लकडाउन डायरी श्रृङ्खला–१

याम बहादुर थापा मगर
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को दिन प्रतिदिनको तिव्र प्रभावका कारण मानव जिवनको अमूल्य चोला तरंगीत भएको छ । मानव जिवन प्रकृति प्रेमी हुन थाल्ने हो कि भन्ने तर्क गर्न थालिएको छ ।
लक डाउनको डायरी लेखु कि नलेखु भन्ने दोधारमा परी रहे । नयाँ वर्ष २०७७ को सन्दर्भमा नयाँ स्थानमा भ्रमण गर्ने पारिवारीक योजना वैशाख १५ गते सम्मको लकडाउनले तुषारापात गरिदियो । दैनिक डायरी लेख्ने बानी विद्यालयमा पढ्ने समयमा दिनहुँ लेख्ने गरेको याद आयो । ति दैनिकीमा नेपाली पढाउने गुरुले खुब मन पराउनु भएको थियो । कुखुराको रातो भाले बेचेको र रक्सी पारेर खाएको दैनिकी थिए । तर अहिले विश्व कोरोनाको विरुद्ध तेश्रो विश्व युद्धमा होमिएको छ । थाहा छैन हार हुन्छ कि जित । संभावना भने जित हुन्छ भनेर लकडाउनमा जर्वजस्ती बन्दी गराइएको छ । साथीहरुले सामाजिक सञ्जालमा पुराना फोटोहरु अपलोड गर्ने,भिडियो कुराकानीको गरेको याद गरेका तस्वीरले रंगाएको पाइन्छ । मैले लकडाउनको समयमा समेत कार्यालयमा बिदा नपाउने भएपनि नियमित भन्दा हल्का कार्यबोझ भएकाले सो समय सदुपयोग गरेका कार्यहरुको विस्तृतीकरण,विकास भएको सोच,भावी दिनका लागी लिएको शिक्षाको विवेचना गर्नमा लकडाउनको डायरी लेख्ने काम गरेको छु ।
लकडाउनको शूरुवातीमा निराशा, कुण्ठा, सिर्जनात्मक क्षमतामा तहशनहस बनायो भनी नकारात्मक सोचले ग्रस्त भए । अनलाइन सर्च गर्दै गर्दा दराजमा भएका पुस्तकहरु नियाल्दै जादा लकडाउनको समय बिताउनमा अभ्यस्त हुन थाले । शूरुमा नेपाली फिल्म गोपीलाई राम्रोसँग युटुवमा हेरे । गाईपालन व्यवसायको राम्रोसँग कथावस्तु प्रस्तुत गरेकोमा खुब चाखलाग्दो तरीकाले फिल्म बनाएकोले राम्रै फिल्म हेरेको अुनभूति भयो । कृषि सम्बन्धी फिल्म बाख्रापालन,बगुरपालन,कुुखुरापालन,तरकारी खेतीका बारेमा पनि गोपी जस्तै फिल्म बनाएमा उदारहणीय कार्य फिल्म उद्योगमा हुने थियो भन्ने लाग्यो । त्यसै गरी दासढुगा नामक फिल्म र गित पनि हेर्ने तथा सुन्ने मौका मिल्यो । किन दासढुगा फिल्म राम्रो भएपनि दासढुगा २ नामक फिल्म निर्माण गर्न किन नदिएको होला भनी लकडाउनको समयमा कौतुहलता लागि रहयो । स्व मदन भण्डारीको युटुवमा उपलब्ध भाषणहरु पनि सुन्ने मौका मिल्यो । बागलुडका गितकार ओम बहादुर जिसी र गायिका विमा कुमारी दुराले गाएको नारायणहिटी घटनाको गित समेत सुन्ने अवसर मिल्यो । जनबादी गायक जिवन शर्माको गिती नाटक ठुली भाग १ र २ तथा जवाफ नामक गिती नाटक समेत हेरे । तर ठुली भाग १ युटुवमा हेरे जस्तो भएन । यदि जनबादी गायक