नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा जातीय हिंसामा २५ जनाको मृत्यु

काठमाडौं, ३ वैशाख ।
अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरुबीच भएको भिडन्तमा झण्डै १०० वटा घरमा क्षति पुगेको छ । ताराबाको लाउ नाम गरेको गाउँमा यी दुई प्रमुख जातिको बसोबास रहेको छ र उनीहरुको मुख्य पेशा माछा मार्ने हो ।
ताराबाका प्रहरी प्रवक्ताले दुबै पक्षबीच भएको हिंसात्मक झडपका बारेमा अनुसन्धान थालिएको बताएका छन् । दुबै समुदायबीचको उक्त हिंसाको मुख्य कारण भने थाहा भइसकेको छैन ।
स्थानीयका अनुसार दुई समुदायबीच माछा पोखरीको स्वामित्वका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ । यही कारण बेलाबेला हुने झडपका कारण मानिसको मृत्यु हुने गरेको छ ।
सन् १९९० को दशकमा राज्य सरकारले विवादित माछा पोखरीमा माछा मार्न दुबै समुदायमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सन् १९९९ मा हटाइएको थियो तर त्यसयता दुबै समुदायबीच अझ बढी हिंसात्मक झडप हुन थालेका छन् ।- (रासस)

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here