो खेत र भत्केको घर सम्झिरहेको छ । सहर र सुखको सपना देखेको गाउँले भने आफ्नै खेतबारी, पाखा, पखेराको साग र सिस्नो खाइरहेको छ । उसलाई न पसल बन्दको प्रभाव छ । न त तरकारीको अभाव । उ त सहरियाको पिडा सुनेर आफुलाई भाग्यमानी ठानेको छ । मन्द मुस्कानले हासिरहेछ ।
हामीमा संकटले चेतना दिदो रहेछ । हाम्रो घमण्डलाई परिस्थितिले बदल्न बाध्य बनाउदो रहेछ । अरुलाई होच्याउन होइन स–सम्मान गर्न सिकाउदो रहेछ । न धनी भन्दो रहेछ न गरिव संकट समान बनेर आउदो रहेछ । यसरी जटिल परिस्थितिले मात्रै मानवीयता सिकाउदो रहेछ । आत्मनिर्भर बन्नुपर्ने संदेश दियो र पो हाम्रो धन, सम्पतिको घमण्ड पनि बदलियो । अनि सुख भनिने सहरमा सास्ती र दुःख मानिने गाउँ रमाइलो भरिलो बन्दियो ।
२०७७ बैशाख ८ गते प्रकाशित