जिवन शर्माले यो आलेख पढनुभयो भने युटुवमा ठुली नाटकको भाग १ लाई राम्रोसँग छायाकन गरीएको भिडियो अपलोड गर्न अनुरोध छ । भारतीय फिल्म गान्धी हेरेर महात्मा गान्धीको जिवनीको ज्ञान लिने काम समेत भयो । भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा जानकार हुन गान्धी फिल्म हेर्ने पर्ने फिल्म रहेछ । नेपाली फिल्महरु मध्ये सुब्बा साहेव,साँघुरो,पशुपति प्रसाद फिल्म हेरेर लक डाउनलाई बिताउने काम गरे ।
नेपाली टेलिभिजनका केही कार्यक्रमका श्रृडखलाहरु हेरेर समेत लकडाउनको अपत्यारिलो समय कार्यालय व्यस्तताबाट बचेको समयलाई खर्च गरे । कान्तीपुर टेलिभिजनको सुमनसँग, मनी टक शो, फायर बक्सका विगतका श्रृङ्खला हेरे । स्वयसेवक भोजेन्द्र सरको अन्र्तवाताले मन नराम्रो सँग छोयो । एपी वन टिभीको टिकाराम यात्रीको अन्र्तवाता सुन्ने, इन्द्रेनी लोक दोहोरी गित, सारगी कार्यक्रम,साझा सवालका पुराना अंक, हेर्ने कथा नामक कार्यक्रम विद्या चापागाईको प्रस्तुतीले लकडाउनको समय बिताउन सजिलो भयो ।
खगराज बरालको सिकाउने शैली नामक पुस्तक पढने, खप्तड स्वामीको विचार विज्ञानलाई दोश्रो पटक पढने मौका मिल्यो । वेदमा के छ ? भन्ने पुस्तक पढनका लागि किनेको तर पुरा पढन मन लागेन । पढन खोज्छु सस्कृतका अबुझ शब्दले जागर बढेन । लक डाउन लब्बीयो भने पढनु पर्ला भन्ने सोच बनाएर थाती राखे है ।
नेपालमा बनेका चर्चित वृत्तचित्रहरु फुर्सदमा हेर्नु पर्ने नामहरु पाए तर हेर्न पाएको छैन । यदि लक डाउनमा फुर्सद भए तपाईहरुले हेर्न मिल्ने वृत्तचित्रको नामावली यस प्रकार रहेका छन् । हु विल वी गोर्खा (Who will be a Gurkha), द डेजर्ट इट अस (केसाङ छेतेनको निर्देशन), दिपेन्द्र भण्डारीको निर्देशन रहेको यार्साको यात्रा (Journey to Yarsa), अशोक थापाको निर्देशनमा द कोरियन ड्रिम, मनोज पण्डितको निर्देशन रहेको ग्रेटर नेपाल, देव जोशीको निर्देशन रहेको नओभाएका आँखा, सुनकली नामक वृत्तचित्र हेर्नु पर्छ है भन्ने जानकारी पाएको छु तर सबै हेर्न पाएको छैन । लक डाउन लामो भएमा अवश्य हेर्ने छु । शुन्य समय भएमा वा सृजनात्मक काममा लाग्न अल्छी लागेमा अवश्य हेर्ने नै छु भन्न चाहान्छु ।
फुर्सदमा हेर्नका लागि विदेश फिल्मको नाम सकलन गरेको छु । तर हेर्न मन भएर पनि समय व्यवस्थापन भएको छैन । लकडाउनमा ति फिल्महरुको नाम सिफारिस गरेकोले फुर्सद भए हेर्नु होला । कोरियन फिल्म निर्देशक यिम सुन रायको Little forest (2018), ली चाङ दोङको कोरियन नाटक पोयट्री (Poetry 2010), बोङ जोन हु को मदर (Mother 2009), किम कि दुकको स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ (Spring summer fail winter and spring 2003), निर्देशक इम कोन नेकको सोपिओन्जे (Sopyon 1993) हेर्नका लागी डायरीमा लेखेको छु तर लकडाउनको समयमा हेर्न पाएको छैन । तपाईहरुलाई फुर्सद लकडाउनको समयमा भए हेर्नु होला है ।
त्यसैगरी हिन्दी फिल्महरुको नामावली समेत संकलन गरेको छु लकडाउनको समयमा तर हेर्नका लागि समय मिलेन । तपाईहरुले लकडाउनको समयमा फुर्सद मिलेनमा ति हिन्दी फिल्महरुको नामावली पेश गरेको छु । निर्देशक निरज धेवानको मसान (Masaan 2015), निर्देशक रितेश बत्राको लन्च बक्स (The Lunch Box), निर्देशक विक्रमादित्य मोटबानीको उडान (Udaan), निर्देशक दीपा मेहताको १९४७ अर्थ (1947 : EARTH), निर्देशक गोविन्द निहलानीको हजार चौरासी की माँ (Hazaar Chaurasi Ki Maa 1998), निर्देशक शेखर कपुरको व्यान्डिट क्विन (BANDIT QUEEN 1994) निर्देशक मीरा नायरको सलाम बाँम्बे (Salaam Bombay 1988), निर्देशक साई पारान्जपेको स्पर्श (Sparsh), निर्देशक सत्यजित रायको शतरंज के खिलाडी (Shatranj ke Khilari 1977), निर्देशक विमल रायको दो विघा जमिन (Do Bigha Zamin) को नामावली पाएको छु । आशा छ तपाईहरु थुप्रै हिन्दी फिल्म हेरी सकेको भएपनि माथि उल्लेखित फिल्म हेर्न छुटेको हुन सक्दछ । यदि तपाईहरुले मलाई हेर्नका लागि उपयुक्त भएका अन्य फिल्महरु भएपनि फिल्मको नाम सुझाव स्वरुप दिनु होला है ।
त्यसैगरी लक डाउनको समयमा दक्षिण अमेरिकी फिल्मको नाम समेत सकलन गरेको छु । हेर्न पाएको छैन । तपाईहरुको लागि नाम भन्छु है । इन्नोसेन्ट भ्वाइसेज (Voces Inocentes 2004), मोटर साइकल डायरिज (The Motorcycle Diaries Movies), हबाना ब्लुज (HABANA BlUES 2005), मारिया फुल अफ ग्रेस (Maria full of Grace), द नाइन क्विन्स (Nuere Reinas, Nine Queens 2000) फिल्महरु हेरेर झयाउँ लाग्ने बर्बादी समयलाई उपयोगमा ल्याउन सकिन्छ ।
लक डाउनमा पढने पुस्तकको नामावलीको फेहरिस्त अर्को श्रृङखलामा पेश गर्ने छु । फेरी मलाई अग्रेजी भाषाको अल्पज्ञानको कमिले विदेशी किताबको फेहरीस्त लेखन आत्मबाट आएन है । अग्रेजी भाषामा मध्यम खालको दक्षता हासिल गर्ने लक डाउनको समयमा अध्ययन गर्ने सोच भने बनिरहेको छ ।
लक डाउनको समयमा गित सगीतको भरपुर्ण उपयोग गर्दै गाउँघरमा जमघट बढ्दो जनघत्वलाई योजनामुलक तरिकाले उत्पादनमा लगाउने छलफलमुलक डायरीमा अर्को पटक आउने वाचा गर्दै आलेखलाई अन्त्य गर्न चाहान्छु ।

धवलागिरी अञ्चल अस्पताल, बागलुड
बागलुड न.पा. १० भकण्डे

२०७७ बैशाख ५ गते प्रकाशित ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here